२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अभिनयमा श्वेताको पुनरागमन

काठमाडौं- तीन वर्षअघि फिल्म 'कोहिनूर'मा मुख्य भूमिकामा अभिनय गरेकी स्वेता खड्का फिल्मका कलाकार तथा पति श्रीकृष्ण श्रेष्ठको निधनपछि फिल्मको पर्दाबाट टाढै रहिन्। श्रीमान् गुमाएको पीडा र व्यवसायले व्यस्त श्वेता अन्ततः पर्दामा फर्कने निर्णय गरेकी छिन्। श्वेता 'कान्छी' शीर्षकमा बन्न लागेको फिल्ममा अभिनेत्रीको रुपमा फर्कन लागेकी हुन्। भदौ २ गतेबाट छायांकनमा जाने फिल्मको सोमबार राजधानीमा घोषणा गरिएको छ। स्वेताले श्रीकृष्णले नै निर्माण गरेको फिल्म 'कहाँ भेटिएला'बाट अभिनयमा डेब्यु गरेकी थिइन्।

फिल्म 'कोहिनूर'कै निर्देशक आकाश अधिकारीको निर्देशन रहने फिल्ममा स्वेताले निर्माताका अभिभारासमेत सम्हालेकी छिन्। फिल्ममा श्वेताको जोडीको रुपमा अभिनेता दयाहाङ राईले अभिनय गर्नेछन्। पहिलोपटक फिल्म निर्माणमा हात हालेकी श्वेताले आफ्नो पहिलो प्रयासलाई दर्शकले साथ दिने  बताइन्।

निर्देशक आकाशले फिल्म  गाउँको कथामा बनाउन लागेको बताए। 'अधिकांश युवा विदेश जाँदा गाउँमा लास उठाउने मानिस पनि हुँदैन। त्यस्तो अवस्थामा गाउँमा रहेका कान्छीहरूले के कसरी काम गर्छन् भन्ने विषयलाई फिल्ममा उठान गरिएको छ,'  आकाशले भने।

अभिनेता दयाहाङले टिमका सबै सदस्य इमान्दार भएर काम गर्ने भएकाले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरे। फिल्ममा अनु शाह, भूमिका श्रेष्ठको पनि अभिनय रहनेछ। यम थापाको पटकथा तथा संवाद रहने फिल्म मुस्ताङमा झन्डै ३५ दिनको समयसम्म खिचिनेछ। फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य र पुरुषोत्तम प्रधानको छायांकन हुनेछ। कार्यक्रममा निर्देशक आकाशले फिल्म आगामी माघ २६ गते रिलिज हुने घोषणा गरे।

यसैबीच श्वेताले नेपाल चलचित्र निर्माता संघले स्थापना गर्न लागेको बाढीपीडित कोषमा रकम जम्मा हुने गरी १ लाख ५ हजार सहयोग घोषणा गरेकी छिन्। 'बाढी प्रभावित ठाउँमा गएर आर्थिक र मानवीय सहयोग गर्ने मेरो ठूलो इच्छा थियो। तर, फिल्मको काम तत्काल सुरु गर्नुपर्ने भएकाले आर्थिक सहयोग मात्र घोषणा गरेकी हुँ,' उनले भनिन्।

प्रकाशित: ३१ श्रावण २०७४ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App