२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपा र समाजवादीबीच एकता प्रक्रिया फेरि सुरु

काठमाडाैं – राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया फेरि सुरु भएको छ। समाजवादी सरकारबाट बाहिरिएपछि दुई पार्टीबीच एकीकरण प्रक्रिया सहज बनेको राजपाका नेताको भनाइ छ। राजप्रपा स्रोतका अनुसार राजपाका नेताहरू अहिले संघीय सरकारमा जानुभन्दा समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिएका छन्। यसअघि सरकारमा जाने कि समाजवादीसँग एकीकरण प्रक्रिया सुरु गर्ने भन्ने विषयमा दुई धारमा बाँडिएका नेताहरू अब एकीकरण प्रक्रियालाई महत्व दिनुपर्ने लाइनमा उभिएका छन्।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले केही दिनदेखि पार्टी एकीकरणका लागि समाजवादीसँग अनौपचारिक वार्ता भइरहेको बताउँदै होलीपछि औपचारिक वार्ता सुरु हुने बताए। ‘केही मुद्दामा हामी सहमतिनजिक आएका छाैं र केही मुद्दामा सहमति हुन बाँकी छ,’ महतोले भने, ‘होलीपछि औपचारिक वार्ता हुनेछ।’ अहिलेसम्म भएका अनौपचारिक वार्ता सकारात्मक भएको उनले दाबी गरे।

केही दिनमै औपचारिक वार्ता: महतो,
एकता गर्न तयार छौ: यादव

अनौपचारिक वार्तामा पार्टीको समाजवादी जनता पार्टी, चुनाव चिह्न छाता र झण्डा अहिलेको समाजवादी पार्टीको प्रयोग गर्ने विषयमा करिब करिब सहमति भएको राजपाका एक नेताले बताए। ती नेताका अनुसार अब मिल्न बाँकी विषय दुई पार्टीका शीर्ष नेताको व्यवस्थापन र संगठनात्मक संरचनाको विषयमा मात्र बाँकी छ। राजपा महन्थ ठाकुर एकीकृत पार्टीको पहिलो अध्यक्ष र दोस्रो अध्यक्ष बाबुराम भट्टराई हुनुपर्ने अडानमा छ। समाजवादीका नेताहरू भने महन्थ ठाकुरलाई पहिलो अध्यक्ष स्वीकार गर्न तयार छन। ठाकुर, भट्टराईपछि मयार्दाक्रममा यादवलाई तेस्रो स्थानमा राख्नुपर्ने समाजवादी पार्टीका नेताको अडान छ। राजपाका नेताहरू भने एकीकृत पार्टीमा जनजातिको प्रतिनिधित्व देखाउन अशोक राईलाई अध्यक्षमण्डलको तेस्रो स्थानमा राख्नुपर्ने अडानमा छन्।

समाजवादी स्रोतका अनुसार राजपासँग एकीकरण गर्न समाजवादीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव आतुर देखिएका छन्। यादवले राजपासँग एकीकरण गर्न समाजवादी पार्टी तयार भएको बताए। उनले भने, ‘राजपासँग एकीकरण गर्न हामी तयार छौं। उहाँहरू(राजपाका नेताहरू)ले एकीकरण गर्ने निर्णय गरेपछि दुइ पार्टीबीच एकीकरण हुनेछ।’ आफू काठमाडौं फर्केपछि औपचारिक वार्ता हुने उनले जनाए।

चैत ६ सम्म राजपा अध्यक्षमण्डलको संयोजकमा महेन्द्र यादव छन्। यादव सुरुदेखि नै समाजवादीसँगको एकीकरण प्रक्रियाको पक्षमा छन्। उनले आफंै पनि समाजवादीका अध्यक्ष यादवसँग पटकपटक अनौपचारिक वार्ता गरेका छन्। केही दिनअघि काठमाडौंमा गरिएको एक सार्वजनिक कार्यक्रममा उनले राजपासँग एकता गर्नुको अर्को विकल्प नै नभएको बताएका थिए।

राजपा र समाजवादीबीच प्रतिनिधिसभाको चुनाव सकिएको केही महिनापछि एकीकरण प्रक्रिया सुरु गरिएको थियो। अनौपचारिक कुराकानी भइरहेको बेला समाजवादी सरकारमा गयो। तर राजपाका नेताहरू भने समाजवादी सरकारबाट बाहिरिएपछि मात्र औपचािरक वार्ता हुने भन्दै एकीकरणका लागि सर्त राखेका थिए। तर समाजवादी सरकारबाट बाहिरिन तयार भएन। त्यसपछि दुई पार्टीबीचको एकीकरण प्रक्रिया अघि बढ्न सकेन। पुस ८ मा समाजवादी सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिएपछि समाजवादीले राजपासँग एकीकरण गर्न प्रयास ग¥यो तर राजपाका नेताहरू समाजवादीसँग एकीकरण गर्ने कि संघीय सररकारमा जाने भन्ने विषयमा दुई धारमा बाँडिए। तर पछिल्लो समय राजपाका बहुमत नेताहरू राजपासँग एकीकरणको पक्षमा उभिएका छन्। राजपाका दोश्रा तहका ७ जना पदाधिकारीहरूले केही दिनअघि पार्टी नेतृत्वलाई ध्यानाकर्षण चिठी लेखी समाजवादीसँग एकीकरण प्रक्रिया अघि बढाउन दबाब दिएका थिए। यसैगरी राजपाका तीन जिल्ला अध्यक्षले पनि संयुक्त विज्ञप्ति निकाली राजपा नेतृत्वलाई सरकारमा नगई समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिन दबाब दिएका थिए। ‘यसपछि समाजवादीसँग एकीकरणका लागि पार्टीभित्र दबाब बढ्दै गयो,’ स्रोतले भन्यो, ‘यसबीचमा राजपाका ६ मध्ये ४ अध्यक्ष भारत भ्रमणमा गए। भारत भ्रमण गएका राजपाका नेताहरू केही दिनअघि स्वदेश फर्केका छन्।

स्रोतका अनुसार समाजवादीसँग एकीकरण प्रक्रिया अघि बढाउन राजपाले महाधिवेशन प्रक्रिया अघि बढाएको छैन। यसअघि राजपाका महाधिवेशनको तिथि तीनपटक घोषणा भइसकेको छ। तर पनि महाधिवेशन हुन सकेको छैन। राजपाका नेताहरू अब महाधिवेशन प्रक्रिया रोकेर समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिन थालेका छन्। स्रोतका अनुसार आगामी चैत महिनाभित्र दुई पार्टीबीच एकीकरण प्रक्रिया टुंगो लगाउने तयारीमा दुवै पार्टीका नेताले प्रयास गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०७६ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App