२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ, विरामीको अवस्था सामान्य

मोरङ- विराटनगरस्थित कोरोना उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।

विराटनगरस्थित कोसी अस्पताल कोभिड उपचार केन्द्रमा ३१ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक टोलीसहित अन्य कर्मचारी २८ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालकी निमित्त प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

‘हाम्रो चिकित्सक टोली उच्च सर्तकताका साथ काम गरी बिरामीको सेवा गर्दै आएको छ,’ मिश्राले भनिन्, ‘कोभिड उपचार केन्द्रमा तालिका बनाएर डाक्टरलगायत अन्य साथीहरूले काम गरिरहनु भएको छ । उहाँहरू घर जाँदा पूर्ण रूपमा परिवारका सदस्यलाई सुरक्षित हुने वातावरणका साथ सेवा गर्दै आउनु भएको छ ।’ कोसी अस्पतालमा उपचार गराइरहेको कोरोना भाइरस संक्रिमत ३१ जनाको अवस्था सामान्य रहेको डाक्टर मिश्राले बताइन् । ‘अहिलेसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ मिश्राले भनिन्, ‘बिरामीको नियमित परीक्षण भइरहेको र ३ जना सुगर र १ जना ब्लड प्रेसरको बिरामी रहेको हुँदा उहाँहरू औषधि त्यसअनुरूप चलिरहेको छ, त्यस्तो कुनै समस्या आएको छैन ।’

अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये १३ जनाको पुनः स्वाब परीक्षण शुक्रबार साँझमा गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । कोसी अस्पतालमा पीसीआर परीक्षणका लागि चाहिने किट अभाव रहेको बताइएको छ । ‘स्वाब परीक्षणका लागि दुई प्रकारको किट आवश्यक पर्छ, डाक्टर मिश्राले भनिन्, ‘हामी कहाँ आरएनए एस्ट्रासन किटको अभाव रहको छ । दुवै प्रकारको किट जरुरी हुनेहुँदा सम्बन्धित निकायलाई किट अभावको जानकारी दिएका छौं, तर अहिलेसम्म आइपुगेको छैन ।’ किट अभाव भयो भने पीसीआर परीक्षण गर्न समस्या हुने बताइन् ।

प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बिरामी खोज्ने र परीक्षण तीव्र पारेको दाबी सरकारले गरेको छ । प्रदेशको प्रादेशिक अस्पताल कोसी अस्पतालमै परीक्षणका चाहिने किट पर्याप्त छैन ।
 

प्रकाशित: २० वैशाख २०७७ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App