२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतपुर मेयर उम्मेदवारका अजेन्डा : नारायणीमा थप पुल र चक्रपथ

चितवन- निर्वाचन जितेपछि भरतपुर महानगरपालिकालाई कस्तो बनाउने योजना छ? मेयर–उपमेयर पदका सबै प्रतिस्पर्धीको उस्तै जबाफ छ, 'नारायणी नदीमा थप पुल र चक्रपथ बनाउनैपर्नेछ।'

चितवन उद्योग वाणिज्य संघले सोमबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा भरतपुरका मेयर–उपमेयरका उम्मेदवारले आफ्ना योजना सुनाउँदा यी दुई अजेन्डा छुटाएनन्।

कार्यक्रमको सुरुवात गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले पूर्वपश्चिम राजमार्गमा नारायणी नदीमाथि रहेको एकमात्र पुल कमजोर हुँदै गएको बताए। ठूलो जोखिम आउनुअघि नै यसको मर्मत मात्रै नगरेर नारायणीमा अरू पुल बनाउन आवश्यक रहेको उनले बताए। 'गैंडाकोटमा रहेको जयश्री खोलाको सानो पुल भत्कँदा धेरै असर पर्‍यो। यो पुल तलमाथि भए के हुन्छ?' गौतमले भने।

नारायणीमा पुलका कारण यातायात आवागमनमा समस्या परे चितवनकै मात्रै नभएर देशकै अर्थतन्त्रमा नकारात्मक असर पर्ने गौतमको भनाइ थियो। ३५ वर्षअघि बनेको चितवन र नवलपरासी जोड्ने नारायणगढको नारायणी नदी पुल जीर्ण हुँदै गएको छ। नारायणी नदी तर्न त्योबाहेक अरू पुल छैन।

 'चितवनमा विकास हुनुमा नारायणगढको पुल र नारायणगढ–मुग्लिन सडक खण्डको ठूलो भूमिका छ। पुल र सडक मेरो मुख्य अजेन्डा हुनेछ,' एमालेबाट मेयर पदका उम्मेदवार देवी ज्ञवालीले भने। उनले नारायणी नदीमा थप दुईदेखि चारवटा पुल बनाउन केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने बताए।

पहाडदेखि मैदान र नदीदेखि निकुञ्जसम्म रहेको भरतपुर महानगरलाई आर्थिक रूपमा उन्नत बनाउन सडकको ठूलो भूमिका हुने उनले बताए। भरतपुरमा रहेको केन्द्रीय बस पार्क व्यवस्थित गर्दै महनगरका हरेक वडामा सडक सञ्जाल पुर्‍याउने र बाहिरी चक्रपथ निर्माण गर्ने उनको वचन छ। नारायणी नदी र निकुञ्ज आसपास हुँदै चक्रपथ बनाउँदा पर्यटनमा समेत टेवा पुग्ने उनले बताए।

 'यो महानगरमा योजना बनाएर पूर्वाधार निर्माण गर्न सक्ने अवसर छन्। काठमाडौंजस्तो ठाउँको अभाव छैन। भित्री बाहिरी चक्रपथ बनाएर व्यवस्थित बस्ती र आवास क्षेत्र निर्माण गर्ने योजना छ,' माओवादी केन्द्रबाट भरतपुर महानगरमा मेयर पदमा उठेकी रेणु दाहालले भनिन्। दाहाललाई नेपाली कांग्रेसले समर्थन गर्दै आफ्नो पार्टीको उम्मेदवारको नाम फिर्ता लिएको छ।

भरतपुरमा कृषि क्षेत्र, स्वास्थ्य क्षेत्र, बजार क्षेत्र र पर्यटकीय क्षेत्र निर्धारण गरेर त्यहीअनुरूपका पूर्वाधार निर्माण गरेर व्यवस्थित स्वरूप दिने योजना रहेको दाहालले बताइन्। फोहर व्यवस्थापनका लागि केन्द्रीकृत ल्यान्डफिल साइट निर्माण गर्ने उनको भनाइ छ।

'चक्रपथ चाहिने हो तर अझै बनेको छैन। यो बनाउनुपर्छ र बनाउन पनि सकिन्छ,' राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेदवार बद्री तिमिल्सिनाले भने। नदीमाथि थप पुल निर्माणको कुरा उनले पनि छुटाएनन्। भरतपुर नारायणगढजस्ता बजार क्षेत्र, कविलासजस्तो पूर्वाधार कम भएको पहाडी क्षेत्रका साथै पश्चिम चितवनको ग्रामीण क्षेत्र रहेको महानगरमा सबै क्षेत्रको समानुपातिक विकास गर्ने उनले बताए।

 नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी पार्वती शाहले रिङ रोड निर्माण गरेर पाँचपाँच मिनेटमा सार्वजनिक यातायातका गाडी छुट्ने व्यवस्था मिलाउने बताइन्। चितवन उद्योग वाणिज्य संघका तर्फबाट उम्मेदवारसामु राखेको अपेक्षापत्रमा बजार क्षेत्रमा आकाशे पुल निर्माण हुनुपर्ने सुझाव छ।

 'नगरभित्र उत्पादनमूलक उद्योग आवश्यक छन्। कृषि, पर्यटन वा अन्य औद्योगिक उत्पादन यहाँबाट हुन सक्ने प्रचूर सम्भावना छ। त्यो सम्भावना खेर नफालौं,' चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले भने। व्यवस्थित सभागृह, रंगशाला निर्माण र बस पार्क व्यवस्थापनमा अब आउने मेयर, उपमेयर र नगर सभासद्हरूको ध्यान जानुपर्ने उनले बताए।

 भरतपुर महानगरमा २९ वडा छन्। यहाँको जनसंख्या दुई लाख ८० हजार र मतदाता एक लाख ५२ हजार छन्। चितवन जिल्लाको आधा जनसंख्या र मतदाता भरतपुर महानगरमा बस्छन्। भरतपुरमा मेयर पदमा १४ र उपमेयर पदमा ११ जना मैदानमा छन्। मेयरमा कांग्रेस उम्मेदवार नरहेका कारण एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ। राप्रपाले पनि पछिल्लो समय आफूलाई बलियो बनाउँदै लगेको छ।

प्रकाशित: २६ वैशाख २०७४ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App