२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

६ लेन सडक निर्माणमा ढिलासुस्ती

धनगढी- गत मंसिरमा मोहना नदी अत्तरियासम्म ६ लेन सडक निर्माण गर्न आयोजनाको कार्यालय तामझामका साथ उद्घाटन हुँदा स्थानीयवासी उत्साहित र खुसी भएका थिए। पाँच महिना बित्दासम्म ६ लेन सडक निर्माणको काम सुरु हुन सकेको छैन।

महŒवपूर्ण विकासको यो काममा भएको ढिलासुस्तीसँगै उद्घाटनका बेला स्थानीयमा देखिएको उत्साह हट्दै गएको छ। '६ लेन सडकको काममा चरम ढिलासुस्ती भएको छ,' स्थानीय वासिन्दा नरबहादुर बोहराले भने, 'डेढ–दुई वर्षमै ६ लेनको सडक बन्ने स्थानीयको सपना पूरा होलाजस्तो छैन।' धनगढीको प्रवेशद्वार र गौरिफन्टा नाकासँग जोडिएको महŒवपूर्ण यो सडक ६ लेनको भएमा यहाँको विकासले फड्को मार्ने स्थानीयको भनाइ छ।

गत मंसिरमा तामझामका साथ धनगढीमा कार्यालय उद्घाटन गरिँदा युद्धस्तरमा यो सडक निर्माण गर्ने घोषणा गरिएको थियो। भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले गत मंसिरमा कार्यालय उद्घाटन गर्दै आयोजनाको काम दु्रत गतिमा अगाडि बढाइने बताएका थिए। पाँच महिना बित्दा पनि काम सुरु भएको छैन। 'कार्यालय उद्घाटनमा गरेको वाचाअनुसार कुनै काम भएको छैन,' स्थानीय तेजबहादुर साउँदले भने।

नेपाल सरकारले उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गतको उक्त आयोजनाको कार्यालय गत मंसिर ३० गते मन्त्री लेखकले उद्घाटन गरेका थिए। आयोजना कार्यालय उद्घाटन गर्दै मन्त्री लेखकले डेढ साताभित्रै टेन्डर गरिने बताएका थिए।

६ लेन सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले डिजाईन मूल्यांकनलगायत केही प्रक्रिया पूरा गर्न समय लागेकाले ढिलाइ भएको बताए। उनले वातावरणीय प्रभाव परीक्षण सकिएपछि काम अगाडि बढ्ने बताए। जेठको पहिलो सातादेखि आयोजनाको काम अगाडि बढाउने गरी तयारी भइरहेको उनको भनाइ छ। उक्त सडक निर्माणका लागि तीनवटा अगलअलग टेन्डर आह्वान गरिएकोमा परेका टेन्डरको मूल्यांकन हुन सकेको छैन। आयोजनाका लागि आवश्यक कर्मचारीको दरबन्दीसमेत पूर्ति हुन सकेको छैन।

कन्सल्टेन्सीमार्फत गरिएको प्रारम्भिक स्टिमेटमा आयोजना निर्माणमा मुआब्जा र पुलबाहेक दुई अर्ब १५ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.१७ किलोमिटर लामो तथा ३२.२ मिटर चौडा रहने छ। ६ लेनको सडकमा ८० किलोमिटर प्रतिघन्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाइनमा उल्लेख छ। उक्त सडकको दुवै साइडतिर ३–३ मिटर फुटपाथ रहने र सडकभित्र तीनवटा पुल बनाइने आयोजना प्रमुख श्रेष्ठले बताए। त्रिनगर नाकाको मोहना पुल तथा गेटामा मनहरा खोला र सुनिखोलामा पुल निर्माण गरिने छ।

अत्तरियादेखि धनगढीको मोहनासम्मको हालको साँघुरो सडकमा सवारी चाप बढ्दै जाँदा आवागमनमा कठिनाइका साथै दुर्घटना अत्यधिक हुने गरेका छन्। भारतीय सीमासँग जोडिएको रणनीतिक महŒवको ६ लेन सडक निर्माणलाई दु्रत गतिमा अगाडि बढाइनु पर्ने माग स्थानीयको भनाइ छ। '६ लेनको सडक निर्माणले याहाँको विकासमा धेरै मद्दत पुग्ने छ,' स्थानीय वासिन्दा राजिव गुप्ता भन्छन्, 'यो छिटो निर्माण हुनुपर्छ।' निर्माणका काममा हुने ढिलासुस्तीले बजेट फि्रज जाने र विकासलाई पछाडि धकेल्ने गरेको स्थानीय बताउछन्। 'हामीकहाँ समयमा छिटो छरितो र गुणस्तरीय काम हुन नसक्नु नै विकासको बाधक बनेको छ,' स्थानीय बुद्धिजीवी प्रमोद पाठक भन्छन्।

प्रकाशित: १९ वैशाख २०७४ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App