२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बिजुली उत्पादन २५ प्रतिशत बढ्यो, पोखरा लोडसेडिङमुक्त

पोखराको रात्रीकालीन दृश्य। फाइल तस्विर

काठमाडौं—सञ्चालनमा रहेका आयोजनाबाटै २५ प्रतिशत बिजुली उत्पादन बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाबाट उत्पादित बिजुली अधिकतम उपयोग गर्न सकेका कारण लोडसेडिङ कम गर्न सकिएको प्राधिकरणको भनाइ छ।

आयोजनाबाट उत्पादित बिजुलीको उचित व्यवस्थापन गरेकै कारण काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत आयोजनाबाट उत्पादन हुन सक्नेसम्मको बिजुली उत्पादन गरेका छौं,’ उनले भने, ‘उपत्यकाबाहिर पोखरामा पनि लोडसेडिङ हटाउन सफल भएका छौं ।’

‘विद्युत छैन भनेर सानातिना काममा मात्रै अल्झन छोड्नुस,’ उनले भने, अब ठूला उद्योग ल्याउने तयारी गर्नुस, यो वर्ष नै नसके पनि अर्को वर्षदेखि तपाईंहरुले मागेजति बिजुली दिन सकिन्छ, त्यसको तयारीमा लाग्नुस्।’

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

भारतबाट आएको थप ४० मेगावाटले पूर्वाञ्चलमा पनि बढी बिजुली खपत हुने समय (पिक आवर) मा लोडसेडिङ हटाउन सफल भएको उनले बताए। ‘देशभरबाट लोडसेडिङ सधैको लागि अन्त्य गर्न योजनामा छौं,’ उनले भने, ‘कुशलतापूर्वक व्यवस्थापन गरेकै कारण लोडसेडिङ घटाउन सफल भएका हौं ।’

देशभरबाट सधैंको लागि लोडसेडिङ अन्त्य गर्न आपूर्ति प्रणाली चुस्त बनाउनुपर्ने आवश्यकता देखिएकोले १० हजार नयाँ ट्रान्सफरमर थप्ने योजना अगाडि बढाइएको उनले जानकारी दिए । हाल प्राधिकरणसँग २३ हजार ट्रान्सफरमर छन् ।

‘अबको चुनौती भनेको बिजुलीको माग बढाउनु हो,’ उनले भने ‘ट्रान्सफरमर नथपी माग बढाउन सकिदैन, यसैले ट्रान्सफरमर थप्ने योजना बनाएका छौं,’ काठमाडौं उपत्यकाको विद्युत माग २ हजार मेगावाट बनाउन आफू लागिपरेको उनको भनाइ छ । अहिले उपत्यकाको दैनिक माग ३०० मेगावाट हाराहारी छ ।

उद्योगधन्दा बढाउनुपर्ने भएकोले नेपालमा जति पनि बिजुली खपत हुने भन्दै उनले ढुक्क भएर उत्पादन वृद्धिमा लाग्न उत्पादकलाई आग्रह पनि गरे। ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत अभाव छ भन्ने चिन्ता मनमा बोकेर सानोतिनो काममा मात्रै लाग्ने बानी त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

‘विद्युत छैन भनेर सानातिना काममा मात्रै अल्झन छोड्नुस,’ उनले भने, अब ठूला उद्योग ल्याउने तयारी गर्नुस, यो वर्ष नै नसके पनि अर्को वर्षदेखि तपाईंहरुले मागेजति बिजुली दिन सकिन्छ, त्यसको तयारीमा लाग्नुस्।’

तत्काल केही बिजुली दिन सक्ने र अर्को वर्षदेखि उद्योगले मागे जति दिने पनि उनले जानकारी दिए । अहिले पनि उद्योगलाई चाहिने जति बिजुली दिन सकिने तर अहिले अर्को देशबाट किनेर दिनुपर्ने तथा आगामी वर्षदेखि स्वदेशी उत्पादनबाटै माग अनुसारको बिजुली दिन सकिने उनले प्रस्ट पारे।

यस्तै निजी विद्युत उत्पादकसँग ३ हजार मेगावाट बिजुली खरिदको सम्झौता (पिपिए) भइसकेको जानकारी दिँदै उनले त्यस्ता उत्पादकलाई थप सुविधा र सहुलियत दिएर चाँडो उत्पादन गरिसक्न प्रोत्साहित गरिने बताए।

जलाशययुक्त र अत्याधिक माग हुने समय (पिकिङ आवर) मा विद्युत उत्पादन गर्ने उत्पादकसँग नयाँ दरमा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पनि मन्त्री शर्माले जानकारी दिए।

यस्तै निजी क्षेत्रका जलविद्युत उत्पादकलाई प्रतिमेगावाट ५० लाख रुपैयाँसम्मको भ्याट फिर्ता दिने निर्णय आफूले गरिसकेको भन्दै उनले ‘पोस्टेड रेट’ दिने सम्बन्धमा पनि निर्णय भइसकेको बताए। ‘मैले तपाईंहरुको पक्षमा धमाधम निर्णय गरेको छु, त्यसको प्रतिफल तपाईंहरुले प्राप्त गरिनसकेको पनि हुन सक्छ,’ उनले भने, ‘मैले गरेका निर्णयको बोधार्थ चाहिन्छ भने दिन तयार छु ।’

अहिले लोडसेडिङ अन्त्य हुनुको पछाडि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आफ्नो व्यक्तिगत मेहनत बढी परेको मन्त्री शर्माले दाबी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले गत वर्ष १०–१२ घन्टा लोडसेडिङ हुने गरेकोमा अहिले त्यो घटेर ४ घन्टामा सीमित भएको बताए। ‘ऊर्जामन्त्री र प्राधिकरणका एमडीले चमत्कार गरे,’ उनले भने, ‘यस्तो कार्यले सबैमा उत्साह थपेको छ।’

महासंघको ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले ४५६ मेगावाट क्षमताको तामाकोसी आयोजनाबाट विद्युत उत्पादन भएपछि वर्षामा बढी हुने बताए। ‘तामाकोसी आयोजनाबाट विद्युत आएपछि खेर जाने सम्भावना छ,’ उनले भने, ‘खेर जाने बिजुलीको व्यवस्थापन गर्नुपर्छ।’

प्रकाशित: २० पुस २०७३ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App