२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

तीन कविता : छोरीले हाँस्नु हुन्न

रञ्जना निरौला

समय उनकै वरिपरि घुम्यो

टपरी र सेलरोटीमा

सीप कुदियो

चुलाचौका, मेला र पँधेरीमा

यौवन माझियो

अनूभुतिको सिँढी बनेर

उक्लिए चाउरी गालामा

 

जति मिच्यो नियम र सीमाले

उति असल बनिन्

जति थिच्यो कर्तव्य र बोझले

उति सुन्दर भनिइन्

जे गरिन् अरुकै लागि

 

बसिन् कहिलेकाहीँ

कहिलेकाहीँ हिँडिन्

घर देश थियो

विश्व थियो गाउँ उनका लागि

नेपथ्यमै बित्यो सारा जीवन

नेपथ्यबाटै भन्थिन् मलाई सधैँ

नहाँस छोरी

छोरीले हाँस्नु हुन्न

 

समय मसँगै अलिकति घसि्रयो

विद्यालय, क्याम्पस हुंदै

प्रतियोगिता र परीक्षामा डट्यो

फाट्टफुट्ट कार्यालय पुग्यो

अलिकति शिक्षित

अलिकति आत्मनिर्भर बन्यो

 

पुस्तकले विश्व पढायो

सुन्दर अक्षरमा कुरूप नियम देख्यो

विचारले विद्रोह गर्‍यो

कहिले असमानताको,

अधिकारको कहिले विभाजित आकाश

र, धर्तीका नियालेर सीमा

औँल्याउदै अस्तित्व

बन्यो जागरुक

ढाकिएको मेरो आकाश उघार्न

 

छ अहिलेसम्म अनवरत खटिरहेको

कहिलेकाहीँ आफ्नै लागि बाँच्ने प्रयासमा

म भन्छु

हाँस्नुपर्छ छोरी– खुसी औषधि हो

 

समय उनकै हातमा बसेको छ

डिजिटल बनेर

ग्लोबल युगमा बसेर गर्छिन्

अन्तरीक्षको सयर

घुम्छिन् विश्व हत्केलाबाट

र, रमाउँछिन् प्रविधिलाई पकेटमा थन्काएर

 

चुनौती अझै पनि छन्

अप्ठ्याराहरू अझै कति छन् कति

तर, प्रतिस्पर्धाका हरेक चुनौतीसँग लड्ने

सामर्थ्य मुस्कुराउँछ उनका आँखामा

लाग्छ समय उनीमाथि निर्भर छ

 

उनी उठ्छिन् र समय ब्यँुझन्छ

उनी थाक्छिन् र समय सुस्ताउँछ

लाग्छ

आफ्नै लागि बाँचेकी  छन्

हाँस्नुहुन्न र हाँस्नुपर्छ भन्ने समयको विभेद

छुट्ट्याउने कोसिस नगरी

हाँसून् उनी चुनौतीलाई जितेर विजयी हाँसो

र, सिकोस् समयले हाँस्न उनीसँग

हो, समय

आमा, म र छोरीसँग

फरकफरक बनेर आयो

भिन्दाभिन्दै समयका

जोड–घटाउ–गुणा र भागका प्रश्नमा

जीवन र दिनचर्याका गणितीय हिसाबमा

समयको माग र परिवर्तनका सूत्रहरूमा

फरकफरक उत्तर बनेर।

 

कथा पढेजस्तो जीवन

कालो–सेतो सडकमाथि

उमेरको स्टियरिङले

दौडाइरहेको साधनजस्तो

न बेगवान बनाउन सक्नु

न धिमा गतिमा सुस्ताउनु

न टक्क अडाएर ओर्ली हिँड्नु

आफै छोडिएर

आफै बढेजस्तो

जीवन

संसार मञ्चमा

कर्मका खेलौनासँग

खेलिरहेको विविध खेलजस्तो

जित्ने र हार्ने अनिश्चिततामा

प्रयासका अनेक अभ्यासमा

खेल्दाखेल्दै, सिक्दासिक्दै

आफैसँग खेलेर

आफैले हारेको खेलजस्तो

जीवन

सादा पन्नामाथि

अनुभूतिले चलाएको कलमजस्तो

न लेख्न सक्नु भित्री मन

न कोरिनु, न मेटिनु

न लुकाउनु, न देखिनु

लेख्दालेख्दै लेखिनसकेको

आधा अधुरो

कथा पढेजस्तो 

जीवन।

 

मेरो युवा दाइ

 

सपनाको भारी बोकेर

दुःखका गीतहरू गाउँदै

पासपोर्टको ऐनामा हेर्दै

समृद्धिको प्रतिबिम्ब

आफैलाई छाडेर

आज मेरो अर्को दाइ

विदेश जान हिँडे

यो देशको

निधारमा टाँसिएको

पलायनको ग्राफमा अर्को उकालो थपेर!

 

सिंगो यौवनलाई

साटेर कौडीको मूल्यमा

मरुभूमिको देशमा

गइरहेछन् अरूजस्तै उनी

परदेेशको बन्जर हरियो पार्न

छोडेर पाखाबारीमा

आफ्नै पसिनाको गन्ध

खेत बालीमा जिम्मा दिँदै

श्रमको स्मृति सपनालाई

पुरानो झोलाभित्र राख्दै

हिँडे युवा दाइ

अञ्जान भूगोलको अँध्यारोतिर!

 

घरबारी थियो,

थियो सानोतिनो खुसी

अलिक पर अन्योल थियो भविष्य!

बढिरहेछन् आवश्यकताहरू

जिन्दगी अप्ठ्यारो बनाउँदै

 

श्रम, जोस, जाँगर र यौवन बोकेर

नदीझैँ व्यर्थ बगिरहेको

ऊर्जाले निकास नपाउँदा

आमाको आँचलमा

छोडेर सम्झना

ल्याउँछु शीतल चन्द्रमा भन्दै

आफ्नै पहाडलाई

नीरव आँखाले हेरेर

फर्केर आउँछु

र, सिउरिन्छु गुराँस भन्ने कामना गर्दै

आज फेरि हिँडे दाइ

मन भाँचेर

बिरानो मुलकमा

तोडेर आफूलाई

जोड्दै सपनाहरू!

 

आज फेरि

अभिशप्त गरिबीको

मेलापात गर्न एक्लै भइन्

मेरी भाउजू!

आज मुटु थिचेर आमाले

बिदा गरिन् आफ्नै मुटु!

यसैगरी,

हिँडिरहेछ एउटा ठूलो लस्कर

यो गाउँलाई बिरानो बनाउँदै

थाहा छैन मलाई

ऊ फर्केर आउँदा रहन्छ–रहन्न गाउँ

या गाउँको यो पर्खाइमा

फर्कन्छ–फर्कन्न ऊ,

सपना साकार पार्दै! 

प्रकाशित: २९ माघ २०७३ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App