२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भक्तपुर जिल्ला समन्वय समितिमा आठ मतदाता, नौ निर्वाचित

भक्तपुर- आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भए भने सुन्दा तपाईलाई आश्चार्य लाग्न सक्छ, तर भक्तपुरको जिल्ला समन्वय समितिमा आइतबार यस्तै भएको छ। आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भएका छन्।

जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रमुख उम्मेदबार नवराज गेलाल सहितको पूरै टिम विजय भएको छ। नौ सदस्यीय समितिको उपप्रमुखमा एमालेकै सरिता कुँवर विजयी भएकी छन्। सदस्यहरुमा पनि एमालेकै शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्याञ्जू, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसंख्यक सदस्यमा गीता विसुन्खें विजयी भएका हुन्।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले कम मतदाताबाट वढी प्रतिनिधि निर्वाचित भएको यस्तो घटना आधिकारिक रुपमा आफूलाई थाहा नभएको बताए । ‘तर यो अप्रत्याशित नहोला, किनकि अहिलेको व्यवस्था अनुसार यस्तो हुनसक्छ, उनले नागरिकसँग भने । जिल्लामा चार वटा नगरपालिका मात्रै भएको र गाउँपालिका नभएकोले मतदाताहरुको संख्या न्युन भएको उनको भनाई छ।

जिल्लामा चार वटा नगरपालिका छन्। हालको व्यवस्था अनुसार जिल्ला समन्वयन समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी आठ जना मतदाता रहेका हुन् । जिल्लामा गाउँपालिका विहीन भई सवै नगरपालिका रहेकाले गाउँपालिकाकातर्फबाट एकजना पनि मतदाता छैनन् । गाउँपालिका भए गाउँपालिका प्रमुख र उपप्रमुख पनि मतदाता हुने व्यवस्था छ।

जिल्लाको चार वटा नगरपालिकामध्ये एमालेले दुई वटा नगरपालिकामा प्रमुख र उपप्रमुख, एउटा नगरपालिकामा प्रमुख जितेको थियो । यस्तै नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । नेपाली काँग्रेसले एउटा नगरपालिकामा उपप्रमुख जितेको थियो । यसहिसावले कुल मतमा एमालेको पक्षमा पाँच मत, नेपाल मजदुर किसान पार्टीको पक्षमा दुई मत र नेपाली काँग्रेसको पक्षमा एक मत रहेको छ।

उम्मेदबारी दर्ताका लागि एक जना समर्थक प्रस्तावक चाहिएको तर नेपाली काँग्रेससँग त्यो संख्या नभएकाले एमाले र नेपाल मजदुर किसान पार्टीबीच मात्रै प्रतिस्पर्धा भएको हो । नेपाल मजदुर किसान पार्टीकातर्फबाट प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरिरत्न गोर्खाली उम्मेदबार भएका थिए। नेपाल मजदुर किसान पार्टीले पनि पूरै प्यानल नै निर्वाचनमा उत्रेको थियो।

 

 

प्रकाशित: २२ श्रावण २०७४ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App