२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ठूलो जहाज भाडामा लिन ग्लोबल टेन्डर आह्वान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एकथान ठूलो जहाज भाडामा लिन 'ग्लोबल टेन्डर' आह्वान गरेको छ। निगमले दुई महिनाका लागि एकथान जहाज भाडामा लिन टेन्डर आह्वान गरेको हो। यसअघि आह्वान गरेको टेन्डरमा कुनै पनि कम्पनीले सहभागिता नजनाएपछि निगमले दोस्रो पटक टेन्डर आह्वान गरेको हो।

'अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र बोइङ ७५७ जहाज नियमित मर्मत (सि–चेक) मा जाने भएपछि उडान तालिका प्रभावित हुन नदिन जहाज भाडामा लिन लागेका हौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, 'भाडामा ल्याइने जहाजलाई आगामी साउन १ गतेबाट उडानमा प्रयोग गर्ने छौं।'

उनका अनुसार निगमसँग रहेको अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७–२००' सिरिजको जहाज आगामी असार अन्तिममा मर्मतका लागि सिंगापुर जाने तालिका छ। इन्जिनबाहेक सम्पूर्ण पार्टपूर्जाको मर्मतसम्भार गर्ने कामलाई सिचेक भनिन्छ। त्यसको ४५ दिनसम्म उक्त जहाज उतै बस्ने छ। त्यति अवधि र थप १५ दिन गरी ६० दिनका लागि नियमित उडान गर्न एउटा जहाज भाडामा लिन लागिएको हो।

निगमले 'वेट लिज' मा जहाज लिन लागेको हो। यसमा चालकदल, मर्मतसम्भार र बिमासहित सबै जहाज दिनेले ल्याउँछन्। निगमले टेन्डर भर्ने अन्तिम म्याद आगामी जेठ १६ सम्म तोकेको छ। जहाज भाडामा दिने कम्पनी, जहाज उत्पादक, वायुसेवा कम्पनी, जहाज मालिक, बैंकलगायतले निगमको टेन्डरमा सहभागिता जनाउन पाउँछन्।

'प्रतिघन्टाका दरले भाडा तिर्ने गरी हामी एयरबसमै उत्पादित ए३१९, ए३२० वा ए३२१ सिरिजका मध्ये जुन सस्तोमा पाइन्छ, त्यही लिन्छौं,' कर्पोरेट डाइरेक्टर श्रेष्ठले भने, 'हामीले भाडामा लिने जहाजमा इकोनोमी र बिजनेस गरी दुबै क्लास सिट भए पनि हुन्छ र एकैथरी मात्र भए पनि हुन्छ।'

निगमका अनुसार भाडामा ल्याइने जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, भारतका नयाँदिल्ली र बैंगलोरका लागि नियमित तथा चार्टर्ड उडानमा प्रयोग गरिने छ।

यसअघि यही एकथान जहाज भाडामा लिन निगमले वैशाख ११ गते १५ दिन म्याद राखेर आह्वान गरेको ग्लोबल टेन्डरमा एउटा पनि आवेदन परेको थिएन। त्यसको म्याद गत सोमबार (वैशाख २५) मा सकिएको थियो।

'दुई महिना भाडाको जहाज उडाएर नाफा गर्ने भन्ने हाम्रो उद्देश्य होइन,' श्रेष्ठले भने, 'हाम्रा अन्तर्राष्ट्रिय उडान तालिका गडबड नहोस् र यात्रुले सहज उडान गर्न सकुन् भनेर जहाज ल्याउन लागेका हौं।'

निगमको आर्थिक विनियमावलीमा प्रत्यक्ष छलफलबाट व्यवस्थापनले ६० दिनसम्मका लागि जहाज भाडामा लिने निर्णय गरेर सञ्चालक समितिलाई जानकारी दिन सक्ने उल्लेख छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार १५ वर्षभन्दा पुरानो जहाज खरिद गर्न र भाडामा लिन पाइँदैन। 'जसले सस्तोमा जहाज दिन्छ, उसैको लिइने छ,' कर्पोरेट डाइरेक्टर श्रेष्ठले भने।

निगमले हाल युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान तथा एकथान बि७५७–२०० जहाजबाट क्वालालम्पुर, दुबई, दोहा, हङकङ, बैंकक, नयाँदिल्ली, मुम्बई र बैंगलोर गन्तव्यमा उडान गरिरहेको छ।

करिब १ हजार ४ सय कर्मचारी रहेको निगमले जहाज उडान बाहेक त्रिभुवन विमानस्थलमा 'ग्राउन्ड ह्यान्डलिङ' गरे वापत् वार्षिक करिब २ अर्ब रूपैयाँ आम्दानी गर्दै आएको छ।

हिमालयको जहाज निगमलाई भाडामा!

नेपाल र चीनको संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नेपाल वायुसेवा निगमलाई एकथान जहाज भाडामा दिने विषयमा कुराकानी अगाडि बढेको छ।

सम्बद्ध स्रोतका अनुसार निगमले जहाज भाडामा लिन हिमालयसँग अनौपचारिक छलफल गरेका छन्। हिमालयका उच्च अधिकारीहरू पनि निगमलाई जहाज दिन सकारात्मक रहेका छन्।

'एकथान जहाज भाडामा लिन–दिन दुवै कम्पनीबीच अनौपचारिक छलफल भएको छ,' स्रोतले भन्यो, 'नयाँ गन्तव्य थपिएन भने हिमालयले निगमलाई जहाज दिन लगभग सहमति जनाइसकेको छ।'

हाल हिमालयसँग युरोपको एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त तीनथान 'ए३२०–२१४' सिरिजको जहाज छन्। तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन्। ती जहाजबाट हिमालयले श्रीलंकाको कोलम्बो, कतारको दोहा र म्यानमारको यांगुन उडान गरिरहेको छ।

चाँडै नै साउदी अरबको दम्माम, युएईको दुबई, हङकङ, भारतका नयाँदिल्ली, चेन्नाई, थाइल्यान्डको बैंकक, चीनको बेइजिङलगायत नयाँ गन्तव्यमा उडान गर्ने हिमालयको योजना छ।

प्रकाशित: २८ वैशाख २०७४ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App