२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बालगोपालको विजय यात्रा सुरु

काठमाडौं- नेपाली प्रशिक्षक बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बराबरी खेल्दै बंगलादेश प्रिमियर लिगको यात्रा सुरु गरेको छ। चट्गाँउस्थित एमए अजिज रंगशालामा मंगलबारको खेलमा ब्रदर्श युनियनले फेनी सकर क्लबलाई १–१ को बराबरीमा रोकेको थियो।

महर्जनले आफ्नो टोलीको रक्षापंक्तिमा समस्या रहेको बताएका छन्। 'फेडेरेसन कप खेल्दा पाएको कार्डका कारण एउटा खेलाडी प्रतिबन्धमा छन्। तीन खेलाडी घाइते छन्,' उनले भने, 'त्यसले गर्दा पनि रक्षापंक्तिमा अलिक समस्या परेको छ। नयाँ खेलाडी धेरै भएकाले अनुभवको पनि केही कमी छ।'

गत महिना महर्जनको प्रशिक्षणमा ब्रदर्श युनियन फेडेरेसन कपको क्वार्टरफाइनल पुगेको थियो। बंगलादेश पुगेपछि महर्जनको त्यो पहिलो प्रतियोगिता थियो।

खेलको चौथो मिनेटमै सुनान्त त्रिपुराको गोलबाट फेनीले अग्रता लिएको थियो। तर, पहिलो हाफमै ब्रदर्श खेललाई बराबरी गर्न सफल भयो। हाइटीका स्ट्राइकर अगस्टियन वाल्सनले २७ औं मिनेटमा बराबरी गोल गर्दै ब्रदर्शलाई १ अंक दिलाए। ब्रदर्शले शनिबार बिजेएमसीसँग खेल्नेछ।

नवौं संस्करणका ५ खेल सकिँदा ४ खेल बराबरीमा टुंगिएका छन्। शेख जमाल डिसी, मोहम्डन एससी, अबानी र चट्गा अवानीले अंक गुमाएका छन्। त्यस्तै उपाधि दाबेदार मध्येको एक शेख रुसेल केसी यसै वर्ष बढुवा भएको उत्तर बरिधारासँग पराजित भएको थियो। मंगलबारकै अर्को खेलमा मुक्ति जोद्धा र बिजेएमसी पनि १–१ को बराबरीमा रोकिए।

गत माघमा नेपाललाई बंगबन्धु गोल्डकप जिताएका महर्जन अघिल्लो महिना ब्रदर्श युनियनमा आबद्ध भएका थिए। बंगलादेशी क्लबलाई प्रशिक्षण दिने उनी पहिलो नेपाली प्रशिक्षक हुन्।

प्रकाशित: १३ श्रावण २०७३ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App