२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थुनुवा भागेपछि दुई प्रहरी हिरासतमा

धरान- म्याद थप र बयानको लागि लगिएका एक थुनुवा सरकारी वकिल कार्यालयबाटै फरार भएपछि सुरक्षामा खटिएका दुई प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको छ।

लागुऔषध कारोबारमा मुद्दा खेपिरहेका मोरङ घर भएका २२ बर्षीय विरेन खत्री आइतबार सरकारी वकिलको कार्यालयबाटै फरार भएका थिए। थुनुवा फरार भएपछि सुरक्षामा खटिएका जवान लोकबहादुर महत र जीवन श्रेष्ठलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान शुरु गरेको छ। दुवै इलाका प्रहरी कार्यालय धरानमा कार्यरत थिए । घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरी निरीक्षक शेषकराम थान्दारको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। समितिमा एक जना असई र एक हवल्दार पनि छन्। उक्त छानबिन समिति सोमबार धरान आएर हिरासतमा रहेका प्रहरी जवानसँग बयान लिएको थियो भने जिल्लाको टोलीले नै म्याद थप गर्न प्रहरी जवानद्धयलाई इनरुवा लगेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी प्रविण धितालका अनुसार थुनुवाका लागि खटिएका दुई प्रहरीको लापरवाही देखिएकोले पहिलो चरणमा उनीहरुलाई आवश्यक कारबाही शुरु गरिएको छ । साथै, घटनामा अन्यको संलग्नता भए नभएको अनुसन्धान गर्न टोली गठन भइसकेको पनि डिएसपी धिमालले जानकारी दिए। ‘थुनुवा फरार हुनुमा सुरक्षामा खटिएकाको लापरवाही देखिएकोले पहिलो चरणमा दुई जनालाई आवश्यक कारबाही शुरु गरिसकेका छौं। छानबिन टोली गठन भएको छ, अन्यको पनि संलग्नता भेटिए थपलाई कारबाही हुन्छ’–डिएसपी धितालले भने।

इलाका प्रहरी कार्यालय धरानका अनुसार फरार थुनुवा खत्री चैत ९ गते ५ सेट लागुऔषध टिडिजेसिकसहित पक्राउ परेका थिए। चैत १० गते मुद्दा दर्ता भएका खत्रीलाई आइतबार म्याद थप र बयानको लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको थियो । थुनुवा खत्रीको सुरक्षामा दुई प्रहरी महत र श्रेष्ठ खटिएका थिए। प्रहरी स्रोतका अनुसार वयानको लागि वयान कक्षमा खत्रीलाई पुर्याउँदा सरकारी वकिल बाहिर गएका थिए । त्यसबेला सुरक्षार्थ खटिएका प्रहरीको ध्यान अन्तै गएको मौकामा हतकडीसमेत खुस्काएर खत्री भाग्न सफल भए । खत्री कोठाबाट निस्किएर बाहिरबाट चुकुल लगाएपछि प्रहरीद्धय भित्रै थुनिएको र उनी सजिलै भागेका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक यामबहादुर पौडेलले वयान कक्षाबाट २ प्रहरीलाई थुनेर थुनुवा फरार भएको र लापरवाही गर्नेलाई कारबाही शुरु भइसकेको बताए । ‘वयान कक्षमा भएको बेला प्रहरी पनि सँगै थियो, लापरवाही भएर नै हतकडी खुस्काएर थुनुवा भागेछ । थुनुवाको खोजतलास जारी छ’–पौडेलले भने–‘तत्काल २ जना कसुरदार देखिएकोले कारागार ऐनअनुसार कारबाही शुरु भएको छ । अरुपनि संलग्न देखिए कारबाही हुन्छ।’

प्रकाशित: १४ चैत्र २०७३ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App