१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जब वडाध्यक्ष चामलको बोरा लिएर मजदुरकहाँ पुगे...

शुक्लागण्डकी नगरपालिका–८ मा वडाले संकलन गरेको खाद्यन्न सामग्री वितरण गरिदैँ ।

दुलेगौँडा(तनहुँ)- धादिङकी सावित्री बिक र उनका श्रीमान मोहनबहादुर दुई वर्षदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा बस्दै ज्याला मजदुरी गर्छन्। दिनभरको मजदुरीले साँझ विहानको छाक टार्ने बिक दम्पति लकडाउन भएसंगै काममा जान पाएका छैनन्। मजदुरी नगरी दुई छाक खानलाई पनि मुस्किल पर्ने उनीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गत मंगलबारदेखि एक साताका लागि मुलुक लकडाउन गरिएपछि एउटै चिन्ताले सतायो, ‘कोरोना लाग्नु पहिले भोकमारीले पो मरिन्छ क्या हो!’  

जब शनिबार दिउँसो वडाध्यक्ष कृष्ण रेग्मी चामलको बोरासहित खाद्यन्न सामग्री लिएर उनीहरुकै डेरामा पुगे, त्यसपछी खुसीको सीमा नै रहेन। ‘पाँच दिनदेखि काममा जान नपाएको। काम नगरेसम्म हातमुख जोर्न धौधौँ हुन्छ। अझै लकडाउन बढाउने हल्ला सुनेपछि के खाएर बाँच्ने होला भन्ने चिन्ता थियो’, उनले भनिन्, ‘वडाध्यक्ष ज्यू चामलको बोरा लिएर घरमै आउनुभयो। हामी दुःखीलाई योभन्दा खुसी के होला र?’, उनले भनिन्।  काममा जान नपाएपछि नजिकका पसलले उधारोमा सामान दिन इन्कार गरेको उनले बताइन्।

लकडाउनको प्रत्यक्ष मारमा परेका ८३ परिवार मजदुरलाई खाद्यन्न सामग्री वितरण गरेको वडाध्यक्ष रेग्मीले बताए। प्रत्येक परिवारलाई ३० केजी चामाल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, दुई केजी हरियो तरकारी र आधा केजीको सोयाविन वितरण गरेको उनले जनाए। यी सामग्रीले १५ दिनलाई पुग्ने उनी बताउँछन्।

लकडाउनको समयमा वडामा बसोबास गर्दै आएका कोही मजदुर भोको पेट बस्न नपर्ने रेग्मीको दाबी छ। ‘दिनभर श्रम गरेर बेलुकाको छाँक टार्ने  विपन्न मजदुरका परिवार लकडाउनले काममा निस्कन नपाएको अवस्था छ। घरमा खाद्यन्न मौज्दात नुहदाँ भोकै बस्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘त्यसैले मजदुरी गरी खानेलाई सहयोग गरेका हौँ।’ उनले वडाले उक्त सामग्री वितरणमा सरकारी बजेट खर्च नगरेको बताए। स्वतःस्फुर्त सहयोग उठाई सहयोग गरेको उनको भनाई छ।

वडामा ज्याला मजदुरी गरेर दैनिकी गुजारा चलाउने दुई सय ५० परिवारको विवरण संकलन गरिएको छ। सबैलाई लकडाउन अवधिभर पुग्नेगरी खाद्यन्नका सामग्री दिने वडाध्यक्ष रेग्मीले जानकारी दिए। यस्तै, शुक्लागण्डकी नगरपालिकाले पनि विपन्न वर्गका मजदुरलाई खाद्यन्न सहयोग गर्न तथ्याङ संकलन गरिरहेको छ।

मजदुरको उद्वार गरी घर पठाईयो
व्यास नगरपालिका–२ मा अलपत्र मजदूरलाई वडा कार्यालयको आज उद्वार गरी घर पठाएको छ। लकडाउन भएपछि अलपत्र परेका दमौली बजारमा मजदुरी गर्दै आएका ७१ जनालाई शनिबार घर पठाएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए। दुई वटा बसमा रौतहटको गौर र बाराको वीरगन्ज पठाएको उनले बताए। ३६ जनालाई गौर र ३५ जनालाई वीरगञ्ज पठाइएको हो। आइतबार आज २२ जनालाई गौर पठाउने तयारी भएको वडाध्यक्ष श्रेष्ठले जनाए।

 

प्रकाशित: १६ चैत्र २०७६ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App