२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक सय आठ जनाको सामूहिक व्रतबन्ध

सामूहिक व्रतबन्धमा सहभागि बटुकहरू । तस्बिर ः नागरिक

नुवाकोट - नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्षको श्रीपञ्चमीमा बटुकहरूको सामूहिक व्रतबन्ध गराउँदै आएको छ। विद्यालयको आर्थिक स्रोत हिन्दू धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि २०५६ सालदेखि सामूहिक व्रतबन्ध गराउँदै आएको हो। विद्यालयले आयोजना गरेको सामूहिक व्रतबन्धमा यस वर्ष एक सय आठ जना बटुक सहभागी भएको सहायक प्रधानाध्यापक जानुकादेवी दाहालले जानकारी दिइन्।

‘विद्यालयले प्रत्येक बटुकबाट चार हजार रुपैयाँ संकलन गर्ने गरेको छ। पूर्वांग, व्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकका लागिसमेत खानाको व्यवस्था विद्यालयले गर्ने गरेको छ। बटुकले लगाउने धोती, टोपी र गञ्जी विद्यालयले उपलब्ध गराउँदै आएको सप्रअ दाहालले बताइन्। ‘आर्थिक अवस्था कमजोर भएका परिवारले चलनअनुसार सन्तानको कर्म चलाउन सकिरहेका हुँदैनन्,’ उनले भनिन्, ‘उनीहरूलाई नै ध्यान दिएर सामूहिक व्रतबन्ध गराउँदै आएका छौं।’

यो वर्ष बटुकसँग लिएको शुल्कबाट चार लाख ३२ हजार रुपैयाँ संकलन भएको विद्यालयले जानकारी दिएको छ। भेटीबाट पनि केही रकम संकलन भएको बताइएको छ। खर्च कटाएर बचेको रकमले विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए। ‘विद्यालयले आयस्रोत बढाउन २०५६ सालदेखि सुरु गरेको सामूहिक व्रतबन्ध अभियानको रूपमा प्रत्येक वर्ष सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘समाजमा बढ्दै गएको बिक्रीतिलाई नियन्त्रण गर्न र हिन्दू परम्पराको रक्षा गर्नसमेत यसले सहयोग गरेको छ।’

जिल्लामा संस्कृत पढाई हुने यो एकमात्र विद्यालय हो। विद्यार्थीलाई धर्म र संस्कृतिका पाठ सिकाइन्छ। विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन पनि सामूहिक व्रतबन्धले सहयोग गरेको विव्यस अध्यक्ष डंगोलले बताए। यसमा सबै पक्षको उत्तिकै सहयोग हुने गरेको उनी बताउँछन्। व्रतबन्धमा ब्रामहण, क्षेत्री, नेवार, राई, कुमाल, दलितलगायत समुदायका बटुकको सहभागिता रहने गरेको छ। आफूहरूले सञ्चालन गर्दै आएको व्रतबन्धले जातीय विभेद्भाव हटाउँदै गएको विव्यस अध्यक्ष डंगोलको दावी छ।

विद्यालयले सामूहिक रूपमा आयोजना गरेको व्रतबन्धबाट संस्कृतिको नाममा हुने खर्चसमेत घट्दै गएको अभिभावकको भनाइ छ। यस्तै व्रतबन्धन घरमा गर्दा अनेकथरीको बन्दोबस्तीले खर्च धेरै हुने गरेपनि सामूहिक व्रतबन्धले त्यसलाई हटाइदिएको स्थानीय प्रतिमा अधिकारीले बताइन्। सामूहिक व्रतबन्धको स्थानीय अभिभावकमा मात्रै नभएर छिमेकी जिल्लामासमेत बढ्दै गएको छ। सामूहिक व्रतबन्ध गर्न यो वर्ष नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, गोर्खा, काठमाडौंलगायतका जिल्लाबाट बटुक यहाँ सहभागी भएको विद्यालयले जानकारी दिएको छ।

 

प्रकाशित: १७ माघ २०७६ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App