२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारको भविष्य दाहालमा निर्भर !

काठमाडौं–वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अडानमा रहेको माओवादी केन्द्रले राष्ट्रिय सहमति गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। सोमबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले वैशाख २३ गते एमालेसँग गरिएको नौ बुँदे सहमति र भद्र सहमति एमालेले कार्यान्वयन नगरेको, सरकार एकलौटी ढंगले संचालन गरेको, राष्ट्रियताको नारा दिएर अधिनायकत्व लाद्न खोजेको भन्दै सरकारको विकल्प खोज्न नेताहरुले दबाब दिएपछि बैठकले त्यसको जिम्मा अध्यक्ष दाहाललाई दिएको नेता मणि थापाले जानकारी दिए।

बैठकले  एमालेसँग भएको नौ बुँदे सहमति र भद्र सहमति कार्यान्वयन गर्ने विषयमा अन्तिम पटक छलफल गर्ने र त्यसका लागि एमाले तयार नभए सरकारको विकल्प खोज्ने निर्णय गरेको हो।

बैठकले मुख्य रुपमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न एमाले नेतृत्वको सरकार बाधक रहेको निष्कर्ष निकालेको छ। बैठकले एमाले निकट कानुन व्यवसायीले द्वन्द्वकालीन मुद्दा व्युँताएर माओवादी नेता कार्यकर्तालाई फसाउन खोजेको आरोप लगाएको छ।
‘एमालेले शान्ति प्रक्रियाप्रति निकै नकारात्मक भूमिका खेलेको हाम्रो निष्कर्ष छ,’ नेता थापाले भने,‘ उसले अन्तर्राष्ट्रिय रुपमा  हामीलाई फसाउन खोज्दैछ।’

यसअघि एमालेले नौ बुँदे सहमति र भद्र सहमति कार्यान्वयन नगरेको मात्र बताउँदै आएको माओवादीको सोमबार बसेको बैठकमा सरकारको चर्को आलोचना भएको छ। बैठकमा एमाले नेतृत्वको सरकारले ल्याएको बजेट, विकासमुखी भन्दा पनि चुनाव मुखी भएको, पुननिर्माण प्राधिकरणमा कमजोर व्यक्ति नियुक्त गरेको, र पुर्ननिर्माण प्राधिकरणलाई एमाले निकट एनजिओकरण गरेको भन्दै बैठकमा नेताहरुले आक्रोश व्यक्त गरेका थिए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेसँग भएको नौ बुँदे सहमति कार्यान्वयन गर्न पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्ने निर्णय भएको बताए। ‘त्यसका लागि एमाले र माओवादी केन्द्रका अध्यक्षबीच छुट्टै छलफल गर्नलाई हाम्रा अध्यक्षलाई बैठकले अधिकार दिएको छ,’ उनले भने। आइतबार सत्तारुढ दलको बैठकमा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने भन्दै आपसी केही असमझदारी भए आपसी सहमतिमा टुंग्याउन नेताहरु सहमत भएका थिए।

आइतबार बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले शान्ति प्रक्रिया कतिपय काम अगाडि बढिरहेको र केही काम भने सुस्त गतिमा अगाडि बढेको भन्दै त्यसलाई छिटो टुंग्याउनुपर्ने बताएका थिए।

माओवादी केन्द्रले सरकारको विकल्प खोज्ने निर्णयप्रतिको प्रतिक्रियामा एमाले सचिव प्रदीप ज्ञवालीले नौ बुँदै सहमतिप्रति माओवादी इमान्दार नदेखिएको टिप्पणी गरे। ‘नौ बुँदै सँगै भद्र सहमति भएको भएपनि बजेट पास नभएसम्म माओवादीले सरकारको विकल्पका विषयमा छलफल गर्नुहुन्न थियो,’ ज्ञवालीले भने,‘नौ बुँदे सहमतिको भएको भोलिपल्टदेखि वर्तमान सरकारको विकल्प खोज्नुले माओवादी नौ बुँदे सहमतिप्रति इमान्दार छैन।’ उनले माओवादीभित्रको एकपक्ष सरकारको विकल्प खोज्न पहिलादेखि नै लागिपरेको भन्दै माओवादी नेतृत्वले सरकारको विकल्पको कुरा नगरेको बताए।

 

प्रकाशित: २७ असार २०७३ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App