२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनाङ अन्तिम चारमा

झापा- नेपालका स्टार खेलाडीहरुको बाहुल्य रहेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। न्यूरोड टिम (एनआरटी) माथि ४–० को फराकिलो जित हासिल गर्दै मनाङले मनाङले अन्तिम चारमा स्थान बनाएको हो।

शनिबार पोखरामा आहा–रारा गोल्डकपको उपाधि जितेको मनाङले डोमालाल रंशालामा जारी प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। मनाङको जितसँगै सेमिफाइनल समिकरण पूरा हुँदा अन्तिम चारको अर्को खेलमा आयोजक रमपम झापा ११ र हिमालयन शेर्पा क्लबले एक–अर्काको सामना गर्नेछन्।

राष्ट्रिय टोलीका ६ खेलाडी सहित मैदान उत्रिएको मनाङले सुरुदेखि नै खेल पकडमा राखेको थियो। एनआरटीले रक्षात्मक प्रदर्शन गर्न खोजे पनि मनाङको  आक्रामक अग्रपंक्तिलाई रोक्न सकेन। मनाङले २५ औं मिनेटमा निराजन मल्लको गोलबाट अग्रता लियो। निराजनले अफ्रिकी खेलाडी ओलावालेको पासमा गोल गरेका थिए। लगत्तै दुई मिनेटपछि ओलावालेकै पासमा सुशील लामाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। मध्यान्तर हुन ११ मिनेट बाँकी रहँदा निराजनले व्यक्तिगत दोस्रो गोल गर्दे मनाङलाई थप सहज अवस्थामा पुर्‍याए। सुशीलले पेनाल्टी बक्सभित्र मिलाएको पासमा निराजनले गोल गरेपछि पहिलो हाफमा मनाङ ३–० ले अघि बढेको थियो।

दोस्रो हाफमा पनि मनाङको गति रोकिएन। ५९औं मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जित पक्का गरे। विशाल राईको पासमा ओलावालेले गोल गरेका हुन्।

यसअघि २०औं मिनेटमा मनाङका सुजल श्रेष्ठको फ्रि–किक पोस्ट माथिबाट बाहिरिएको थियो। ३०औं मिनेटमा एनआरटीका प्रविण गुरुङको कडा प्रहारले पोस्टको दिशा दिन सकेन। त्यसको एक मिनेटपछि मनाङका ओलावालेको प्रहार एनआरटीका गोलकिपर सन्देश गुरुङले बचाए।

जीतपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले विपक्षी टीमको फिनिसिङ कमजोर हुँदा सहज रुपमा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए। फराकिलो जितका बावजुद टोलीको प्रदर्शनमा सन्तुष्ट हुन नसकेका उनले सेमिफाइनलमा रणनीति परिवर्तन गरिने जनाउ दिए। बिहीबार मैदान उत्रिन नसकेका भरपर्दा स्ट्राइकर अनिल गुरुङ पनि अर्काे खेलमा उपस्थित हुने जानकारी उनले दिए।

एनआरटीका प्रशिक्षक श्याम मालीले नयाँ टिम भएका कारण जित निकाल्न नसकिएको बताए। उनले छोटो समयको तयारीका कारण मनाङ जस्तो शसक्त टिमसँग हार बेहोर्नुपरेको धारणा राखे। 

मनाङका रोहित चन्द म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

शुक्रबार हुने पहिलो सेमिफाइनलमा आयोजक झापा ११ र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्। शनिबार हुने अर्को सेमिफाइनलमा मनाङले विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

प्रकाशित: २१ माघ २०७३ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App