२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भलिबलमा चार नयाँ प्रतियोगिता

काठमाडौं- चार नयाँ प्रतियोगिता थप्दै नेपाल भलिबल संघले वार्षिक कार्यक्रम घोषणा गरेको छ। संघले नयाँ प्रतियोगिताको रूपमा अन्तरकलेज, राष्ट्रिय मेयर कप, सांसद महिला पुरुष भलिबल र यु–१८ पुरुष महिला भलिबल प्रतियोगिता गर्ने बताएको छ। गत वर्षका अन्य कार्यक्रमलाई भने निरन्तरता दिएको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले बताए।

यसै महिना नेपाल सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको रूपमा मान्यता दिएको घोषणा गरेको थियो। भलिबलको भौतिक पूर्वाधार विकास र दीर्घकालीन योजनाको बारेमा वार्षिक कार्यक्रममा सम्बोधन गरिएको छैन। तर खेलकुद पूर्वाधार निर्माण र राष्ट्रिय खेलको विकाससम्बन्धी विशेष योजना युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र अर्थ मन्त्रालयमा पेस गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।

गत वर्ष संघले वार्षिक कार्यक्रममा समेटेर पनि पूरा नभएका रेफ्री क्यान्डिडेट कोर्स, वर्षखेलाडी सम्मान कार्यक्रमलाई प्राथमिकताका साथ नयाँ वर्षमा आयोजना गर्ने महासचिव चन्दले बताए।

भलिबल संघले प्राथमिकता साथ आयोजना गर्दै आएको चौथो राष्ट्रिय एनभिए महिला क्लब च्याम्पियनसिप भदौको अन्तिम साता, ३१औं पुरुष र २१औं राष्ट्रिय महिला भलिबल पुसमा, चौथो पुरुष महिला क्लब लिग चैतमा गर्ने भएको छ।

राष्ट्रिय मेयर वैशाखमा, सांसद कप असोजमा, अन्तरकलेज भलिबल फागुन र यु–१८ जुनियर प्रतियोगिता माघमा हुने भएको छ।

मिति तय नभए पनि नेपालले एभिसी एसियन सिनियर पुरुष सेन्ट्रल जोन, एभिसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबलमा सहभागी हुने बताइएको छ। त्यस्तै नेपालले डेनमार्कको भिदोवर क्लबसँगको मैत्रीपूर्ण खेल असोजमा हुने बताएको छ। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल संघ भलिबलको विकासमा योजनाबद्ध रूपमा अगाडि बढिरहेको बताए। उनले भने, 'राष्ट्रिय खेलको मान्यता पाएपछि हामीमाथि धेरै जिम्मेवारी थपिएको छ। हामीलाई थाहा छ संघलाई धेरै भार छ। सबैको सहयोगले हामी अगाडि बढिरहेका छौं। सक्दो राम्रो कार्यक्रम गर्ने कोसिस गर्छौं।'

यसै गरी संघले साउन १४ देखि पुरुष राष्ट्रिय टोली र फागुनबाट महिला टोलीको प्रशिक्षण सुरु गर्ने बताएको छ। वार्षिक कार्यक्रम पूरा गर्न करिब ५ करोड बजेट आवश्यक पर्ने महासचिव चन्दले बताए।

भलिबलमा विदेशी प्रशिक्षक

राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा नेपाल भलिबल संघले नेदरल्यान्ड्सका मिटभान विइजेललाई अनुबन्धित गर्न लागेको बताएको छ। प्रशिक्षक जुलाई २५ सम्म नेपाल आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए। चन्दका अनुसार मिटभानले नेदरल्यान्ड्सको यु–१८ टोलीको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्। अध्यक्ष शर्मा र महासचिव चन्द सोमबार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेदरल्यान्ड जाने तयारीमा छन्। नेदरल्यान्डमा पुगेर प्रशिक्षक मिटभानसँग सम्झौता गर्ने योजना रहेको चन्दले बताए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप), अन्तर्राष्ट्रिय भलिबल महासंघ र नेदरल्यान्ड भलिबल संघको सहयोगमा मिटभान नेपाल आउन लागेका हुन्।

नेपालमा रहँदा हुने खर्च नेपाल भलिबल संघले र अन्य खर्च राखेप, अन्तराष्ट्रिय भलिबल संघले सहयोग गर्ने चन्दले बताए।

यसअघि इरानका मोहम्मद हामिदले नेपाली टोलीको विदेशस् प्रशिक्षकका रूपमा काम गरेका थिए।

हामिदको प्रशिक्षणमा नेपालले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिएको थियो।

मिटभानसँग सुरुआतमा पहिलो चरणको सम्झौता हुने संघले बताएको छ। पहिलो चरणको सम्झौताको अवधिमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्णपछि टोलीको स्तरमा आएको सुधारका आधारमा थप सम्झौता गर्ने वा नगर्ने बारेमा संघले निर्णय गर्ने बताइएको छ।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App