२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दृष्टिविहिन पढ्ने विद्यालयमा राजनीतिक हस्तक्षेप

धरान- दृष्टिविहिन विद्यार्थीहरु पढ्ने धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा प्रअ अवकाश हुने समय नजिकिएपछि राजनैतिक हस्तक्षेप एवं चलखेल बढेको छ। कार्यरत ६ जना शिक्षक एवं शिक्षिकाले प्रअको राजिनामा माग गर्दै पढाउन छोडेको घटना अन्ततः राजनीतिकरण हुन पुगेको हो।

आन्दोलन शिक्षकहरुको माग पुरा नभएको भन्दै मंगलबार विदाको समय पारेर कांग्रेसको भातृसंगठन नेवि संघ क्षेत्रीय समितिले विद्यालयको प्रशासन र लेखा फाँटमा तालाबन्दी गरेको छ। आन्दोलनरत शिक्षकहरुको नेतृत्वमा ताला लगाउन आएको थाह पाएपछि दृष्टिविहिन विद्यार्थीहरुले विरोध गर्दै नाराबाजी गरेका थिए। पढाउन छोडेर राजनीति गरेको र विद्यालयमा बाहिरी हस्तक्षेप निम्त्याएर शैक्षिक वातावरण विगारेको भन्दै आन्दोलनरत शिक्षक, शिक्षिकाहरुप्रति विद्यार्थीहरु आक्रोशित छन्। यसअघि पनि आन्दोलनरत शिक्षक, शिक्षिकाहरुले ताला लगाएर धर्नामा बस्ने प्रयास गरेपनि विद्यार्थीहरुकै विरोधको कारण रोकिएको थियो। मंगलबार भने विदाको समयमा नेविसंघका कार्यकर्ताहरुले बिहान करिब ११ बजेतिर ताला लगाएको हो।

प्रअ केशरी थापाले विभेद एवं अन्याय गरेको, विगतको सहमति कार्यान्वयन नगरेकोलगायत आरोप लगाउदै २ जना करारसहित ६ शिक्षक, शिक्षिकाहरु आन्दोलनमा छन् । साउन १० गते विद्यालयमा हाँजिर गरेर हिडेका ती शिक्षक,शिक्षिकाहरु त्यसपछि पढाउन नआएको विद्यालय प्रशासनले जनाएको छ । प्रअ थापा मंसिर १७ गतेदेखि अवकाश हुनेछिन्। आन्दोलन गर्नेहरुमा करार शिक्षकद्धय प्रकाश कार्की र तुलसी तिम्सिना हुन् भने अन्यमा सुशिला थापा, डोल्मा योञ्जन, विद्या शाक्य र सीता कार्की छन् । करार शिक्षक कार्की पार्टटाइम शिक्षककोरुपमा प्रवेश पाएका थिए भने तिम्सिना परीक्षणकालमा रहेका शिक्षक हुन्। करार शिक्षक कार्कीलाई प्रक्रिया पुर्याएर नियुक्ती गर्ने प्रयास थालेपछि विवाद शुरु भएको थियो । उनकै नेतृत्वमा शिक्षक, शिक्षिका आन्दोलनमा छन् । उनी नेपाली कांग्रेस समर्थित शिक्षक हुन् । आन्दोलनरत शिक्षक, शिक्षिकाहरु जिल्ला शिक्षा कार्यालय र धरान उपमहानगरपालिकामा पनि धर्नामा बसेपनि माग पुरा नभए पछि राजनीतिक दलहरुसँग लविङ गरेका थिए ।

पुर्वमा यो एक मात्र दृष्टिविहिन विद्यार्थी पढ्ने विद्यालय हो । भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरले गर्दा यो विद्यालयलाई नेपालकै नमुना बिषेश विद्यालयकोरुपमा मानिन्छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी मिङ्मा भोटेले विदाको समयमा बाहिरका मान्छेहरु ल्याएर जर्बजस्ती ताला लगाएको भन्दै आक्रोश पोखे। आफुहरुले ताला लगाउन नपाउने भनेर विरोध गर्दा फोटो र भिडियो खिचेर पनि लगेको उनले बताए। ‘हाम्रो शिक्षक, शिक्षिकाहरु पढाउन आउनुहुन्न, अहिले बाहिरका मान्छे ल्याएर जर्बजस्ती ताला लगाए,’ भोटेले भने,‘विद्यालयको आन्तरिक मामलामा बाहिरका मान्छे किन ल्याइयो ? सरमिसले नै हाम्रो स्कुलमा राजनीति घुसाए।’ कक्षा १० का अर्का छात्र अमरदिप राईले पनि कक्षामा ढिलो आउने, फोनमा मात्र कुरा गर्ने शिक्षक, शिक्षिकाहरु आन्दोलन गरेर आफुहरुको पढाई र भविष्यमाथि खेलवाड गरेको भन्दै आक्रोश पोखे ।

प्रकाशित: २४ श्रावण २०७४ १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App