२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बैतडीमा छैन भ्रमण वर्षको तयारी

धार्मिक पर्यटकको सम्भावना रहेको त्रिपुरा सुन्दरी मन्दिर। तस्बिरः बिरा/नागरिक

बैतडी- सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० केही दिन बाँकी रहँदा बैतडीमा कुनै गतिविधि नै भएका छैनन्। पर्यटकीय रुपमा रमणीय र धार्मिक पर्यटनको प्रचुर सम्भावना भए पनि सरकारी तवरबाट भ्रमण वर्षको कुनै तयारी नभएको हो।

जिल्लामा नेपालकै गहिरो मानिएको पताल भुवनेश्वर गुफालगायत धार्मिक स्थल मन्दिर र पर्यटकीय गन्तव्य बन्न सक्ने ठाउँ हुँदाहुँदै भ्रमण वर्षलाई लक्षित गरेर कुनै तयारी नै छैन। यहाँको पर्यटक प्रवद्र्धन, पर्यटकीय स्थलको पूर्वाधार खडा गर्न संघीय, प्रदेश र स्थानीय सरकाले चासो नदिएको स्थानीय बताउँछन्।

‘पर्यटकीय पूर्वाधारको नाममा मेला महोत्सव र यज्ञ लगाउने काम मात्रै भएको छ,’ दशरथचन्द मावि सुन्दरखालीका शिक्षक नारायण जोशीले भने, ‘प्रचारप्रसार र पूर्वाधार नबनाइ पर्यटक आउने सम्भावना नै हुँदैन।’ पर्यटकीय स्थलको प्रवद्र्धन, पूर्वाधारको नाममा फजुल खर्च देखाएर धेरै ठाउँमा आर्थिक अनियमितता भएको स्थानीयको आरोप छ।

स्थानीय तहले पनि भ्रमण वर्षको लागि कुनै पहल चालेका छैनन्। पर्यटकीय सम्भावना भए पनि जिल्लामा कुनै गतिविधि नभएको स्वतन्त्र विचार मञ्चका अध्यक्ष गणेश ठकुराठीले बताए। भ्रमण वर्षको लागि स्थानीय तहले कुनै योजना नबनाएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए। सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाले पनि कुनै योजना र बजेट छुट्याएको छैन।

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि बजेट छुट्याइएकोले सोही रकमबाट भ्रमण वर्षको लागि पनि योजना बनाएर बजेट छुट्याइने नगर उपप्रमुख मिना चन्दले बताइन्। तर नगरभित्र थुपै्र धार्मिक गन्तव्य भए पनि नगरपालिका ठोस योजना ल्याउन सकेको छैन। जिल्लाका अन्य स्थानीय तहसँग पनि कुनै योजना नै छैन। प्रदेशबाट आउने बजेट पहुँचको भरमा नामै नसुनेका मठमन्दिरमा जाने गरेको स्थानीय बताउँछन्।

पर्यटकीय मार्ग करिडोर अध्ययन अवलोकल प्रचारप्रसारको नाममा लाखौ रुपैयाँ खर्चिए पनि उपलब्धी भने हुन सकेको छैन। कार्यकर्ता संरक्षण र राजनीतिक पहुँचका भरमा बजेट आउँदा जिल्लाका पर्यटकीय स्थल ओझेलमा परेको दशरथचन्द नगरपालिका–५ का उद्धवसिंह मार्कण्डाले बताए।

जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने थुप्रै धार्मिक तथा पर्यटकीयस्थल छन्। तर ती धार्मिक तथा पर्यटकीयस्थलमा भ्रमण वर्षमा पर्यटक पु¥याउन स्थानीय सरकारले चासो दिन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको भनाइ छ।

भारतबाट आउने धार्मिक पर्यटकलाई आकर्षित गर्नेखालका योजना नहुँदा समस्या भएको उद्योग वाणिज्य संघ बेतडीका अध्यक्ष नरबहादुर चन्दले बताए। पर्यटकीय मार्ग, पर्यटकीय स्थल पूर्वाधार, प्रचारप्रसार, पोष्टर, बोष्टरलगायत छाप्ने र पर्यटक भित्र्याउने योजना नत स्थानीय सरकारले गरेको छ नत प्रदेश, संघले नै यसमा पहलकदमी चाल्न नसकेको अध्यक्ष चन्दको भनाइ छ।

बैतडीमा पर्यटकीय आकर्षणको केन्द्र नेपालकै गहिरो गुफा पताल भुवनेश्वर , त्रिपुरा सुन्दरी, निङ्गलाशैनी मन्दिर, पञ्चदेवल, उदयदेव मन्दिर, ग्वाल्लेक धाम, ईश्वरी गंगाधाम, मेलौली भगवती रौलाकेदार मन्दिर, सिगास धाम, धौलकाडाकोट लगायतका धार्मिक तथा पर्यटकीस्थल रहेका छन्। पर्यटकीय स्थलको प्रचारप्रसार, पहिचान, पूर्वाधार र आउने पर्यटकहरुको लागि उचित व्यवस्थापन गर्न सके जिल्लामा पर्यटक भित्र्याउन सकिने सम्भावना देखिएको छ।


                                        

प्रकाशित: १२ पुस २०७६ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App