२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

झुट नबोल्न लेखा समितिको चेतावनी

काठमाडौं- सांसदहरुले सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धमा झुट्टा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ स्थापनाका सम्बन्धमा संञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसंगको छलफलका क्रममा सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिलाई झुटो विवरण दिएर उम्कने गल्ती नगर्न संचार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीलाई चेतावनी दिएका हुन्। सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको प्रस्ताव आव्हान तथा त्यसका प्राविधिक पक्षका सम्बन्धमा मन्त्रालयका सचिव दिपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको जवाफ गोलमोटल र स्पष्ट नभएपछि सांसदहरुले गलत जवाफ नदिन सचेत गराएका हुन्।

सांसद विरोध खतिवडाले फ्रान्स र जर्मनीमा मन्त्रालयका तर्फबाट पटक पटक भएको भ्रमणको खर्च कसले व्यहोर गरेको भनी गरेको प्रश्नमा मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले सबै नेपाल सरकारको तर्फबाट भएको जवाफ दिएका थिए। पछि सांसद खतिवडाले 'सम्बन्धित कम्पनिले टिकट खर्च व्यहोरेको फेला पर्यो भने’ के हुन्छ भनी प्रश्न गरेपछि सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले “जर्मनी जाँदा नेपाल सरकारले खर्च आफै व्यहोरेको र फ्रान्समा जाँदा आफ्नो टिकट फ्रान्स सरकारले व्यहोरेको बताएका थिए।

पौडेलले आफ्नो भनाई छिनमै बदलेपछि सांसदहरुले सबै भ्रमणको सही विवरण बुझाउन सचेत गराएका थिए। सांसद मिनेन्द्र रिजालले चेतावनी दिदै भने “ तपाईले यहाँ बोल्या कुरा झुटा भयो, प्रमाणभन्दा बाहिर गयो भने संसदको विशेषाधिकार आकर्षित हुन्छ। संसदको विशेषधिकार आकर्षित भयो र संसदको अपहेलना हुने भो भने दण्ड सँजाय, कैद सम्म गर्न सकिने हुन्छ। त्यसैले म सचेत तुल्याउन चाहन्छु। यो विषय गम्भीर हो। गम्भीर अनियमितता भएको छ भन्ने आमधारणा छ। हाम्लाई पनि शंका लागेको छ। प्रश्न गर्ने क्रम सकिएको छैन। त्यसैले जवाफ दिने बेलामा होस पुर्याएर कुरा गर्दैछु, यसलाई मैले मिस लिड गर्नुहुदैन झुटा गर्नुहुदैन प्रमाण भन्दा बाहिर गएर बोल्नु हुदैन भन्ने कुरा ध्यानमा राखेर जवाफ दिनुहोला। आउने दिनमा पनि सो सोचेर जवाफ तयार पारेर आउनुहोला।”

सांसदहरु धर्मशिला चापागाई, राजेन्द्र प्रसाद केसी लगायतले सरकारी दुवै कम्पनी पूर्णरुपमा सरकारी स्वामित्वको भनिएको तर वास्तविकता त्यस्तो नभएको झुटा विवरण पेश नगर्न सचेत गराएका थिए। सांसद इस्तियाक राईले भने “मैले पनि मन्त्रालय चलाएकै हो। कुनै पनि इन्जिनियरले दररेट भन्दा फरक ल्याउँछ भने किन र के का लागि ल्याएको भनी प्रष्ट हामीले ब्रिफिङ लिएर मात्रै प्रक्रिया अगाडि बढाउँछौ तसर्थ तपाई पन्छिन मिल्दैन।” सांसद इस्तियाक राईले 'भवन निर्माणका लागि प्रतिवर्गमिटर ६ हजर खर्च आउँछ तर ३४ हजार लागत राखिएको छ किन ? कि बमले हान्दा पनि नफुट्ने भवन हो’ भनी प्रश्न गर्दा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले इन्जिनियरलाई सोध्नुपर्ने आफुलाई थाहा नभएको जवाफ दिएपछि सांसदहरु आक्रोशित बनेका थिए। पदिय रुपमा सबै कामको जवाफदेही हुनुको साथै जिम्मेवारी लिनुपर्ने भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै निर्देशक पौडेललाई सचेत तुल्याएका थिए।

प्रकाशित: ८ फाल्गुन २०७६ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App