२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन पुस्ता फरक–फरक अपेक्षा

छोरा–बुहारी र नातिसँग ८४ वर्षीय टीकाराम ढकाल र उनक पत्नी नन्दकली । तस्बिर : कलेन्द

सुर्खेत –    त्यतिबेला निर्वाचन मिति नजिकिँदै आउँदा मुटुको ढुकढुकी पनि बिस्तारै बढ्न थालेको थियो । गाउँका भद्रभलादमीले त सम्झाएका थिए– आत्तिनुपर्दैन, ढुक्क भएर भोट हाल्ने हो । तर, मतदानको लाममा बस्दा  ढुकढुकी झन् बढ्यो । ‘पहिलोपल्ट भोट हाल्ने भएर हो कि क्या हो, मनमा डर लागेको थियो,’ टीकाराम ढकालले भने, ‘भोट हालेपछि भने मन फुरुङ भयो, साँझ बूढाबूढी सँगसँगै घर फर्कियौं ।’

८४ वर्षीय ढकालले २०१५ सालको चुनावी अनुभव सुनाउँदै गर्दा स्थानीय तह निर्वाचनमा पहिलोपटक भोट हाल्ने तरखरमा रहेका नाति प्रशान्त अनौठो मानेर सुनिरहेका थिए । २४ वर्षीय प्रशान्तमा भने कुनै डर छैन, बरु उनी उत्साही छन् । ‘हाम्रो भविष्य सुखी र समृद्ध बनाउने उम्मेदवारलाई कतिबेला भोट हाल्न पाइएला भन्ने उत्सुकता छ,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थी उनले भने, ‘आफ्नो गाउँका नेता छान्ने अवसर पाउँदा निकै खुसी छु ।’

बाजे–नातिसँग चुनावी कुराकानी भइरहेका बेला दुई पुस्तालाई जोड्ने पुल बनेर आइपुगे ५२ वर्षीय नरेशविक्रम । शिक्षाशास्त्रमा विद्यावारिधि गरिरहेका प्रशान्तबा बाबु नरेशविक्रम स्थानीय निर्वाचनमा भोट खसाल्न जति उत्साही छन्, उत्तिकै भविष्यप्रति आशावादी पनि । ‘यो चुनावले बुवा–आमा पुस्तालाई सम्मानपूर्ण जीवनयापन र छोरा पुस्तालाई समृद्धिको उज्यालो यात्रामा डो¥याउन महŒवपूर्ण काम गर्नेछ,’ उनले भने, ‘नेपालमा ६ दशकअघि सुरु भएको लोकतान्त्रिक यात्राले बल्ल सार्थकता पाउँदैछ ।’

वीरेन्द्रनगरस्थित ढकाल परिवारसँग शुक्रबार बिहान भएको चुनावी कुराकानीमा तीनै पुस्ताको अनुहारमा साझा सारांश झल्किन्थ्यो– उत्साह । सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउने कोशेढुंगाको रूपमा हेरिएको यो निर्वाचनले जनतालाई अधिकार सम्पन्न बनाउनेमा उनीहरू ढुक्क देखिन्थे ।

ढकाल दम्पतीसँग भोट हालेको लामो अनुभव छ । पहिलोपटक २०१५ सालमा मतदान गरेका उनीहरूले पञ्चायतकालमा आठपटक, बहुदलीय प्रजातन्त्रकालमा पाँचपटक र गणतन्त्र आएपछि दुईपटक भोट हाले । ‘उतिबेला र अहिलेको चुनावमा आकाशपातल फरक भइसक्यो,’ ढकालले भने, ‘नेता (उम्मेदवार) को व्यवहारमा पनि कत्ति मेल खाँदैन ।’

ढकालका अनुसार उतिबेलाका उम्मेदवार पनि अहिलेजस्तो विकास र सामाजिक न्यायका एजेन्डा बोकेर घरघर पुग्थे । मुद्दा साना हुन्थे, जितेपछि पूरा गरिछाड्थे । ‘अहिलेका नेता भने भाषण ठूला गर्छन्, जितेपछि सबै  बिर्सिन्छन्,’ उहिले र अहिलेका नेताबीच चारित्रिक भेद खोतल्दै उनले भने, ‘जनता बाठा भएरमात्र विकास भएको हो, अचेल नेताका त गफमात्रै ठूला छन् ।’

स्तरीकृत अजेन्डा
पञ्चायतकालमा उम्मेदवारका प्राथमिक एजेन्डा हुन्थे– विद्यालय, बाटोघाटो र खानेपानी । सामाजिक न्यायलाई उनीहरू विश्वासको आधार मान्थे । ८४ वर्षीय ढकाल पत्नी नन्दकली उतिबेलाका नेताहरूले जितेपछि इमानदारीपूर्वक काम गरेको बताउँछिन् । ‘उनीहरूले नगरेका भए अहिले गाउँगाउँमा स्कुल कहाँ हुन्थे र ?’, उनले भनिन्, ‘काम त गरेकै हुन्, अहिले उनीहरूलाई केही गरेनन् भनेर दोष दिनुहुँदैन ।’

बहुदलीय प्रजातन्त्रकालमा यिनै अजेन्डाले विकसित रूप धारण गरे । क्याम्पस, सडक, बिजुलीबत्ती र स्वच्छ खानेपानी उम्मेदवारका अजेन्डा बन्न थाले । नरेशविक्रम भन्छन्, ‘यो समयमा सशस्त्र द्वन्द्वले केही ‘डिस्टर्ब’ गरे पनि उल्लेख्य प्रगति पनि भएको छ ।’

पछिल्लो समय पुरानै आधारभूत अजेन्डा महत्वाकांक्षी आकारमा आएका छन् । सडक कालोपत्रेदेखि केबुलकार, स्वच्छ सहर, विश्वविद्यालय र प्रविधियुक्त विकासका संरचनामा उम्मेदवार केन्द्रित भएको प्रशान्तको भनाइ छ । 
‘व्यवहारमा लागू गर्ने हो भने त अहिलेका उम्मेदवारले उठाएका नारा निकै राम्रा छन्,’ उनी भन्छन्, ‘तर, जित्नका लागि मात्र हो कि, व्यवहारमा पनि ल्याउने हुन्, हेर्न बाँकी छ ।’

बदलिँदो प्रचारशैली

फरक–फरक चार व्यवस्थाका चुनाव भोगेका ढकाल दम्पतीलाई पछिल्लो चुनावी प्रक्रिया झन्झटिलो र मतदातालाई रनभुल्ल पार्नेखालको लागेको छ । प्रचारशैली पनि निकै तडकभडक छ । ‘उसबेला सिधै गयो, नाम बोलाएपछि लाम लाग्यो, अनि ठुल्ठूला चुनाव चिह्नमा भोट हाल्यो,’ टीकारामले भने, ‘अहिले त मतपत्रमात्र ठूला, चिह्न सानासाना, कसरी भोट हाल्ने भन्नेमै दिन बित्छ ।’

उनका अनुसार उसबेलाका चुनावमा अहिलेजस्तो तडकभडक र हल्लाखल्ला हुन्थेन । बरु उम्मेदवार घरमै आएर ‘खुट्टा ढोग्थे’, दुई हात जोडेर भोट माग्थे । ‘चुनाव जितेपछि पनि सन्चोबिसन्चो सोध्थे, अप्ठेरो परेको बेला सहयोग गर्थे,’ उनले भने, ‘अहिलेका उम्मेदवारको त अनुहारै देख्न पाइएको छैन ।’

नयाँ पुस्ताका प्रशान्त भने प्रचारको ‘हाइटेक’ शैलीबारे बाजेबज्यै अनविज्ञ हुनु स्वाभाविक ठान्छन् । विज्ञान–प्रविधिको युगमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जालजस्ता सञ्चारका विभिन्न माध्यमबाट उम्मेदवारले आफ्ना अजेन्डा मतदातासमक्ष पु¥याएको उनको भनाइ छ । ‘अब त इलेक्ट्रोनिक भोटिङका कारण मतपत्रमा स्वस्तिक छाप लगाउने जमाना पनि जान लागिसक्यो,’ उनले भने, ‘समयअनुसार चुनावी प्रक्रिया पनि बदलिइरहेका छन् ।’

मतदाताको विवेक
‘म त राम्रो विचार बोकेको पार्टी र काम गर्नसक्ने उम्मेदवारलाई भोट हाल्ने हो’, नाति पुस्ताका प्रशान्तले यसो भन्दा उनका बाजेबज्यै (टीकाराम ढकाल दम्पती) ले चित खाए । किनभने उनको पालामा मतदाताले आत्मनिर्णयबाट मतदान गर्ने अवसर पाउँथेनन् । ‘गाउँका ठूलाबडाले जसलाई भोट हाल्नु भन्थे, हामी खुरुखुरु उसैलाई भोट हाल्थ्यौं,’ ढकालले भने, ‘अहिलेजस्तो मनपर्दी तरिकाले भोट हाल्ने चलन थिएन ।’ उनी स्वतन्त्रताको नाममा अहिलेको पुस्तामा ‘अनुशासनहीनता’ बढेको ठान्छन् ।

उनका अनुसार पञ्चायतकालमा मतदाता उम्मेदवारको नाममा विभाजित हुन्थे । सुर्खेतमा चन्द्रे (चन्द्रबहादुर बुढा) र तुलसी (तुलसीप्रसाद शर्मा) का दुई प्यानल थिए । सोही प्यानलका उम्मेदवार गाउँगाउँमा चुनाव लड्थे । गाउँका प्रायः सबै मत अगुवाले भनेको ठाउँमा जान्थे ।

बाजे–नाति पुस्ताको मताधिकारको यो फरकलाई मध्य–पुस्ताका नरेशविक्रम स्वाभाविक ठान्छन् । समाज विकास र राजनीतिक चेतनासँगै मतदाताको विवेकमा पनि फरक आउने उनको भनाइ छ । ‘बहुदलीय प्रजातन्त्रको सुरुआतमा दलसँग कडा आबद्धता हुँदा घरपरिवारमा द्वन्द्व बढ्यो, गाउँ–समाज विभाजित भयो,’ उनले भने, ‘पछिल्लो समय मतदाता कुनै दलको कट्टर समर्थक हुनुभन्दा पनि दलभित्रका नेताको आचरण र स्वभाव हेरेर आफ्नो धारणा बनाउने अवस्थामा पुगेका छन् ।’

अपेक्षा फरक–फरक

जीवनको उत्तरार्धमा हिँडिरहेका ढकाल दम्पती अबको चुनावबाट दुईखाले अपेक्षा गर्छन् । पहिलो– भावी सन्तानलाई कसरी सुखी बनाउने ? यसका लागि उनीसँग कुनै दृष्टिकोण छैन । ‘हामीले त सन्ततिलाई राम्रो होस् भन्ने कामना मात्र गर्ने हो,’ ढकालले भने, ‘दोस्रो अपेक्षा भने हामीहरूलाई वृद्ध भत्ता, राम्रो वृृद्धाश्रम, औखतीमूलो र बसगाडीमा सुविधा होस् भन्ने छ ।’

नरेशविक्रम स्थानीय चुनावबाट गाउँदेखि सहरसम्म उच्च नैतिकता र मूल्यमान्यता भएका विकासप्रेमी तथा अनुशासित नेता जन्मिने अपेक्षा गर्छन् । ‘यति भयो भने समाज विकासले सकारात्मक बाटो समात्छ,’ उनले भने, ‘समाजमा सुख, शान्ति छाउँछ ।’

पछिल्लो पुस्ताका प्रतिनिधि प्रशान्त भने रोजगारी र गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्छन् । विज्ञान तथा प्रविधिको विकास, औद्योगिकीकरण र भौतिक पूर्वाधारमा प्रगति भयो भने स्थानीय तह निर्वाचनले सार्थकता पाउने उनको भनाइ छ । ‘अब गाउँ–सहर आधुनिक र स्मार्ट बनाइनुपर्छ,’ उनले भने, ‘परिवर्तित समयमा हामीले चाहेको पनि यही हो।’
        
उमेर प्रतिकूल बने पनि टीकाराम ढकाल आफ्नो र पत्नी नन्दकलीको भोट आपैmं हाल्छन् । छोरा नरेशविक्रमले पूर्वी सुर्खेतको मालारानीमा जन्मे–हुर्केको यो दम्पतीको मतदाता नामावली वीरेन्द्रनगर सारिदिएका छन् । ‘उहाँ (बुवाआमा) ले चुनाव कहिल्यै छुटाउनुहुन्न, यो पटक त झन् उत्साही हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले बुढेसकालमा गाउँ जान अप्ठेरोे नहोस् भनेर सदरमुकाममा नामावली सारिदिएको छु, कसैले मतदान केन्द्रमा लगिदिए पुग्छ, भोट हाल्न समस्या हुन्न ।’

०१५ सालेखि हालसम्मका कुनै पनि निर्वाचन नछुटाएको यो दम्पतीले आइतबार हुने स्थानीय तह निर्वाचनका लागि छोरा–बुहारी नरेशविक्रम र जगतकुमारी तथा नाति प्रशान्तलाई शुक्रबारै मालारानीका लागि बिदाइ गरे । काठमाडौंमा रहेका कान्छो छोरा भरतविक्रम र दैलेखमा रहेका जेठा नाति डिकेन्द्रलाई पनि ८४ वर्षे दम्पतीले भन्न भ्याए– तिमीहरू जहाँ छौं, खुसीसाथ भोट हाल्नू है ।

 

प्रकाशित: ३० वैशाख २०७४ ०१:२६ शनिबार

पुस्ता फरक–फरक अपेक्षा