२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँच महिनाभित्र निर्माण नसके ठेकेदारलाई कारबाही गरिने

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा सासंद माधवकुमार नेपालले पाँच महिनाभित्र लामो समयदेखि अस्तव्यस्त हुँदै आएको चाबहिल–जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न नगरे ठेकेदार कम्पनीलाई दण्डित गर्ने चेतावनी दिएका छन्।

लामो समयदेखि निर्माणमा लथालिंग अवस्थाबाट गुज्रिएको चाबहिल–जोरपाटी–साँखु सडकखण्डको बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायतले स्थलगत अवलोकन गर्दै उक्त चेनावनी दिएका हुन्।

‘यो सडक निर्माणमा धेरै बहानाबाजी गरियो,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘अरूलाई दोष देखाएर उम्कन पाइँदैन। त्यसैले पाँच महिनाभित्र जुनसुकै हालतमा पनि सडक कालोपत्रे गरेर सक्नुप-यो।’ पूर्वप्रधानमन्त्री नेपालले पाँच महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेकेदार कम्पनीलाई दण्डित गर्ने बताएका छन्।

‘यो सडक विस्तार कार्य  चित्तबुझ्दो देखिएन्,’ उनले भने,‘ केही समस्या भए खुलेर भन्नुहोस्। हामी समाधान गर्नेतर्फ अग्रसर हुन्छौं। तर, समस्या देखाएर काम ढिलासुस्ती गर्ने छुट कसैलाई छैन।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले वर्षांदेखि रुग्ण हुँदै आएका आयोजना तत्कालै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी तथा आयोजना प्रमुखलाई  निर्देशन दिएका छन्। ‘सरकारले विकास र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राख्दै आइरहेको छ,’ उनले भने,‘त्यसैले  पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन। तोकिएको समयसीमाभित्रै सडक निर्माण सम्पन्न गर्नुप-यो।’

मन्त्री नेम्वाङले अन्तरसरकारी निकाय समन्वय गरेर विकास निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। तर, स्थानीयवासीले  नयाँ मन्त्री फेरिएसँगै अनुगमन गरे पनि सडक कालोपत्रे हुन नसकेको गुनासो गरेका छन्। ‘मन्त्री फेरिनेबित्तिकै झारा टार्नकै लागि भए पनि अनुगमनमा आउने गर्छन्। तर, सडक कालोपत्रे भने गरेको देखिँदैन,’ जोरपाटीका ईश्वर कार्कीले नागरिकसँग भने, ‘पूर्वमन्त्री  रघुवीर महासेठले पनि  २१ दिनभित्रै कालोपत्रे गर्न निर्देशन दिएका थिए। तर, खासै केही प्रगति भएन।’ कार्कीले मन्त्री तथा सांसद आउने थाहा भएर ठेकेदार कम्पनीले फेरि काम गर्न थालेको आरोप लगाए। ‘अरू बेला केही काम नगर्ने ठेकेदारले आज मन्त्री तथा सांसदलाई देखाउनकै लागि काम गरिरहेका छन्,’ उनले भने, ‘मन्त्री तथा सांसदले हल्ला गरेर होइन, चुपचाप ढंगले अनुगमन गर्नुपर्ने देखिन्छ।’

नेता नेपालले सडक विभाग, विद्युत् प्राधिकरण, ढल विभाग, जनप्रतिनिधि, प्रहरीलगायतका सबै संयन्त्रसँग समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिएका छन्। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले चाबहिल–साँखु सडकखण्डको ६५ प्रतिशत सडक निर्माण भएको बताए। ‘आगामी चैत मसान्तसम्म यथास्थितिमा सडक कालोपत्रे गर्ने योजनासहित काम भइरहेको छ,’ उनले भने, ‘पछिल्लो समयतालिकाअनुसार सडक कालोपत्रे हुने आशा गरेका छौं।’

आयोजनाको साढे १२ किलोमिटर सडकखण्डमध्ये ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ। ‘चाबहिलदेखि पीपलबोटसम्मको सडक कालोपत्रे भइसक्यो,’ प्रवक्ता श्रेष्ठले भने, ‘पीपलबोटदेखि जोरपाटी ओरालोसम्मको सात समय मिटर कालोपत्रे गर्न बाँकी छ। त्यो पनि एक साताभित्रै कालोपत्रे गर्ने तयारी भइरहेको छ।’ आयोजनाका अनुसार जोरपाटी पुलदेखि दक्षिणढोका गेटसम्मको सडक कालोपत्रे गर्न बाँकी छ। सलम्बुटारदेखि साँखुसम्मको एक  किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको आयोजनाले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App