२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

के सोच्लान् भन्ने पिरलो

मेराबारेमा वरिपरिका मानिसले के सोच्छन् भन्ने तपाईंलाई थाहा छ ? थाहा छ भने म आफूलाई राम्रोसँग चिन्छु भन्ने लाग्दो हो । तपाईं बेफ्वाँकको हुनुहुन्छ कि लजालु, ससाना कुरामा नर्वस हुनुहुन्छ कि कठिन अवस्थामा शान्त हुनुहुन्छ भन्नेबारेमा तपाईंले आफूलाई चिनिसकेको हुनुपर्छ ।
उसो भए तपाईंलाई चिन्नेले पनि तपाईंका बारेमा त्यस्तै सोच्छन् ? यसबारे धेरै मनोवैज्ञानिकहरूले उत्तर खोज्ने प्रयास गरेका छन् । हाम्राबारेमा अरुले के सोच्छन् भन्ने मोटामोटी जानकारी हुने मनोवैज्ञानिक बताउँछन् ।
अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा सन् २०११ मा भएको एउटा शोध यस्तै किसिमका कुरा जान्ने प्रयासमा एरिका कार्लसन र उनका साथीहरूले गरेका थिए । सयौँ विद्यार्थीलाई उनीहरूले आफ्ना बारेमा के सोच्छन् भनी सोधिएको थियो र पछि तिनका साथीले ती विद्यार्थीका बारेमा के सोच्छन् भनी बताउन आग्रह गरिएको थियो ।
तपाईंका बारेमा अरुले के सोच्छन् भनेर सोच्नुस् र साथीलाई आफ्ना बारेमा सोध्नुस् । त्यस्तै साथी कस्तो छ भन्ने धारणा बनाउनुस् र साथीका बारेमा तपाईं के सोच्नुहुन्छ भन्ने बताउनुस् । एकअर्काका बारेमा जान्ने योजस्तो उत्तम उपाय कहीँ पाउनु हुन्न ।
एरिका कार्लसनको शोधले के देखियो भने साथीहरूले एकअर्काका बारेमा गरेको आँकलन लगभग मिलेको थियो । यसबाट के थाहा हुन्छ भने प्रायः हामी एकअर्काका बारेमा लगभग कुरा जान्दछौँ ।
शोधको अर्को पाटोमा के गरियो भने एकअर्कासँग बिल्कुलै जानकारी नभएका अञ्जान दुई जना मानिसहरूलाई पाँच मिनेट कुरा गर्न लगाइयो । त्यसपछि एकअर्काका बारेमा बनेको धारणाबारे सोधियो । जुन उत्तर आयो, त्यसले पक्का भयो– प्रायः केही क्षण बिताएका मानिसका बारेमा थोरबहुत जानिन्छ ।
तर लगभग थाहा भए पनि अघिल्तिरका मानिसका बारेमा पूर्ण रुपमा भने जानिन्छ नै भन्ने छैन । २०१३ मा केही मनोवैज्ञानिकले गरेको अध्ययनमा ६५ विद्यार्थीले आफ्नाबारेमा खुलेर बताए । तीमध्ये केहीले आफूलाई अल्छी भने, कसैले म आफूभन्दा तल्लो जातको मानिसलाई बराबरीको व्यवहार गर्छु भने । त्यसपछि शोधकर्ताले उनीहरूलाई चिन्ने व्यक्तिलाई गएर तिनका बारेमा सोधे । शोधकर्ताहरू त्यतिबेला जिल्ल परे जब भनिएभन्दा बेग्लै उत्तर पाए । जसले अल्छी भनेको थियो, त्यो अरुको नजरमा फूर्तिलो थियो भने अछुत व्यवहार नगर्नेले अरुलाई अछुत व्यवहार गरिरहेको थियो ।
प्रायः हामी अरुले हाम्राबारेमा के सोच्लान् भनेर सोचिरहेका हुन्छौँ । यस्तो सोच्नुको कुनै फाइदा छैन । हालै क्यानडाको टोरन्टोस्थित एउटा कलेजमा सयभन्दा बढी विद्यार्थी एउटा ल्याबमा गए । उनीहरूले त्यहाँ एउटा सेल्फी खिचे । सेल्फी लिइरहेका बेला एक जना व्यवसायिक फोटोग्राफरले पनि तिनको तस्बिर खिचे । ती विद्यार्थीले आफूले खिचेको तस्बिरमा उनीहरू सुन्दर देखिएको भनेर मख्ख परिरहेका थिए ।
पछि व्यावसायिक फोटोग्राफर र सेल्फी दुवै तस्बिर अनलाइनमा राखियो र सर्वसाधारणलाई कुन चाहिँ तस्बिर मन प¥यो भनी सोधियो, धेरैले व्यावसायिक फोटोग्राफरको तस्बिरलाई रुचाए ।
अरुले आफ्नाबारेमा के सोच्लान् भन्ने जान्ने मन छ भने चाहिँ अरुलाई नै सोधेर पक्का हुनु बेस । सोधिएका व्यक्ति इमान्दार छन् भने तिनले तपाईंलाई साँचो बताइदेलान् र तपाईंलाई पनि आफ्नो वास्तविकता के हो भनेर ठ्याक्कै बुझ्न सक्नु होला । कहिलेकाहीँ अरुबाट आफ्नाबारे बुझ्नु पनि राम्रै कुरा हो ।
क्रिस्चन जेरेट, बिबिसी

प्रकाशित: १७ श्रावण २०७४ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App