२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमपातले सुदूरपहाड अस्तव्यस्त

बैतडी- गत हप्तादेखि मौसममा आएको परिवर्तनसँगै हिमपात र बर्षाले यहाँको जनजीवन प्रभावित बनेको छ। सडक, विद्युत, सञ्चार सेवा अवरुद्ध भएपछि दैनिकी कष्टकर बनेको हो। हिमपातसँगै चिसोका कारण घरबाट बाहिर निसकन समस्या भएको स्थानीयले बताएका छन्। दैनिक ज्यालादारीमा काम गर्दे गुजारा गर्ने मजदुर झन मारमा परेका छन्।

महेन्द्रनगरबाट तेस्रो दिन बैतडी पुगेको पुर्चौडी नगरपालिका–६ का पदमसिंह खडायतले डडेल्धुराको अगुल्टे र अनारखोलीमा हिमपातले बाटो अवरुद्ध भएपछि हिउँमै बस्न बाध्य भएको बताए। बुधबार रातिदेखि चौथोपटक हिमपात भएपछि यहाँको जनजीवन प्रभावित भएको छ। सदरमुकाम गोठालापानीमा हिमपात भएको स्थानीय खगेन्द्र भट्टले बताए। ६ वर्षपछि जिल्ला सदमुकाममै बाक्लो हिमपात भएको उनले बताए। दशरथचन्द राजमार्ग र बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा तीन फिटसम्म हिउँ जमेका कारण सडक खुल्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। वर्षा रोकिएपछि सडकका हिउँ हटाएर यातायात सुचारु गरिने जिल्ला प्रहरी प्रमुख डिएसपी दिल्लीनारायण पाण्डेले बताए।

जिल्लाका धेरै ठाउँमा पानी र बिजुली बन्द भएपछि जिल्लाका स्थानीय सास्ती भोग्दै आएका छन्। बैतडी, बझाङ र डडेल्धुराको सीमामा रहेको बैतडीको मुख्य बजार खोड्पेमा बिजुली र खानेपानी आपूर्ति बन्द हुँदा एक हप्तादेखि हिउँ पगालेर पिउन थालेको स्थानीयले बताए। बिजुली नहुँदा खोड्पे बजारमा पानीको समस्या उत्पन्न भएको बजार व्यवस्थापन समिति अध्यक्ष हरिश बिष्टले बताए।

लिफ्टिङ प्रविधिबाट बजारसम्म तानेको खानेपानी विद्युत नहुँदा बन्द भएको छ। ५ हर्सपावरको मोटरबाट पानी तानेर खोड्पे बजारमा खानेपानीको आपूर्ति हुँदै आएको छ। एक हप्तादेखि बिजुली नै नआएपछि बजार पूरै अन्धकार र खानेपानीको हाहाकार भएको स्थानीय कोशी होटलका सञ्चालक राकेश राइले बताए। खानेपानी नहुँदा होटल नै बन्द गर्नुपर्ने अवस्था आएको होटल हरिहर प्लाजाका सञ्चालक वासु बिष्टले भने। खोड्पे बजारमा तत्काल विद्युत सुचारु गर्न र ट्याङ्करबाट भए पनि खानेपानीको आपूर्ति गर्नुपर्ने खोड्पेबासीले पाटन नगरपालिका र जिल्ला प्रशासनसँग माग गरेका छन्। हिमपातले बिजुलीका पोल ढलेकाले विद्युत सुचारु गर्न समस्या भएको विद्युत प्राधिकरण बैतडी शाखाले जनाएको छ।

अझै हिमपात र बर्षा जारी रहेकाले विद्युत सुचारु गर्न समस्या लाग्ने बताइएको छ। सदरमुकाम गोठलापानी, गढी र शाहीलेक बजारमा भारतबाट ल्याइएको बिजुली सञ्चालन भए पनि भारतको उत्तराखण्डमा पनि भारी हिमपात भएपछि सदरमुकाम विद्युतविहीन भएको छ।

यो वर्ष बैतडीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा चारपटक हिमपात भइसकेको छ। बैतडी, डडेलधुरा, बझाङ जोड्ने सडकखण्डको उच्च लेकाली भेगमा पर्ने श्रीभावर, ढोल्यामोड, नाचन्थली, भन्ज्याङ, बाजपानी, खोड्पे, अनारखोली, हगुल्टे, साहुखर्क, सिगासधुरा, ग्वाल्लेक, सतबाँज, मुस्याचौर लगायत स्थानमा हिमपातले सडक अवरुद्ध हुने गरेको छ ।

 

प्रकाशित: २४ पुस २०७६ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App