२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ह्योल्मोे स्वागत, सत्कारमा रमाइन मिस वल्र्ड

तस्बिर : ध्रव/नागरिक

हेलम्बु (सिन्धुपाल्चोक)- नेपाल भ्रमणमा रहेकी यस वर्षकी मिस वल्र्ड टोनी एन सिंह शुक्रबार सुन्दर पर्यटकीय गाउँ हेलम्बु आइपुगिन् । मिस नेपाल २०१८ र २०१९ का विजेता श्रृंखला खतिवडा र अनुष्का श्रेष्ठको साथमा उनी करिब एक घण्टा ह्योल्मो स्वागत, सत्कार र स्थानीय खानाका परिकारको स्वादमा रमाइन् ।

मिस नेपाल श्रेष्ठले हेलम्बु गाउँपालिका–६, इचोक सुर्सिङ गाउँमा सञ्चालन गरिरहेको ब्यूटी विथ द प्रर्पोज परियोजनाको अवलोकन गर्न गर्न मिस वल्र्ड सिंह यहाँ आइपुगेकी थिइन् । हेलिकप्टरमार्फत मिस वल्र्ड आयोजना गर्ने संस्थाकी अध्यक्ष जुलिया मोर्लेसहित आएकी उनलाई हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र स्थानीय ह्योल्मो समुदायले परम्परासाथ भव्य स्वागत र तथा सम्मान गरे ।

हेलम्बु गाउँपालिकाले इचोककै घोप्टेघ्याङबाट निर्माण सुरु गरेको हिमालयन ग्रेटवालको उनले अवलोकन गरिन् । गाउँपालिकालाई फन्को मार्ने गरी निर्माण सुरु गरिएको ग्रेटवाल देख्दा मिस वल्र्ड सिंह रोमाञ्चक देखिइन्थिन् । घोप्टेघ्याङबाटै हेलिकप्ट चढेर उनी नजिकैको सुर्सिङ गाउँमा मिस नेपाल श्रेष्ठद्धारा सञ्चालित परियोजना अवलोकन गर्न पुगिन् । श्रेष्ठको परियोजनाले यो गाउँमा शिक्षा, स्वास्थ्य र स्थानीयको आयआर्जनको क्षेत्रमा काम गरिरहेको छ।

बेलायतको लण्डनमा भएको मिस वल्र्डको टप १२ मा पुगेकी मिस नेपाल श्रेष्ठले ब्यूटी विथ प्रपोज र मल्डिमिडिया अवार्ड जितेकी थिइन् । सुर्सिङ गाउँमै सञ्चालन गरेको परियोजनाको निम्ति उनले ब्यूटी प्रपोज अवार्ड जितेकी थिइन् । मिस वल्र्ड सिंहले मिस नेपाल श्रेष्ठको परियोजनाले सहयोग गर्दै आएको महाँकालेश्वरी आधारभूत विद्यालयको अवलोकन गरिन् । परियोजनाले यो विद्यालयलाई तीन जना शिक्षक सहयोग गरेको छ ।

स्थानीय बालबालिकाको शिक्षालाई जोड्दै सञ्चालित आयआर्जन कार्यक्रम अवलोकनसमेत सिंहले गरिन् । परियोजनाले ४० घरपरिवारमा धुप बनाउने र गलैँचा तान र कच्चा पदार्थमा सहयोग गर्दै आएको छ । परियोजनाले अब घरवास (होमस्टे) कार्यक्रममा हात हाल्दै छ । ‘यहाँका बालबालिकामा विद्यालय छोड्ने दर ९० प्रतिशत छ । त्यसलाई रोक्न परियोजनाले शिक्षा र उनीहरुका अभिभावकमा आयआर्जन कार्यक्रममा काम गर्दै आएको छ,’ परियोजनाका कोअर्डिनेटर मिङमार तामाङले भने ।

मिस वल्र्ड सिंहले स्थानीयलाई नमस्कारको आदर गरिन् । बालबालिकाका गाला सुम्सुम्याउँदै उनले हात मिलाइन् । उनले स्थानीयलाई उमेरअनुसार आदर प्रकट गर्दा उनीहरु खुसी देखिन्थे । सुर्सिङमा स्थानीय महिलासँग भेट गर्दै उनले परियोजनाले दिइरहेको लाभबारे जानकारी लिइन् । भूकम्पपछि स्थानीयले बनाएको अस्थायी टहरोमा बसेर मिस वल्र्ड सिंहले आलु, साग, सिन्कीको अचार, पिठोको रोटी खाप्से लगायत ह्योल्मो खानाका परिकारको स्वाद लिइन् । उनले थोरै मकैको ढिँडोसमेत चाख्न भ्याइन् ।

मिठो मानेर मिस वल्र्ड सिंहले ह्योल्मो परिकार चाखेकी थिइन् । ‘निकै सुन्दर ठाउँ रहेछ । गाउँ, ठाउँ देख्दा एक्साइटेड भएको छु,’ फर्कँनुअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन् । मिस वल्र्डको ताज नै पहिरिएर उनी आएकी थिइन् । सिंहसहित उनको टोलीलाई तीनओटा हेलिकप्टरको व्यवस्था गरिएको थियो । हेलम्बुपछि उनी अर्को परियोजना हेर्न मकवानपुरतर्फ लागिन् । त्यहाँ पूर्व मिस नेपाल खतिवडाले यस्तै परियोजना सञ्चालन गरिरहेकी छिन् । संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्वीकार्दै मिस वल्र्ड सिंहसहितको टोली तीन दिने नेपाल भ्रमणमा बिहीबार काठमाडौंँ आइपुगेको थियो ।
 

प्रकाशित: २३ फाल्गुन २०७६ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App