२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पदयात्री खोज्न हिउँ खोतल्दै सेना

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा हराएका पदयात्रीको खोजीमा जुटेको सेना हिउँ पन्छाउँदै। तस्बिर सौजन्य : नेपाली सेना

पोखरा – अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्न सेनाको टोलीले हिउँ खोतल्दै खोजी सुरु गरेको छ। खनीखोस्री गरे पनि बाक्लो हिउँ जमेकाले बेपत्ता व्यक्ति भेट्टाउन भने सहज नभएको सेनाले बताएको छ।

सेनाको पोखरास्थित पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारीका अनुसार घाम लागेकाले टोलीले बुधबार दिनभर पदमार्ग क्षेत्रमा खनीखोस्री गरेको थियो। ‘अहिले पनि बेलाबेलामा हिउँको थुप्रो माथिबाट खसिरहेको छ। त्यसैले सचेत भएरै खोज्नुपर्छ,’ भण्डारीले भने, ‘हामीसँग त्यहाँ उपलब्ध सामग्री प्रयोग गरेर बेपत्ता व्यक्तिको खोजी गरे पनि सहज भने छैन।’ हिउँ खन्ने उपकरणसहित त्यस क्षेत्रमा सेना खटिएको उनले बताए।

हिमपहिरोमा परेर हराएका पदयात्रीको खोजीका लागि सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थल पुगेको थियो। हिमपहिरोपछि खोजीका लागि सुरक्षा निकायबाट पुगेको यो नै पहिलो टोली हो। हिमपातमा परेर चारजना कोरियाली र तीनजना नेपालीसहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्। मौसम अनुकूल नहुँदा त्यस ठाउँमा सुरक्षाकर्मीसमेत जान सकेका थिएनन्। मंगलबार मात्र सेनाका कर्णेल अमित गुरुङको कमान्डमा नौजना सैनिक पहिरो स्थलमा परिचालन भएको भण्डारीले बताए।

सेनाले त्यहाँ रहेका स्थानीयसँग समन्वय गर्दै खोजीमा जुटेको उनले बताए। ‘ठूलो आकारको हेलिकोप्टर अवतरण गर्न नसक्ने अवस्था आएपछि सानो हेलिकोप्टरमा टिम पठाएका हौं। त्यस क्षेत्रमा बसोबासका लागि समेत पर्याप्त ठाउँ नभएकाले थप सुरक्षाकर्मी पठाउन सकिने अवस्था छैन,’ उनले भने, ‘सुरक्षित तवरले खटिएको टोलीले त्यस क्षेत्रमा स्थानीय र हराएका पदयात्रीका आफन्तसँग मिलेर खोजी गरिरहेको छ। सम्भव भएसम्मको प्रयास सेनाले गरिरहेको छ।’

उनका अनुसार त्यहाँको मौसम अहिले पनि खराब छ। हिउँ जमेकै ठाउँमा खनीखोस्री गरेर हेलिकोप्टर पठाएर खोजीका लागि टोली उतारेको पृतनापति भण्डारीले बताए। समुन्द्री सतहदेखि करिब ३२ सय मिटर उचाइमा रहेर उद्धार र राहतमा जुट्नु चुनौतीपूर्ण रहेको उनले जानकारी दिए।

पदयात्रा व्यवसायीले पनि हराएका पर्यटक खोज्न थप पहल गर्नका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेल त्यस क्षेत्रमा अरू पनि पदयात्री हराएको हुनसक्ने आशंका रहेको भन्दै खोजीमा पहल गर्न आग्रह गर्दै बुधबार कास्की प्रशासन पुगेका थिए। कास्कीका प्रजिअ रमेश केसीलाई भेटेर हराएका पदयात्रीको खोजीका लागि थप प्रयास गर्न आग्रह गरेको भुजेलले बताए। अध्यक्ष भुजेलका अनुसार हिमपहिरोमा परेर अहिलेसम्म सातजना पदयात्री हराएको भनिए पनि एक्लै गएका अरू पनि पदयात्री परेको हुनसक्ने आशंका छ। ‘अहिले हराएका भनिएका पदयात्री र गाइडको विवरण दुईवटा कम्पनीबाट प्राप्त जानकारीमा आधारित छ। तर, अरू एकल रूपमा गएका पदयात्री पनि त्यहाँ परेका हुनसक्छन्,’ भुजेलले भने, ‘कम्पनीबेगर गएका अरू विदेशी पर्यटकबारे पनि खोजीनिती गर्न आग्रह गरेका छौं।’

टानका विपद् व्यवस्थापन टिमका संयोजक दीपकराज अधिकारीका अनुसार अहिलेसम्म हराएका सातजनाबाहेक अरू पनि पदयात्री परेको हुनसक्ने भएकाले प्रशासनलाई सचेत गराइएको हो। हिमपहिरोको बेला कुहिरो लागेको र ५० मिटरवरपर पनि नदेखिने अवस्था रहेकाले सबै विवरण यकिन हुन नसकेको आशंका गरिएको उनले बताए। व्यक्तिगत रूपमा गएका पर्यटक पनि हिमपहिरोको चपेटामा परेको हुनसक्ने अधिकारीले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग अनुमति लिएपनि एक्लै पनि पदयात्रामा जान सक्ने अवस्था रहेकोले पनि थप पर्यटक परेको आशंका रहेको उनले बताए। ‘हुन त अहिलेसम्म अरू व्यक्ति परेको भनेर विवरण आएको छैन। तर, एक्लै गएका पदयात्री पनि परेका हुनसक्छन् भन्ने आशंका छ,’ उनले भने।

प्रकाशित: ९ माघ २०७६ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App