२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेसनल ट्रेडिङलाई निकास दिने पाँच विकल्प

काठमाडौं- नेसनल ट्रेडिङलाई निकास दिने सुझाव पेस गर्न बनाइएको अध्ययन समितिले पाँचवटा विकल्प तय गरेको छ। अधिकांश कर्मचारीलाई अवकाश दिँदै नेसनल ट्रेडिङको कारोबार बन्द भएपछि अब के गर्न सकिन्छ भन्ने अध्ययन गर्न बनाइएको समितिले प्रारम्भिक विकल्प तयार गरेको हो।

नेसनल ट्रेडिङको अबका विकल्पका रुपमा केही सुझाव सहितको मस्यौदा तयार भएको महाप्रबन्धक लबराज जोशीले बताए। 'हामीले केही विकल्प सहितको सुझाव तयार गरेका छौं,' जोशीले नागरिकसँग भने, 'यसलाई अन्तिम रुप दिन भने बाँकी नै छ।' झन्डै दुई महिनाअघि नेसनल ट्रेडिङलाई अब कसरी अघि बढाउने भन्ने विषयमा आपूर्ति मन्त्रालयका सह–सचिव मुकुन्द पौड्यालको संयोजकत्वमा अध्ययन कार्यदल बनेको थियो।

उक्त कार्यदलले पाँचवटा विकल्प तयार गरेको छ। अध्ययन कार्यदलले नेपाल आयल निगम जस्तै नेसनल ट्रेडिङलाई पनि तेल आपूर्ति गर्ने संस्थाको रुपमा विकास गर्न सकिने सुझाव तयार गरेको छ। जोशीका अनुसार आयल निगमले भारतबाट तेल ल्याए जस्तै नेसनल ट्रेडिङले चीनबाट तेल ल्याएर कारोबार गर्न सकिने विकल्प अघि सारिएको छ।

यसलाई एक आपूर्ति कम्पनीका रुपमा विकास गर्न सकिने विकल्प पनि प्रस्तुत गरिएको छ। अहिलेसम्म नेसनल ट्रेडिङले दैनिक उपभोग्य सामग्री र इलेक्ट्रोनिक्स वस्तुको व्यवसाय गर्दै आएको थियो। काठमाडौं उपत्यका र पोखरामा पेट्रोल पम्प सञ्चालन गरेको थियो। समितिले तय गरेको सुझाव अनुसार यसलाई छुट्टै आपूर्ति कम्पनी बनाउन सकिने जनाइएको छ।

देशभरमा रहेका नेसनल ट्रेडिङको जग्गा तथा भवनलाई व्यावसायिक प्रयोजनका लागि प्रदर्शनी हल वा फाइभ स्टार होटल बनाउन सकिने विकल्प पनि अध्ययन टोलीले तयार गरेको छ। यसको सातवटै प्रदेशमा अफिस र जग्गा छ। 'सातैवटा प्रदेशमा सरकारले एक–एक वटा फाइभ स्टार होटल बनाउन सक्छ,' जोशीले भने।

त्यस्तै, ती सातैवटा प्रदेशमा रहेको जग्गालाई प्रयोग गर्दै एक–एकवटा उच्च स्तरका प्रदर्शनीस्थल पनि बनाउन सकिने सुझाव तयार गरिएको छ। संस्थाको धनकुटा, विराटनगर, वीरगन्ज, दाङ, नेपालगन्ज, सुर्खेत धनगढी, महेन्द्रनगर, लगायत सहरमा कार्यालय भवन सहित जग्गा छन्।

अर्को विकल्पको रुपमा अरु कुनै संस्थासँग समायोजन गर्ने गरी काम गर्न सकिने जनाइएको छ। अहिले सञ्चालनमा रहेका नेपाल आयल निगम, खाद्य संस्थान, साल्ट ट्रेडिङ जस्ता सार्वजनिक संस्थाको नियमन गर्ने गरी यसलाई समायोजन गर्न सकिने विकल्प अघि सारिएको छ।

अध्ययन कार्यदलले तय गरेका यी विकल्पबाट एक छनोट गरेर नेसनल ट्रेडिङलाई निकास दिने तयारी गरिएको छ। विकल्पहरू प्रारम्भिक रुपमा रहेकाले यसमा विस्तृत छलफल र अध्ययन गर्न आवश्यक रहेको जोशीले बताए। 'यो त हामीले तयार गरेका प्रारम्भिक विकल्प हुन,' जोशीले भने, 'यी सुझावलाई सम्बन्धित मन्त्रालय र अन्य सारोकारवाला निकायसँग विस्तृत छलफल गरेर अन्तिम रुप दिइने छ।'

निरन्तर घाटा गएपछि दुई हप्ताअघि नेसनल ट्रेडिङले दुई सय ६४ कर्मचारीलाई अवकाश दिइसकेको छ। अवकाश दिएका कर्मचारीलाई बुधबारदेखि भुक्तानी दिइने जोशीले बताए। अहिले कम्पनीमा नौजना कर्मचारी मात्र बाँकी छन्। काठमाडौं, टेकुमा रहेको कम्पनीको करिब ५० रोपनी जग्गा बेचेर कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको हो। उसले तीन अर्ब २५ करोड रुपैयाँको जग्गा नेपाल आयल निगमलाई बेचेको छ। ४९ रोपनी १० आना जग्गा प्रतिआना ४२ लाख रुपैयाँका दरले बिक्री गरेको नेसनल ट्रेडिङले जनाएको छ।

प्रकाशित: २७ असार २०७४ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App