२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

डि सिने अवार्ड : मनोनयनमा पुरानोकै वर्चस्व

काठमाडौं- नेपालमा हरेक वर्ष आयोजना हुने फिल्म अवार्डमा भिडन्त गर्दै आएका कलाकार तथा प्राविधिक नै 'डि सिने अवार्ड' को नवौं संस्करणमा पनि  हातमिसामिस गर्ने भएका छन्। शनिबार आयोजक छायाँछवि क्रिएसनले हेटौंडामा सार्वजनिक गरेको मनोनयनमा एकाधबाहेक पुरानै कलाकार र प्राविधिकको वर्चस्व देखिएको छ।

 आगामी असार २२ गते हेटौंडामै हुन लागेको अवार्डमा 'उत्कृष्ट अभिनेता' विधामा दयाहाङ राई, विपिन कार्की, माओत्से गुरुङ, निखिल उप्रेती र सौगात मल्लबीच लडभिड हुने भएको छ। उनीहरू क्रमशः 'वीरविक्रम' 'जात्रा', 'पुरानो डुंगा', 'निर्भय' र 'लुकामारी' बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका हुन्।

त्यस्तै 'उत्कृष्ट अभिनेत्री' विधामा फिल्म 'छक्का पञ्जा' बाट प्रियंका कार्की, 'पुरानो डुंगा' बाट मेनुका प्रधान, 'झुम्की' बाट रिश्मा गुरुङ, 'तीन घुम्ती' बाट गरिमा पन्त र 'किस्मत २' बाट शिल्पा पोखरेल अवार्डका लागि प्रतिस्पर्धी छन्। अवार्डमा 'उत्कृष्ट फिल्म' का लागि 'छक्का पञ्जा', 'जात्रा', 'गाजलु', 'लुट २' र 'पुरानो डुंगा' भिड्दैछन्। निर्देशन विधामा 'गाजलु' बाट हेमराज बिसी, 'लुट २' बाट निश्चल बस्नेत, 'पुरानो डुंगा' बाट रामबाबु गुरुङ, 'वीर विक्रम' बाट मिलन चाम्स र 'निर्भय' बाट मधुसुदन भट्टराईबीच अवार्डका लागि तँछाडमछाड हुँदैछ।

अवार्डमा २०७३ सालमा प्रदर्शनमा आएका ८६ फिल्ममध्ये ५५ फिल्मले अवार्डका लागि आवेदन दिएका थिए। संस्थाका अध्यक्ष शान्तिप्रियले  अवार्डले फिल्म क्षेत्रमा लागेकालाई हौसला प्रदान गर्ने र नेपाल फिल्ममा नयाँपन भित्र्निेमा आफू विश्वस्त रहेको बताए।

 २९ विधाको अवार्डमा २० विधामा 'छक्कापञ्जा', १३ विधामा 'गाजलु', ११ विधामा 'लुट–२' परेका छन्। अवार्डमा विश्वमै विरलै राखिने केमियो विधाको अवार्ड 'डि सिने अवार्ड' मा थपिएको छ। जसमा एक गीतमा मात्र देखिएका निर्देशक निश्चल बस्नेतलाई फिल्म 'लुट २' र 'लप्पन छप्पन' बाट मनोनयनमा पारिएको छ। आयोजकका अनुसार अवार्डमा एक सयभन्दा बढी कलाकारको सहभागिता रहनेछ। अवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, सञ्चारकर्मी विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ र शबनम मुखिया छन्।

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App