२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राउटे समुदायलाई प्रदेश सरकारको खाद्यान्न

राउटे समुदायलाई खाद्यान्न वितरण गर्दै भेरीगंगा नगरपालिकाका प्रमुख भुजेन्द्रबहादुर चन्द, उपप्रमुख रेनु आचार्य, सामाजिक विकास मन्त्रालयका महिला तथा बालबालिका अधिकृत अनिता ज्ञवाली ।  नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - लकडाउनका कारण खाद्य संकटमा रहेको राउटे समुदायलाई प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको छ । जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई भेरीगंगा नगरपालिकाको सक्रियतामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ स्थित सत्तरी नजिकैको छिन्चु खोला किनारमा बस्दै आएको छ ।

आफूले बनाएका काठका भाँडा विक्री गरेर गुजारा चलाउँदै आएको यो समुदाय कोरोना भाइरसका कारण संकटमा छ । सामाजिक विकास मन्त्रालयका महिला तथा बालबालिका अधिकृत अनिता ज्ञवालीले लकडाउनका कारण राउटे समुदायमा खाद्यान्न संकट उत्पन्न भएकाले भेरीगंगा नगरपालिकाको समन्वयमा खाद्यान्न उपलब्ध गराइएको बताइन् । मन्त्रालयले राउटे समुदायका ४६ घरलाई एक–एक बोरा चामल, दुई–दुई केजी दाल, दुई–दुई लिटर तेल र दुई–दुई केजी नुन उपलब्ध गराएको छ ।

भेरीगंगा नगरपालिकाले राउटे बस्तीनै ‘लकडाउन’ गरेको छ । कोरोना संक्रमण फैलिन नदिनका लागि राउटे समुदायलाई बस्तीभन्दा बाहिर आउन दिइएको छैन् भने बाहिरका व्यक्तिहरुलाई पनि राउटे समुदायको बस्ती प्रवेशमा प्रतिवन्ध लगाइएको छ । ‘बस्तीमा आउने व्यक्तिहरुबाट मागेर, काठका भाँडा विक्री गरेर गुजारा चलाउने यो समुदाय अहिले कठिन मोडमा छ्,’ भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले भने, ‘यो संकटको बेला राज्यका सबै निकायले सहयोग गर्नु अति आवश्यक छ ।’

नगरपालिकाले स्वास्थ्य र सरसफाईका क्षेत्रमा काम गरिरहेको छ । ‘कोरोना संक्रमण रोक्नका लागि नगरपालिकाबाट साबुन–पानीले हात धुन, शौचालय प्रयोग गर्न सिकाउँदैछौं,’ उपमेयर रेनु आचार्यले भनिन्, ‘रोगको संक्रमण फैलिन नदिनका लागि बाह्य व्यक्तिहरुलाई बस्तीमा प्रवेश दिएका छैनौं ।’

सामाजिक विकास मन्त्रालयले लकडाउन अवधिभर राउटे समुदायलाई आवश्यक खाद्यान्न उपलब्ध गराइने बताएको छ । ‘विगतदेखि पनि राउटे समुदायलाई मन्त्रालयले सहयोग गर्दै आइरहेको छ,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘यो संकटको अवधिभरी प्रदेश सरकार राउटे समुदायसँगै छ ।’

प्रकाशित: १८ चैत्र २०७६ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App