२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी अध्यक्षद्वारा राजीनामा

नयाँ दिल्ली- विश्व क्रिकेटको सर्वोच्च निकाय पुनर्संरचनाको विषयमा आफ्नै देशको बोर्डसँग असहमत भएपछि भारतका शशांक मनोहरले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

गत वर्ष पहिलो स्वतन्त्र अध्यक्षका रूपमा आइसिसीको नेतृत्व सम्हालेका मनोहरको कार्यकाल दुई वर्षको थियो। उनले आफ्नो कार्यकालमा विश्व क्रिकेटमा विद्यमान तीन शक्तिशाली राष्ट्र भारत, अस्ट्रेलिया र इङ्ल्यान्डको शक्ति कम गर्नका लागि आइसिसीको प्रशासनमा पुनर्संरचनाको अभियान सुरु गरेका थिए।

मनोहरको राजीनामाले सबभन्दा शक्तिशाली भारतीय बोर्ड र बाँकी विश्व क्रिकेटबीचको असमझदारी थप बढाउने अनुमान छ।

'आइसिसीले अध्यक्ष शशांक मनोहरबाट राजीनामा पत्र प्राप्त भएको छ,' राजीनामाको खबर चुहिएपछि आइसिसीले छोटो विज्ञप्तिमा भनेको छ, 'आइसिसीको बोर्डले यस विषयमा छलफल गरेर आगामी कदमबारे निर्णय लिनेछ।'

क्रिकेटको लोकप्रिय वेभसाइट क्रिकइन्फोले जनाएअनुसार भारतीय क्रिकेट बोर्डका पूर्वप्रमुख ५९ वर्षे मनोहरले आइसिसीका कार्यकारी प्रमुख डेविड रिचार्डसनलाई लेखेको पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन्।

'मैले आइसिसी र सदस्य बोर्डहरूलाई अघि बढाउनका लागि निर्णय गर्दा कुनै पक्षपात गरिनँ र आफ्नो तर्फबाट क्रिकेटलाई माथि उचाल्न सक्ने प्रयास गरेँ। यसमा मलाई सबैको साथ पनि रहेको थियो,' मनोहरले लेखेका छन्, 'तर व्यक्तिगत कारणले म आइसिसी अध्यक्षका रूपमा काम गर्न अब असमर्थ भएको छु। त्यसैले तत्काल लागू हुने गरी राजीनामा गरेको छु।'

मनोहरले आइसिसीको आम्दानी सबै सदस्यलाई समानुपातिक रूपमा वितरण गर्ने तथा बोर्ड बैठकमा सबै सदस्य राष्ट्रको समान मताधिकार हुनुपर्ने जस्ता विषय उठाएका थिए। यस विषयमा पछिल्ला केही महिनादेखि भारतमा लगातार आन्तरिक छलफल भइरहेको थियो। तर गत महिना भारतले आफ्नो प्रभुत्व कम हुने आशंकामा मनोहरको प्रस्तावविरुद्ध मतदान गरेको थियो।

प्रकाशित: ३ चैत्र २०७३ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App