२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वडाध्यक्षका चार उम्मेदवारविरुद्ध उजुरी

बारा- तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधवार मनोनयनपत्र दर्ता गराएका विभिन्न उपमहानरपालिका र नगरपालिकाका चारजना वडाअध्यक्षका उम्मेदवारमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

एमालेका तर्फबाट मनोनयनपत्र दर्ता गराएका दुई, कांग्रेसका एक र माओवादी केन्द्रका एक गरी चारजना वडाध्यक्षका उम्मेदवारमाथि उजुरी परेको हो ।

महागढीमाई नगरपालिका वडा नं. ७ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका शशिकान्त मिश्रमाथि उजुरी परेको बताइएको छ । मिश्रलाई काठमाडौं जिल्ला अदालतले २०७३÷३÷३२ गते ठगी, सरकारी छाप, दस्तखत किर्ते गरेको मुद्दामा एक वर्ष चार महिना १५ दिन कैद र तीन लाख रुपैयाँ जरिबाना हुने फैसला गरेको मुद्दामा उनी फरार रहेका उजुरीकर्ताले बताएका छन् । अदालतले कैद र नगद जरिबाना गरेका व्यक्ति उम्मेदवारी दिएको थाहा पाएपछि मिश्रको मनोनयनपत्र बदर गर्नका लागि दाबी विरोध परेको महागढीमाई नगरपालिकाका निर्वाचन अधिकृत खडानन्द गौतमले बताए ।

गौतमले सोही वडाका अरू पार्टीका अध्यक्षका उम्मेदवार दिलिप शुक्लाले अदालतले गरेको फैसलाको नक्कलसहित मनोनयनपत्र खारेज गर्नका लागि दाबी विरोध गरेको गौतमले बताए । शुक्लाले दाबी विरोध गरेको निवेदन दर्ता गरिएको र त्यसका बारेमा अनुसन्धान सुरु गरिएको उनले जनाए ।

कलैया उपमहानगरपालिका वडा नं. १० मा एमाले पार्टीबाट मनोनयनपत्र दर्ता गराएका  वडाध्यक्षका उम्मेदवार कपिलदेवप्रसाद कानु र नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार धनसुन्दर महतो कोइरीमाथि उजुरी परेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

सोही वडाबाट वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका नुर हसन मियाँले वडाध्यक्षका दुवै उम्मेदवारविरुद्ध अदालतबाट सजाय पाएको भन्दै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १० मा एमालेका वडाध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सिंहमाथि उजुरी परेको छ । वडाध्यक्षका उम्मेदवार सिंहले शिक्षकबाट अवकाश भई पेन्सन खाइरहेको विषयसहितको उजुरी परेको निर्वाचन अधिकृत वीरप्रसाद भुर्तेलले बताए । 

उजुरी परेका उम्मेदवारलाई शुक्रबारसम्म जबाफ पेस गर्न निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत थापाले बताएका छन् ।

जिल्लाका १६ वटा स्थानीय तहमा एक सय ६७ वडा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App