२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विवादित शर्मा साझामै फर्किए

काठमाडौं- उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी  सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।
साझामा अनियमितताबारे समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मालाई दोषी ठहर गर्दै हटाउन सिफारिस गरे पनि मन्त्री श्रेष्ठले भने कारबाही गर्नुका सट्टा उल्टै संरक्षण गरेका छन् । शर्मासहित सञ्चालक समितिका मनोनीत चारजना सदस्यले राजीनामा दिएका थिए । 
राजीनामा दिएका शर्मा एक्कासि कार्यालयमा देखेपछि उनीसँग जिज्ञासा राख्दा मन्त्रीले राजीनामा अस्वीकृत गरेकाले कार्यालय नआएर कहाँ जाने भन्दै उल्टै प्रश्न गरेको साझाका एक कर्मचारीले जानकारी दिए । 
श्रेष्ठ २०५८ सालमा तत्कालीन वनमन्त्री हुँदा खोटो सल्ला काण्डमा मुछिएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनी र वनराज्यमन्त्री सुरेन्द्र हमाललाई बर्खास्त गरेका थिए । कमिसनका विषयमा राज्यमन्त्री हमाल र मन्त्री श्रेष्ठबीचको विवादले उग्र रूप लिँदै मन्त्रालयभित्रै हात हालाहालको अवस्था आएपछि देउवाले दुवैजनालाई बर्खास्त गरेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । तिनै श्रेष्ठ शिक्षामन्त्रीको जिम्मेवारी समालिरहेका बेला साझामा अनियमितता गरेको पुष्टि भइसकेका शर्माको बचाउमा लागेका छन् ।  
शक्तिकेन्द्र रिझाउन सिपालु शर्माले साझाको नेतृत्व सम्हालेयता नियुक्त भएका सबैजसो मन्त्रीलाई आफ्नो प्रभावमा पारेर जागिर सुरक्षित गर्दै आएका छन् । 
अनियमितता पुष्टि हुँदाहुँदै पनि मन्त्री श्रेष्ठले शर्मालाई कारबाही गर्नुको सट्टा संरक्षण गर्नुका पछाडि पनि शक्तिकेन्द्रकै दबाब रहेको स्रोत बताउँछ । मन्त्री श्रेष्ठसँग साझामा भएको अनियमितताबारे जिज्ञासा राख्दा नागरिक र रिपब्लिकाले किन साझाका बारेमा मात्र सोधेको भन्दै कारबाही गर्ने काम आफ्नो नभएको बताएका छन् । 
तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट २०७१ माघ ५  मा महाप्रबन्धक  तथा २०७२ साउन १० गते अध्यक्षमा नियुक्ति पाएका शर्माले दुईवर्षे कार्यकाल पूरा गरी २०७३ पुसमा पुनः तत्कालीन माओवादी केन्द्रको कोटामा शिक्षामन्त्री बनेका धनीराम पौडेलबाट चार वर्षका लागि दुवै पदमा नियुक्ति पाएका थिए । 
शर्माले साझाको जिम्मेवारी सम्हालेयता विवादित काम गर्दै आएका छन् । उनीमाथि  सरकारले उपलब्ध गराएको सहयोगको दुरुपयोग गरेको, आफ्नो कार्यकालभरि नै लेखा परीक्षण नगराएको, राजनीतिक दलका नेता निकट व्यक्ति तथा पत्रकार र उनीहरूका आफन्तलाई समेत जागिर लगाएको, वार्षिक आम्दानी, खर्च तथा पुस्तक प्रकाशनको विवरण चुस्त नगरेको, नक्कली कागजात बनाएको, साझाको लोगो दुरुपयोग गरेर अवैध रूपमा पुस्तक प्रकाशन गरेको आरोप छ ।
सोमबार साझा फर्किएका शर्माले पहिलो दिन नै कर्मचारीको बढुवा तथा म्याद थपको काम गरेका छन् । शर्माले करारमा रहेको चारजना कर्मचारीको म्याद असोजसम्म बाँकी रहे पनि भदौ १९ मै नयाँ म्याद थप गरेका छन् । त्यस्तै उनले दुई जना करार कर्मचारीको बढुवासमेत गरेको साझा स्रोतले जानकारी दिएको छ । 

प्रकाशित: २० भाद्र २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App