२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साबिकको विजेता लिभरपुल बाहिरियो

लिभरपुलविरुद्ध गोल प्रयास गर्दै एट्लेटिकोका मार्कोस लोरेन्ट (बीच)। तस्बिर :एएफपी

लन्डन – अतिरिक्त समयमा सम्हालिन नसक्दा साबिकको विजेता लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।

च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो लेगअन्तर्गत बुधबार घरेलु मैदान एन्फिल्डमा लिभरपुल स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडसँग ३–२ ले स्तब्ध भएको हो। पहिलो लेग १–० ले आफ्नो बनाएको एट्लेटिकोले बुधबार पनि सफलता दोहोर्‍याएपछि समग्रमा ४–२ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो। साबिकको विजेता लिभरपुलविरुद्ध जितको लक्ष्यका साथ खेलेको र आफ्नो रणनीतिअनुसारकै नतिजा आएको एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले बताएका छन्। पहिलो लेगमा १–० ले पछिपरेको लिभरपुल ४३औं मिनेटमा जर्जिनो विज्नाल्डमको गोलबाट खेल समग्रमा १–१ को बराबरीमा ल्याउन सफल भएको थियो।

निर्धारित समय १–१ को बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयको चौथो मिनेटमा रोबेर्टोे फिर्मिनोले बललाई जाली चुमाएसँगै लिभरपुल घरेलु मैदानमा २–१ को जितका साथ अन्तिम आठ प्रवेशको संघारमा थियो। तर लिभरपुलको खुसी लामो समय टिक्न सकेन। त्यसको तीन मिनेटपछि नै वैकल्पिक खेलाडी मार्कुस लोरेन्टोले एट्लेटिकोका लागि बराबरी गोल गरेपछि खेल थप रोमाञ्चक बन्यो। १ सय ५औं मिनेटमा लोरेन्टोले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्तिम मिनेटमा अल्भारो मोराटाले गरेको गोलबाट एट्लेटिकोले ३–२ को  नतिजाका साथ लिभरपुललाई स्तब्ध बनायो।

यस्तै च्याम्पियन्स लिगअन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले बोरुसिया डर्टमन्डविरुद्ध दोस्रो लेगमा पुनरागमन गर्दा समग्रमा ३–२ को नतिजाका साथ अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो। पिएसजीले पहिलो लेगमा २–१ ले पछिपरेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमन्डलाई दोस्रो लेगमा २–० ले पराजित गर्‍यो। त्यससँगै पिएसजीले डर्टमन्डलाई समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्‍यो।

दोस्रो लेगको निर्धारित समयमा लिभरपुल र एट्लेटिको १–१ को बराबरीमा रोकिएपछि ३० मिनेटको समय थप गरिएको थियो। तर, थप समयमा लिभरपुलले एक गोल फर्काए पनि दुई गोल बेहारेपछि यस सिजनको च्याम्पियन्स लिग यात्रा टुङ्गायो।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App