२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जस्तापाता टलक्क, चाउरिएको मुहार गमक्क

धुर्मुस सुन्तली फाउन्डेसद्वारा निर्माण भएर हस्तान्तरण हुने तरखरमा रहेको बर्दिबास -२ स्थित मुसहर बस्ती।

महोत्तरी-बर्दिबास–२ स्थित एकीकृत नमुना मुसहर बस्तीका घरमा बिहानै सूर्यको पहिलो किरण पर्नेबित्तिकै नीलो रङले छाएको जस्तापाता टलक्क टल्किन्छ। जस्ताको चमकले वातावरण त उज्यालो हुन्छ नै, मुसहर बस्तीकी एक सय तीन वर्षीया मरनीदेवी सदाको चाउरी परिसकेको मुहार खुसीले गम्म परेको देख्न पाइन्छ अचेल।

राम्ररी हिँडडुल गर्न नसक्ने मरनीदेवी कहिले वैशाख १ आउला र पक्की घरमा प्रवेश गर्न पाइएला भन्ने पर्खाइमा छिन् । बिहानदेखि साँझ नपरेसम्म उनका आँखा तिनै जस्ताले छाएको घरमा डुलिरहन्छन् ।

इँटा रङको भित्तामा सेतो पेटी काटेर, नीलो रङका जस्ताले छाएका एकै आकार र डिजाइनमा बनेका घर देख्दा मुसहर बस्तीकै ८१ वर्षीया मोहनी सदा पनि खुसीले गदगद् छिन् । मोहनीले आफूहरूको दिन फेरिएकाले असाध्यै खुसी लागेको बताइन् । मरनीदेवी र मोहनी मात्र हैन, मुसहर बस्तीमै अहिले खुसी भित्रिएको छ ।

 ‘हाम्रो पनि घर बन्छ, आँगनमा खानेपानीको धारा बन्छ र बालबालिका स्कुल जान्छन् भन्ने सपना देखेका थिएनौं’, एकीकृत नमुना मुसहर बस्तीकी १९ वर्षीया मञ्जुकुमारी सदाले भनिन्, ‘हाम्रो घरघरमा बिजुली बत्ती पुग्यो, घरैपिच्छे धारा जडान गरियो, पराले ओच्छ्यान खाटमा परिणत भए, घर झनै राम्रो भयो ।’ घर बनेपछि हावाहुरी, वर्षा र आगलागीका समस्या एकै साथ समाधान भएको उनले बताइन् ।

मुसहरबस्तीकै ६० वर्षीया जलेसरीदेवी पनि सदा नयाँ वर्षको पहिलो दिनको स्वागतमा आतुर छिन् । नयाँ घर नयाँ वर्षकै दिन पाइने भएकाले त्यस दिन विशेष प्रकारका परिकार बनाउने तयारीमा उनी छन् । उनले भनिन्, ‘त्यस दिन भात, दाल, तरुवा, बघरुवा, घोगी र माछाको परिकार बनाएर अतिथिलाई खुवाउने तयारी छ ।’

मुसहर समुदायका खरले छाएको घर बर्खामा चुहिन्थ्यो भने खाना पकाउँदा जहिले पनि आगलागी हुने डर हुन्थ्यो । ‘जाडोमा राम्रो ओढ्नेओच्छ्याउने नहुँदा घरभित्रै शीतलहर पस्थ्यो, अब हामीलाई यस्तो कुनै पनि समस्या आउँदैन ।’

तीन महिनामै निर्माण पूरा भएको नमुना मुसहरबस्ती हास्य अभिनेता मह जोडीले हस्तान्तरण गर्ने कार्यक्रम तय भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले बताए । बस्तीमा निर्मित भ्युटावर सामाजिक अभियन्ता रामआशिष यादव, बालउद्यान तथा मुसहरका कुलदेवताको मन्दिर धुर्मुस–सुन्तलीका आमाबुबाले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

बस्तीभित्र ५३ वटा घर, सामुदायिक भवन, बालउद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक, नालालगायत संरचना निर्माण गरिएको छ । ३५ फिट अग्लो भ्युटावर बस्तीको बीच निर्माण गरिएको छ । भ्युटावरबाट  बस्तीसहितका बर्दिबास चोकवरिपरि र ढल्केबरका मनोरम दृश्य नियाल्न सकिन्छ ।

स्थानीय मञ्जय सदाले आफ्नो गाउँ त तस्बिरमा देखेको विदेशजस्तै लागेको बताए । उनले भने, ‘यहाँका बालबालिकाको भविष्य उज्यालिएको छ । हामी मुसहरको नवयुग सुरु भएको छ।’

बस्ती निर्माणमा चार करोड ७८ लाख खचै हुने अनुमान गरिए पनि भ्युटावर, पक्की ढलान सडक र बस्तीबाहिर तीन घरको योजना थपिँदा अनुमानितभन्दा बढी रकम खर्च भएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । उनले भने, ‘बस्ती निर्माणमा लागेको खर्च विवरण हस्तान्तरण समारोहमा सार्वजनिक गर्छौं ।’

भूकम्प पीडित सिन्धुपाल्चोक गिरान्चौरमा फाउन्डेसनले निर्माण गर्न संकलन गरेको रकमबाट बचेको एक करोड तीन लाख र विभिन्न दाताबाट थप पाँच करोड रुपैयाँ संकलन गरी मुसहर बस्ती निर्माणका लागि सहयोग जम्मा भएको फाउन्डेसनका अर्जुनप्रसाद न्यौपानेले बताए।

‘इच्छा शक्ति भए जेसुकै गर्न सकिन्छ, राष्ट्र निर्माणका लागि एकता आवश्यक हुन्छ। मुसहरबस्तीले पनि सिंगो देशले एकता खोजेको स्पष्ट पारिदिएको छ’, धुर्मुसले भने।

फाउन्डेसनले २०७३ पुस २५ गते शिलान्यास गरी बस्ती निर्माण आरम्भ गरेको थियो।

 

 

प्रकाशित: ३० चैत्र २०७३ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App