२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रामेछाप र चितवनबीच उपाधि भिडन्त

सिन्धुपाल्चोक - जिल्लाको भलिबल खेल इतिहासमा सर्वाधिक धनराशि पुरस्कारको बागमती प्रदेशस्तरीय प्रथम भदौरे गणेश कपको उपाधिका लागि रामेछाप र चितवनबीच भिडन्त हुने भएको छ।

चौतारा सँगाचोकगढी नगरपालिका–७ सानो सिरुवारीमा मंगलबार भएको सेमिफाइलनमा आआफ्ना प्रतिस्पर्धीलाई हराउँदै रामेछाप र चितवनले फाइलन भेट पक्का गरेका हुन्। सेमिफाइलनको अन्तिम खेलमा भरत घिमिरेको म्यान अफ दी म्याच प्रदर्शनप्रेरित रामेछापले ३–२ सेटले सिन्धुलीलाई स्तब्ध बनायो। एक सेटले पछि परेको स्थिति उल्टाउँदै रामेछाप उपाधिनजिक पुगेको हो। पाँच सेट लम्बिएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा रामेछापले दुई पटक पछि पर्दै नतिजा उल्टाएको थियो।

रामेछापले सिन्धुलीसँग पहिलो सेट २१–२५ ले गुमाएको थियो। दोस्रो सेट २५–२२ ले जित्दै  पुनरागमनसहित खेल बराबरीमा ल्यायो। सिन्धुलीले २२–२५ ले तेस्रो सेटमा जित निकाल्दै रामेछापविरुद्ध २–१ को अग्रता लिँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो। रोमाञ्चक पुनरागमनसहित २५–२२ ले चौथो सेटमा जित निकाल्दै रामेछापले उपाधिहोड कायमै राख्यो। पछि परेको स्थिति सुधार्दै रामेछापविरुद्ध एक अंकको अग्रतासहित कोर्ट परिवर्तन गर्दा सिन्धुलीले बाजी मार्ने धेरैको अनुमान थियो। तर म्यान अफ दी म्याच घोषित घिमिरे अन्तिममा चम्किएपछि सिन्धुलीलाई स्तब्ध बनाउँदै रामेछापले चितवनसँग उपाधि भिडन्त पक्का ग-यो।

यसअघि मंगलबारै भएको पहिलो सेमिफाइनलमा नुवाकोटलाई सोझो सेटमा पराजित गर्दै चितवनले फाइनलमा स्थान पक्का गरेको थियो। क्वार्टरफाइलनमा रामेछापले सिन्धुपाल्चोक र चितवनले धादिङलाई पन्छाउँदै अघि बढेका थिए। दुई लाख दुई हजार दुई रुपैयाँ नगद पुरस्कारसहितको उपाधिका लागि रामेछाप र चितवनबीच बुधबार फाइलन प्रतिस्पर्धा हुनेछ। उपविजेताले एक लाख एक हजार एक रुपैयाँ नगद पुरस्कार पाउनेछ। भदौरे गणेश सामुदायिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सहआयोजनामा सातादेखि सञ्चालित प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले सहभागिता जनाएका थिए।

प्रकाशित: १ माघ २०७६ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App