२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सूर्याेदयका चिया बगान–उद्योग खुल्ने

इलामको कन्याम चिया बगान । तस्बिर : भीम/नागरिक

इलाम- लकडाउनका कारण बन्द भएका सूर्याेदय नगरपालिकाका चिया बगान र उद्योग खुलाइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुनेगरी कामदारहरू अत्यन्त सुरक्षित भएर बगान–उद्योगको काममा निरन्तरता दिने नगरले निर्णय गरेको हो।

हरियो चियाको पहिलो टिपाइ (फस्ट फ्लस) नै नोक्सान हुँदा किसानलाई हातमुख जोर्न समस्या पर्ने, चियाको बोट बिग्रेर वर्षभर पत्ती पलाउन नसक्नेजस्ता जटिल समस्या चियामा देखिएका थिए। विभिन्न १४ बुँदे नियम लागू गरेर चिया क्षेत्रको कामलाई निरन्तरता दिन लागिएको मेयर रणबहादुर राईले बताए। ‘चिया टिपाइदेखि प्रशोधनसम्मका कामदार अत्यन्त सुरक्षित रहनेगरी मापदण्ड बनाइएको छ,’ उनले भने, ‘वडाले निरन्तर अनुगमन गर्नेगरी व्यवस्था मिलाइएको छ।’

हरियो पत्ती टिप्ने कामदारले न्यूनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, दिउँसो २ बजेपछि चिया नटिप्ने, ४ बजेसम्ममा उद्योगमा पत्ती पुर्‍याउने र चिया पुर्‍याउन जाने गाडीमा पनि २ जनाभन्दा बढी बस्न नपाउने नियम नगरले बनाएको छ। यस्तै, हरियोपत्ती संकलन केन्द्रमा पनि २ जनाभन्दा बढी भेला हुन नपाउने, भेला भएकाले पनि २ मिटरको सामजिक दुरी कायम राख्ने, कामदारले आफ्ना लागि आफैं खाजा व्यवस्था गर्ने, १/१ घण्टामा हात धुने, सेनिटाइजर प्रयोग गर्ने नियम अब कामदारमा लागू गरिँदैछ।

उद्योगमा पनि यी नै नियम कडाइका साथ लागू गर्ने मेयर राईले बताए। चिया प्रशोधनका प्रत्येक चरणमा २ जनाभन्दा बढीले काम गर्न नपाउने नियम पनि बनाइएको छ। उद्योगमा हरियो पत्ती ओइलाउनेदेखि तयारी चिया बनाउनेसम्म ५ चरण हुन्छन्। यी चरणमा ज्यादै सीमितमात्र कामदार लगाउनुपर्ने उनले बताए।

‘हामीले चिया बगान र उद्योग खुलाउन प्रदेश र संघीय सरकारसँग पनि छलफल चाहिँ गरेका हौं,’ मेयर राईले भने, ‘तर, प्रदेश र संघीय सरकारको निर्णय आउँदा हरियो चियामा अस्वभाविक क्षति भइसक्छ, यहाँको वस्तुगत समस्या यहाँकै जनप्रतिनिधिले मात्र बुझेको भएकाले नगरले यस्तो निर्णय गरेको हो।’ सम्बन्धित वडामा जानकारी गराएर मात्र चिया टिपाइ र प्रशोधनको काम गर्नुपर्ने र वडाले त्यसको अनुगमन गर्ने मेयर राईले जनाए। १ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले चिया उद्योग खुलाउनेबारे पहल भइरहेको बताए। सिजनको पहिलो पत्ती टिप्न नपाउँदा इलामसहित पूर्वी जिल्लाका किसानलाई करोडौं रुपैयाँको क्षति भइरहेको छ।

 

प्रकाशित: १९ चैत्र २०७६ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App