२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी सेमिफाइनलमा

हेटौंडा- नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ र दीप लामाको गोलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सिएमजी संकटा क्लबमाथि २–० को जित निकाल्दै टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

सहिद स्मारक 'ए' डिभिजन लिगका दुई प्रतिद्वन्द्वीबीचको खेलमा नवयुगले गोल गरेपछि आर्मी मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा अघि बढेको थियो। सुमन अर्यालको फ्रिकिकमा नवयुगले हेड गोल गरेका थिए। नवयुगको हेडलाई संकटाका गोलरक्षक विशाल श्रेष्ठले रोक्न सकेनन्।

यसैगरी आर्मीको अग्रता दोब्बर बनाउन पनि नवयुगले योगदान गरेका थिए। हेटौंडास्थित वन विज्ञान खेल मैदानमा नवयुगले दिएको पास सदुपयोग गर्दै दीपले गोल गरेका थिए। दीपले ७२ औं मिनेटमा गोल गरेका थिए। दीपको प्रहार गोलरक्षक विशालले डाइभ गर्दै रोक्ने प्रयास गरेका थिए। तर विशालले दीपको प्रहार ठम्याउन सकेनन्। आर्मीका मिडफिल्डर सन्तोष तामाङले एएफयु म्यान अफ दि म्याचको ट्रफीसहित ३ हजार रुपैयाँ प्राप्त गरे।

जितपछि पनि आर्मीका प्रशिक्षक नवीन न्यौपाने टोलीको प्रदर्शनमा पूर्ण रुपमा सन्तुष्ट थिएनन्। टोलीले आफ्नै क्षमता अनुसार स्वाभाविक प्रदर्शन गर्न नसकेको उनको गुनासो थियो। लगातार प्रतियोगितामा सहभागी भैरहेकाले खेलाडीको प्रदर्शनमा असर गरेको उनले बताए। नवीनले भने, ‘लगातार खेल्नु परेकाले खेलाडीले आराम पाएका छैनन्। यसले खेल्न कठिन भएको हो। यस्तो अवस्थामा उनीहरूले शतप्रतिसत प्रदर्शन गर्न सक्दैनन्।’

मोफसलमा हुने प्रतियोगिताको खेल तालिकामा केही सुधार गर्नुपर्ने नवीनले सुझाए। मोफसलमा हुने प्रतियोगिताका बीचमा कम्तीमा साता दिनको अन्तर भए खेलाडीलाई आराम गर्ने समय पाउने उनको भनाइ थियो।

संकटाका प्रशिक्षक शैलेश कर्माचार्यले पनि आरामका लागि खेलाडीलाई समय अभाव भएको गुनासो पोखे। बुधबारको हारमा आराम गर्न नपाउनु नै मुख्य कारण भएको उनको भनाइ थियो।

संकटा मंगलबार काँकडभिट्टा गोल्डकप खेलेर बुधबार हेटौंडा आइपुगेको थियो। रातभर सडक यात्रा गरेर हेटौंडा पुग्दा थाकेका खेलाडी खेल्न मैदान उत्रिनु परेको कर्माचार्यले बताए। उनले भने, 'रातारात आएर खेल्नु पर्‍यो। यसले सोचेअनुसार खेल्न सकिएन। खेलाडीले सक्दो राम्रो खेल्ने कोसिस गरेका हुन्। खासमा हाम्रो खेलाडीको स्तर आज खेलेभन्दा माथि छ।'

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरिरहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ।

प्रकाशित: २१ पुस २०७३ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App