२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सम्झौताको म्याद गुज्रिँदा ४५ प्रतिशत काम

सिक्टा सिँचाइ आयोजनाको बिनौना र फत्तेपुर जंगलमा निर्माणाधीन पूर्वी नहर।

नेपालगन्ज - ठेक्का सम्झौताको निर्धारित समय गुज्रिँदा सिक्टा सिँचाइआयोजनाको पूर्वी नहर निर्माण अधुरै रहेको छ। सम्झौताको म्याद गुज्रिँदासम्म पूर्वी नहरको निर्माण ४५ प्रतिशत मात्र सकिएको आयोजना कार्यालयले जनाएको छ।

आयोजना र ठेकेदार कम्पनीबीच भएको सम्झौता अनुसार उक्तनहर निर्माणको सबै काम २०७६ मंसिरमा सम्पन्न हुनुपर्ने थियो। ठेकेदारले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकेपछि पुनः एक वर्ष म्याद थप गरिएको आयोजनाका निर्देशक कृष्ण नेपालले जानकारी दिए। ‘पूर्वी नहर निर्माण गर्न २०७७ मंसिर १ गतेसम्म म्याद थप भएको छ,’ उनले सोमबार नागरिकसँग भने, ‘अबचाहिँ काम दु्रत गतिमा भएको हुँदा म्याद थप गरिएको समयभित्र सम्पन्न हुनेमा हामी विश्वस्त छौं।’  

कुल ५३.५ किलोमिटर नहर निर्माण गर्न ठेकेदार कम्पनी कुमार–कालिका जेभीले २०७४ साउन १० गते (२४ जुलाई २०१७)तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो। आयोजना कार्यालयका अनुसार पूर्वी नहरबाट नौहजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु- याउने लक्ष्य राखिएको छ। मूलनहर निर्माण क्षेत्रमाकरिब १५ हजार रूख काट्नुपर्ने भएपनि समयमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नहुँदा त्यसले काममा प्रत्यक्ष प्रभाव पारेको आयोजना निर्देशक नेपालको तर्क छ। ‘मूलनहरको ठेक्का आह्वान भइसक्दापनि रुख कटानका लागि इआइए स्वीकृत भएन, यसले गर्दा काममा ढिलाइ भयो,’ नेपालले भने। रुख कटान गर्नुपर्ने क्षेत्र अझै बाँकी रहेकाले म्याद थप भएको उनले प्रस्ट्याए।

उक्तनहरको बाँध (हेडवक्र्स) देखि ४५ किलोमिटर क्षेत्रसम्म मुआब्जा विवाद नरहेको आयोजनाले जनाएको छ। ‘४५ किलोमिटरभन्दा पछि रेखांकन विवाद छ, त्यहाँका स्थानीयले जंगल किनारबाट नहर लैजान अनुरोध गरेका छन्,’ नेपालले थपे। सुरुको वर्ष कामको गति सन्तोषजनक भएपनि बीचमा ठेकेदार सुस्ताउँदा निर्धारित समयमा काम सम्पन्न हुन नसकेको स्थानीय बासिन्दा बताउँछन्। ठेक्का सम्झौता हतारमा भएपनि निर्धारित समयभित्र आधा पनि काम नभएपछि उनीहरु चिन्तित छन्। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका स्थानीय बालकिशुन थारुले नहरको काम सम्पन्न हुनुपर्ने बेलामा म्याद थपिएको सुन्दा दुःख लागेको बताए। ‘नहर निर्धारित समयमै सम्पन्न भएको भए हामीले समयमै सिँचाइगर्न पाउँथ्यौं, अझै कतिवर्ष कुर्नुपर्ने होला,’उनले भने।

कामको गति यसअघि सुस्त भएपनि म्याद थपेपछि केही आशा जगाएको स्थानीय जनप्रतिनिधि बताउँछन्। राप्तीसोनारी गाउँपालिका वडा नबर ६,फत्तेपुरका वडाध्यक्ष जनकबहादुर थारुले पछिल्लो एक–दुई महिनायता ठेकेदारले पूर्वी नहर निर्माणमा कामको गति बढाएको जस्तो देखिएको बताए। ‘यसअघि कामको गति त्यत्ति नदेखिएपनि पछिल्लो समयमा बढेको देखिन्छ,’ उनले भने, ‘नहर निर्माणका क्रममा आइपर्ने समस्या समाधान गर्न हामीले पनि सहयोग गरिराखेका छौं।’ सरकारले दोस्रो गुरुयोजना मार्फत सिक्टाको पूर्वी नहर बनाउने योजना थपेको हो। उक्त नहरबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ बैजापुर, वडा नम्बर ५ बिनौना, वडा नम्बर ६ र ७ फत्तेपुर तथा नरैनापुर गाउँपालिकाको गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँमा सिँचाइसुविधा पु-याउने लक्ष्य छ।

प्रकाशित: २९ पुस २०७६ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App