२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रमुख एजेन्डा ‘राजधानी र नाम’

प्रदेशसभा बैठक ।

रुपन्देही- ‘बिजनेश’ अभावका कारण चार महिनासम्म चल्न नसकेको प्रदेश ५ को संसदको हिउँदे अधिवेशन आईतबारदेखि सुरु हुँदैछ। जेठ २ गतेदेखि सुरु भएको बजेट अधिवेशन (चौथौ बैठक) असोज २ गते सकिएको थियो।

नेपालीहरुको ठूला चाडपर्व, दसैँ, तिहार, छठ र नेपाल संवत लगत्तै प्रदेशसभा सञ्चालन गर्ने भनिए पनि सरकारले बिजनेश दिन नसकेका कारण चार महिनासम्म संसद बैठक चलेन। संघीय संसद अवरोध, संघीय सरकारले बनाउनुपर्ने कानुन निर्माणमा ढिलाई, उपनिर्वाचन जस्ता कारण देखाउँदै प्रदेशसभा बैठक सञ्चालनमा ढिलाई भएको हो।

चार महिनाको अवधिमा प्रदेश प्रमुख नै परिवर्तन भएका छन्। तत्तकालिन प्रदेश प्रमुख उमाकान्त झाले बजेट अधिवेशन आह्वान गरेका थिए भने हिउँदे अधिवेशन नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवले गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख यादवले आईतबार (माघ ५) दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन्।

लामो समयसम्म आराम गरेका प्रदेशसभा सदस्यहरु भने हिउँदे अधिवेशनको व्यग्र प्रतिक्षामा छन्। चार महिनासम्म फुर्सदिला भएका सांसदहरुलाई भने प्रदेशसभाले स्वेदश तथा विदेश भ्रमण गराएको थियो। हिउँदे अधिवेशनमा भने चल्ने बिजनेशको अभाव हुन नदिने सरकारका प्रवत्ता एंव भौतीक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए।
सरकारले ६ वटा विधेयक संसद पठाउने गरि तयारी गरेको सरकारका प्रवत्ता मन्त्री चौधरीले बताए। उनका अनुसार हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तह सम्बन्धि, विश्वविद्यालय, लोक सेवा, चलचित्र सम्बन्धि विधेयक पेश हुने छ। संघीय सरकारका कारण कानुन निर्माण हुन नसकेकाले अब भने बाजिएको हदमा संसोधन गर्ने गरेर भएपनि कानुन निर्माणलाई तीव्रता दिएर सदनलाई निरन्तर चल्ने गरि बिजनेश तयार पार्ने उनले बताए। सवारी र प्रहरी सम्बन्धि ऐनको ड्राफ्ट तयार भइरहेको मन्त्री चौधरीले बताए।

प्रदेशसभाको चौथौ अधिवेशनसम्म ४९ वटा विधेयक पारित गरेको छ। लोकसेवा सम्बन्धि विधेयक एक पटक दर्ता भएर पुनः दर्ता भएर पारित भएको थियो। प्रदेशसभामा सुशासन सम्बन्धि बिधेयक भने संसदीय समितिमा छलफलको चरणमा छ। आईतबार आह्वान गरिएको संसद बैठकमा हिउँदे अधिवेशनको शुभकामना हुने प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। संसदमा एजेन्डा तय गर्नका लागि शनिबार बस्ने कार्यपरामर्श समितिको बैठक बस्ने सचिव पुनले बताए।

हिउँदे अधिवेशनले टुग्याउँछ स्थायी राजधानी र नाम
हिउँदे अधिवेशनको पहिलो दिनमै सर्वाधिक चर्चा गरिएको प्रदेशको नाम र स्थायी राजधानीको विषय भने प्रवेश नहुने भएको छ। पहिलो दिनमा मुख्यमन्त्री शंकर पोखरेल र दलगत रुपमा सांसदहरुले शुभकामना सन्देश दिने तयारी भइरहेको छ। तर, हिउँदे अधिवेशनले भने प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने सरकारका प्रवत्ता चौधरीले बताए। उनले केहि दिनअघि एक साक्षात्कारमा प्रदेश ३ को नजिर अनुसार नै प्रदेश ५ मा पनि स्थायी राजधानी र नामको टुंगो लाग्ने प्रतिक्रिया दिएका थिए। हिउँदे अधिवेशन सुरु हुन थालेपछि प्रदेश न. ५ का सांसदहरुमा भने राजधानी र नामको विषयले चर्चा पाएको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालले हिउँदे अधिवेशनले स्थायी राजधानी र नामको टुंगो लगाउने बताए। उनले प्रदेशसभा नै यसको निर्णायक केन्द्र भएको भन्दै सबैको सहमतिबाट टुंगो लाग्ने बताए।

नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले भने पूर्वाधार बनिसकेको क्षेत्रलाई भताभुङ पारेर अन्यत्र राजधानी हुनै नसक्ने बताइन्। नेकपा संसदीय दलका प्रमुख सचेतक ढकालले खुलेर स्थायी राजधानी कहाँ भनेका छैनन्। तर बृहत्तर बुटवलको परिभाषा खोज्नुपर्ने बताउँदै सबैलाई पायक पर्ने गरि प्रदेशसभाले नै टुंगो लगाउने उनको जिकिर छ। समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डेले भने नाम लुम्बिनी र स्थायी केन्द्र रुपन्देहीको विकल्प नभएको बताए।

नेकपा प्रदेश संसदीय दलमा छलफल
प्रदेश ३ मा नेकपा सचिवालयको निर्देशन लागू भएपछि प्रदेश ५ मा पनि त्यस्तै हुने चर्चा चुलिएको छ। सत्तासिन नेकपाकै सांसदहरुले पार्टीको निर्देशन नमान्ने प्रतिक्रिया पनि दिएका छन्। प्रदेशसभामा सांसद स्वतन्त्र रहने भएकाले नेकपा प्रदेश ५ संसदीय दलले भने राजधानीकै विषयलाई केन्द्रमा राखेर शनिबार बुटवलमा संसदीय दलको बैठक आह्वान गरेको छ।

हिउँदे अधिवेशनको सुरु र अन्त्य कसरी गर्ने तथा सांसदहरुको सुझाव संकलन गर्न भन्दै बैठक आह्वान गरेको प्रमुख सचेतक ढकालले जानकारी दिए। उनले एजेन्डामा नभएपनि राजधानीका बारेमा भने बैठकमा छलफल हुनसक्ने बताए। उनले सांसदहरुको सुझाव आउन सक्ने तर राजधानीको नाम र केन्द्रबारे भने बैठकको एजेन्डा नराखिएको बताए। उनले प्रदेश ३ मा जस्तै केन्द्रको निर्देशन तत्काल महसुस नभएको समेत बताए। यहाँ नेकपा ६१, नेपाली काँग्रेस १९, संघीय समाजवादी फोरम ५ र राजपा तथा राष्ट्रिय जनमोर्चा नेपालका १÷१ जना सांसद गरि ८७ जना छन्।
 

प्रकाशित: ४ माघ २०७६ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App