२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसीसीको विरोध गर्नेले कुनै पनि अनुदान वा ऋण लिनुहुन्नः नेता पाण्डे

पत्रकार सम्मेलनमा सहभागि हुँदै नेता पाण्डे लगायत।

गोरखा - राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अमेरिकी सहयोग एमसीसी नेपालका लागि अति आवस्यक र बिकासमा फाइदा पुग्ने योजना भएको बताएका छन्। ‘एमसीसीको अनावस्यक बिरोध गर्ने नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुले नेपाललाई कुनै देश र संस्थाको अनुदान, ऋण चाँहिदैन भनेर घोषणा गर्न सक्नुपर्छ’ प्रेस युनियन गोरखाले सोमवार सदरमुकाममा गरेको पत्रकार भेटघाटमा उनले भने ‘अन्यथा एमसीसीको बिरोध गर्नुको अर्थ छैन।’

अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारवाद को नारामा राजनीति गरेका दलका केही नेतालाई अहिले पनि ती विषयको ह्याङओभर रहेकाले अनावस्यक टिप्पणी गर्दै हिँडेको आरोप उनले लगाए। एमसीसीले दिने अनुदान लिने सन्र्दभमा नेपालमा अहिले भइरहेको अनावस्यक ‘प्रपोगाण्डा’ ले कुनै पनि बिकसित देशले अनुदान र ऋण दिनु अघि सोच्ने अवस्था सिर्जना हुन सक्ने र त्यसको असर नेपालको बिकास निर्माणमा पर्ने नेता पाण्डेले बताए। ‘एमसीसी लिइएन भने नेपालप्रति अन्तराष्ट्रिय समुदायका सहयोग र अनुदान २० वर्ष पर धकेलिन्छ’ उनले भने ‘अध्ययन बिना एमसीसीको नाकारात्म टिप्पणी भएको छ, कुनैपनि बुँदाले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्दैन।’ विसं २०६६ साल यताका सबै सरकार प्रमुखले एमसीसी नेपालमा भित्र्याउन कुनै न कुनै ढंगले सहयोग गरिरहेको उनले बताए।

प्रतिनिधि सभामा उपसभामुखका लागि नेपाली कांग्रेसले नेकपासँग भिख नमाग्ने बताउँदै उनले प्रमुख प्रतिपक्ष दललाई दिँदा संसदको गरिमा उच्च रहने बताए। महाधिवेशनको संघारमा रहेका कारण पार्टी भित्र विवाद देखिएको बताउँदै उनले भने ‘अहिले हामी आफु आफु बिच प्रतिप्रर्धा गर्दैछौँ, महाधिवेशनपछि बिवाद सबै हल हुन्छ।’ राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलको नेता भएर दुई वर्ष रहँदा राष्ट्रियताका मुद्धामा सत्तापक्ष र प्रतिपक्ष एक भएर आवाज उठाएको उनले बताए।

प्रकाशित: १३ माघ २०७६ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App