२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महानगरमा दैनिक ५ चौपायाको ज्यान गुम्दै

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र दैनिक सरदर ५ चौपाया मृत अवस्थामा भेटिने गरेका छन्। साउनदेखि फागुनसम्ममा १३ सय ८४ चौपया मृत अवस्थामा भेटिएका हुन्। मृत फेला पर्ने चौपायामा कुकुर, बाच्छा, साँढे, बिरालो र बाँदर छन्।

महानगरपालिका कार्यालयको वातावरण विभागका अनुसार ८ महिनाको तथ्यांक हेर्दा दैनिक सरदर पाँच चौपाया मृत अवस्थामा भेटिने गरेका छन्। ‘महानगरको सडकमा दैनिक कति चौपाया मरे भनेर हामीले सम्पूर्ण विवरण राख्ने गरेका छौं,’ विभागका प्रमुख रबिमान श्रेष्ठले भने, ‘मृत भेटिएका अधिकांश चौपाया भने गाडीको ठक्करबाट मर्ने गरेको पाइएको छ।’ उनका अनुसार महानगरभित्र मरेका चौपाया उठाउने ठेक्का निजी क्षेत्रको क्लिन नेपाल संस्थाले पाएको छ। सडकमा चौपाया मरेको पाइएमा वडाबाट खबर आएपछि क्लिन नेपालले उठाएर व्यवस्थापन गर्दै आएको छ।

क्लिन नेपालले भने विभागलाई चौपाया मरेको सूचनासहित तस्बिर उपलब्ध गराउँछ। उपलब्ध तथ्यांकको आधारमा अधिकांश चौपाया सवारी दूघर्टनामा परेर मरेको पाइएको श्रेष्ठले बताए।

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी कुकुर मरेको पाइएको छ। प्रत्येक महिना एक सयभन्दा बढी कुकुर मर्ने गरेको पाइएको विभागले जनायो। सडकमा रहेका कुकुरलाई सवारीचालकले वेवास्ता गर्दै कुल्चने हुँदा कुकुर बढी मरेको हुनसक्ने विभागको अनुमान छ। मरेका पाइएका कुकरमध्ये ९५ प्रतिशत बढी कुकुर सवारीले कुल्चेको पाइएको छ। आठ महिनामा एक हजार ५७ कुकुर मरेका छन्।

कुकुरपछि बाच्छाहरु मर्ने गरेको पाइएको छ। मासिक २८ को हाराहारीमा गाइका बाच्छा मर्ने गरेका छन्। साँढे, बिरालो र बाँदर पनि छिटफुट मरेकेा भेटिने गरेको विभागसँग तथ्यांक छ।

महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले भने  खानेकुरा नमिलेर तथा बिरामी भएर पनि कतिपय चौपाया मर्ने गरेेको बताउँछन्। ‘सवारीको ठक्कर, खानेकुरा नपाएर तथा जथाभावी खानाले पनि चौपाया मर्ने गरेका छन्,’ जनस्वास्थ शाखाका प्रमुख श्रेष्ठले भने।  उनले घाइते भएका चौपायालाई उपचार गर्ने गरेको बताए।

महानगरपालिकाले सडकमा रहने चौपाया संरक्षणका लागि आउँदो आर्थिक वर्षभित्र टेकुमा संरक्षण गर्ने घर बनाउन लागेको छ। सडकमा भेटिने सबै चौपायालाई संरक्षण घरमा राखिने भएपछि अनाहकमा मनुपर्ने समस्या समाप्त हुने श्रेष्ठको भनाइ छ।

महानगरीय ट्राफिक प्रहरीले पनि चौपायालाई ठक्कर दिने सवारीसाधनलाई कारवाही गर्ने गरेको छैन। यसले गर्दा पनि चौपायाको ज्यान सवारी दूघर्टनाकै कारणले बढी जाने गरेको अनुमान छ।

प्रकाशित: १८ चैत्र २०७३ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App