२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लाङटाङ पदमार्ग पुनः निर्माण पूरा

रसुवा— दुई वर्षअघि भूकम्पले पूर्ण रुपमा क्षति भएको स्याफ्रुबेसी–लाङटाङ पर्यटकीय पदमार्ग पुनः निर्माण सकिएको छ । करिब ४३ किलोमिटर लामो उक्त पर्यटकीय पदमार्ग विभिन्न संघ–संस्थाको आर्थिक सहयोगमा पुनःनिर्माण सकिएको हो।

भूकम्पसँगै लाङटाङ क्षेत्रमा आएको हिम पहिरोका कारण स्थानीय एक स ७५, नेपाली सेनाका ११ जना र ८० जना विदेशी नागरिक र ट्रेकिङ गाइड गरी तीन सय ५० जना हराएका थिए । पदमार्ग पूर्ण रुपमा क्षतिग्रस्त भएपछि उक्त क्षेत्रलाई सरकारले निषेधित घोषणा गरेको थियो।

भूकम्पपछि शून्य रहेको लाङटाङमा ६ महिनापछि स्थानीयकै सक्रियतामा बाटो निर्माण पक्रिया सुरु भएको लाङटाङ व्यवस्थापन तथा पुनः निर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताए । लाङटाङ क्षेत्र मानव बस्तीविहीन भएपछि सरकारले उक्त क्षेत्रमा नजान निर्देशन दिएको बेला स्थानीयको सक्रियतामा समिति गठन गरी पदमार्ग निर्माणमा जुटेको अध्यक्ष लामाको भनाइ छ।

लाङटाङमा रहेको एक सय १६ घरधुरीका करिब चार सयजना भूकम्पपछि काठमाडौंको स्वयम्भुस्थित ऐल्लो गुम्बाको कम्पाउन्डमा पाल टाँगेर बसेका थिए। यही क्रममा समिति बनाएर लाङटाङको पर्यटकीय महत्व र संस्कृति बचाउन पुनः लाङटाङ फर्किने बाटो निर्माणमा एकजुट भएको अध्यक्ष लामाले बताए।

लाङटाङका स्थानीयको पहिलो आवश्यकता बाटो भएकाले जिल्ला विकास समिति रसुवासँग बाटो बनाउन उक्त समितिले अपिल गरेपछि १० लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिए। यस्तै, नेपाल पर्यटन बोर्डले १५ लाख रुपैयाँ ट्र्याक खोल्न सहयोग गरेको उनले बताए। बोर्ड र जिविस रसुवाले दिएको २५ लाख रुपैयाँले घोडातबेलाबाट क्यान्जिङ, घोडातबेलाबाट लामाहोटल हुँदै शेर्पा गाउँसम्म बाटो निर्माण गरिएको छ।
‘पहिलो चरणमा कहाँकहाँ बाटो बिग्रिएको हो, थाहा थिएन। पत्ता लगाउनै समस्या थियो । यसपछि हामीले हेलिकप्टर प्रयोग गरेर बिग्रिएको बाटो पत्ता लगायौं,’ समिति अध्यक्ष लामाले भने, ‘बाटो बनाउन यार्साबाट मजदुर ल्याउँदा समेत हेलिकप्टर प्रयोग गर्नुप¥यो । यसरी लाङटाङको पदमार्गलाई पुरानै स्वरुपमा ल्याउन सकेका छौं।’

लाङटाङ पदमार्ग निर्माणमा ओएम नेपाल र एफएएफ संस्थाले सहयोग गरेको स्थानीयले बताए । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको लाङटाङ पदमार्ग निर्माणमा लाङटाङ राष्ट्रिय निकुन्जका हरियो वन र डब्लुडब्लुएफको सहयोगमा ९दोस्रो भाग० बम्बु रुट, लाङटाङसम्म बाटो चौडा गरिएको समितिले जनाएको छ ।

तेस्रो खण्डमा टे«किङ एजेन्सिज अफ नेपाल (टान) को सहकार्यमा जर्मन अलपाइन क्लब (डिएभी क्लब) ले एक लाख युरो पदमार्ग निर्माणमा सहयोग गरेको छ । उक्त रकमले शेर्पा गाउँदेखि घोडातबेलासम्म बाटो निर्माण गरिएको छ । सोही रुटको खच्चड बाटो निर्माणमा समेत डेट मिटर चौडा  गरिएको छ । यस्तै, घोडा तबेलादेखि क्यान्जिङ गुम्बासम्म पर्यटन पदमार्ग पूर्ण रुपमा निर्माण सकिएको छ।

समितिका कोषाध्यक्ष छिरिङ फिन्जो सबैसँग सहयोग मागेर पदमार्ग निर्माण सकिएको बताए । टानको सहयोगमा बम्बु रुटकै लाङटाङ खोलाको पुलदेखि रिम्चेसम्म पदमार्ग निर्माण गरिएको लोप्चनको भनाइ छ।  

उनका अनुसार छुनाम खोलामा रहेको काठेपुल पूर्ण रुपमा भत्किएकाले अहिले टानकै सहकार्यमा ५५ लाख रुपैयाँमा आधुनिक ट्रस्टब्रिज निर्माण भइरहेको छ । लाङटाङ पदमार्गकै चेम्कीमा ढुंगा खसेकाले व्यवस्थापन कार्य भइरहेको समिति कोषाध्यक्ष लोप्चनको भनाइ छ।

टान महासचिव कर्ण लामाले भूकम्पपछि क्षति पुगेको लाङटाङ पदमार्ग बनाउनु चुनौतीपूर्ण रहेको बेला टानको सक्रियताले सो रुट पुनः निर्माण गरिएको बताए । यसका लागि टानले स्वदेशी तथा विदेशी संघ–संस्थासँग सहकार्य गरको थियो । संस्थाले पदमार्ग पुनः निर्माण भएपछि दोस्रो अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरेको महासचिव लामाले बताए ।

प्रकाशित: १७ वैशाख २०७४ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App