२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘रक गार्डेन’ निर्माणका लागि प्रदेश सरकारको ४० लाख

रक गार्डेनका रुपमा विकास गर्न लागिएको ककनीडाँडाका चट्टान । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङको त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनीडाँडामा ‘रक गार्डेन’ निर्माणका लागि प्रदेश सरकारले ४० लाख बजेट बिनियोजन गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाँडामा रहेको कडा चट्टानले ढाकिएको डाँडालाई ढुंगे बगैंचाको रुपमा विकास गर्नका लागि १ नम्बर प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो।

हलेसी तुवाचुङ नगरपालिकाले ककनीडाँडामा ‘रक गार्डेन’ बनाउनका लागि डिपिआरको काम अन्तिम चरणमा पुर्‍याएको बेला प्रदेश सरकारबाट बजेट प्राप्त भएको प्रदेशसभा सांसद रामकुमार राई पासाङले बताए। एक करोड ३५ लाख रुपैयाँ माग गरिएकामा प्रदेश सरकारले ४० लाख मात्र विनियोजन गरेको हो। प्रदेशसभा सांसद राईका अनुसार अब उपभोक्ता समिति गठन, ठेक्का प्रकृया लगायतका काम अघि बढ्ने छ।

हलेसीभन्दा केहीमाथि रहेको ककनीडाँडामा करिब १६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ। सिंगो डाँडा खोपेर बनाएजस्ता चुच्चो परेका ढुंगाले ढाकिएको छ। त्यसमध्ये ५६ रोपनी जग्गाभित्रका चट्टानलाई समेटेर रक गार्डेन बनाउने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। प्राकृतिक चट्टानले बनेको ककनीको मन्दीरभन्दा केहीमाथि रहेकाले ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा पुर्‍याउन सकिने सम्भावना रहेको नगरपालिकाले जनाएको छ।

हलेसीमा आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनीडाँडामा रक गार्डेनको परिकल्पना गरिएको हो। विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडामा रक गार्डेन बनाउनका लागि डाँडामा रहेका कुनै पनि ढुंगालाई नबिगारी सजावटका काम गरिने तयारी गरिएको छ। ‘ककनीडाँडामा सुन्दर र कलात्मक आकृतिका ढुंगा छन्, हामी त्यसलाई असर नपुग्ने गरी सजावटका काम मात्र गर्ने छौँ,’ मेयर राईले भने, ‘यसलाई नगरपालिकाको महत्वपूर्ण पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो।’

ककनीडाँडा उत्तरतर्फका हिमश्रृंखला र वरपरका दृश्यावलोकनका लागि चर्चित छ। झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रंगका ढुंगाले ढाकिएको ककनीडाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ। मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र पिकनिक जाने गरेका छन्। रक गार्डेन बनाएपछि सो डाँडालाई ‘चुरेडाँडा रक गार्डेन’ नामाकरण गर्ने प्रस्ताव गरिएको छ।

ककनीडाँडालाई आकर्षकस्थल बनाउनका लागि प्राकृतिक रुपमै सजिसजाउ ढुंगालाई सजाउने, ढुंगाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुंगे गेट बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ती बनाउने, प्राकृतिक ढुंगालाई नचलाईकन कालो, सेतो र रातो ढुंगा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको छ। यस्तै, सगरमाथा लगायतका हिमालको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुंगाकै स–साना गेट निर्माण गर्ने, रक गार्डेनको चारैतिर तारवार तथा वाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्नका लागि ढुंगाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा रिल्याक्स गर्नका लागि डाँडाडाँडामा काठबाट बनेका बिसौनी राख्ने गरि डिपिआरको काम भइरहेको मेयर राईले बताए।

यस बाहेक रक गार्डेनमा विद्युत, पिउनेपानी, विश्रामस्थल, केवलकार, भोजनालयसम्मको परिकल्पना गरिएको छ। ककनीडाँडाकै एकापट्टीको भीरमा रक क्लाइबिङको सम्भावना छ। आवश्यक संरचना निर्माण गर्न सके ककनीडाँडा पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुने सम्भावना रहेको स्थानीय रेवती केसीले बताए। भस्मासुरले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाईला परेपछि कलात्मक ढुंगा निस्किएको किंवदन्ती रहेको छ।
 
 

 

प्रकाशित: ५ चैत्र २०७६ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App