२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यसरी भयाे सहमति

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो। आइतबार बिहान पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएपछि अपराह्न बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकको निर्णयपछि सापकोटा सभामुख हुने निश्चित भएको छ।

बैठकपछि पार्टीका महासचिव विष्णु पौडेलले सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। संसद्कै कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए। त्यसयता नेकपामा कसलाई सभामुख बनाउने भन्नेबारेमा छलफल चलेको थियो। पार्टीभित्र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्बाङको नाम सभामुखमा प्रस्ताव गरेका थिए। तर अर्का अध्यक्ष दाहालले पार्टी एकीकरण गर्दाको सहमतिअनुसार पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने तर्क गर्दै आएका थिए। आइतबारको सचिवालय बैठकमा सापकोटाविरुद्ध अदालतमा विचाराधीन मुद्दाका विषयमा के हुन्छ भन्ने प्रश्न पनि उठाइएको थियो। तर दाहालले यो विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने जवाफ दिएको स्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले पनि भोलिका दिनमा समस्या नहोस् भन्नेतर्फ आफूहरु दुवैजना सजग रहेको बैठकमा बताए थिए। बैठकमा प्रश्न उठेपछि ओलीले अर्का अध्यक्ष दाहालले समस्या नआउने बताएपछि आफूले स्वीकार गरेको सुनाएको स्रोतले बतायो।

सचिवालय बैठकमा सापकोटाविरुद्ध अदालतमा विचाराधीन मुद्दाका विषयमा के हुन्छ भन्ने प्रश्न पनि उठाइएको थियो। तर दाहालले यो विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने जवाफ दिएको स्रोतको दाबी छ।

सभामुखको उम्मेदवारलाई लिएर विवाद बढेपछि नेकपाभित्र छुट्टाछुट्टै समूहले लबिङ थालेका थिए। पूर्वमाओवादी पक्षले दाहाल निवासमा छुट्टै बैठक बसेर दबाब बढाएको थियो भने ओली सुरुदेखि नै नेम्बाङका पक्षमा थिए। उता उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफ्नो पक्षमा लबिङ गर्न थालेपछि पूर्वमाओवादी खेमा झनै सशंकित भएको थियो।

पूर्वमाओवादी खेमाभित्र सापकोटाका साथै देव गुरुङ, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र ओनसरी घर्ती पनि सभामुखका आकांक्षी थिए। अन्तिम समयमा सापकोटा र भुसालमात्रै देखिएपछि भुसाललाई अन्य ठाउँमा व्यवस्थापन गर्ने सहमति गरेर दाहाल आइतबार बिहान बालुवाटार पुगेका थिए। त्यहाँ दुई अध्यक्षबीच दुई घण्टा छलफल भएको थियो।

बालुवाटारबाट दाहाल सीधै कोटेश्वर
ओलीसँगको छलफल सकिएपछि दाहाल सीधै माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका थिए। उनले ओलीसँगको छलफलबारे नेता नेपाललाई जानकारी गराएका थिए। नेपाल निवासमा करिब २० मिनेट बसेपछि उनी खुमलटार पुगेका थिए। नेपालसहित नेता झलनाथ खनाल सभामुखको विवादमा मौन बसे पनि उनीहरु पूर्वमाओवादीकै पक्षका थिए।

आइतबार विहान ओलीको सरकारी निवास वालुवाटारमा सभामुख आफ्नो पक्षमा पारेर निस्केका दाहाल सिधै नेपाल निवास पुगेका हुन। दुई अध्यक्षवीच वालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो। छलफलको क्रममा वामदेव गौतमको घरमा भएको अनौपचारिक भेटघाट तथा सचिवालय बैठक र पार्टीभित्र देखिएका विषयहरुको बारेमा छलफल भएको स्रोतले जनाएको छ। त्यसैगरी अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरशेन (एमसिसी)बारे पनि छलफल भएको थियो। दुई अध्यक्षसँग भएको सहमति सुनाउन सिधै कोटेश्वर पुगेका स्रोतले जनाएको छ।

सापकोटा र तुम्बाहाङफे वालुवाटारमा
दुई अध्यक्षबीच सापकोटालाई सभामुख बनाउने सहमति बनेपछि सचिवालय बैठक बस्नुअघि नै उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्। ओलीसँग करिब २० मिनेट भेट गरेपछि उनी पुनः सिंहदरबार फर्केकी थिइन्। त्यहाँ उनले सचिवालयको निर्णय आएपछि आफूले के गर्ने भन्ने निर्णय गर्ने निकटस्थहरुलाई बताएकी थिइन्। सचिवालयको बैठकले आफूलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सापकोटा पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

को हुन् सापकोटा
सिन्धुपाल्चोकको कुबिन्डे गाउँमा २०१४ सालमा जन्मेका सापकोटा लामो समयदेखि राजनीतिमा सक्रिय छन्। २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट उनी विजयी भएका थिए। त्यसयता उनी लगातार सांसद छन्। २०७० को संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी विजयी भए। उनी २०६८ मा सूचना तथा सञ्चार मन्त्री र २०७३ मा वन तथा भू–संरक्षण मन्त्री भइसकेका छन्।

प्रकाशित: ६ माघ २०७६ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App