२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साग समापनमा प्रधानमन्त्रीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्ने

फाइल तस्बिर

काठमाडौं – काठमाडाैंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) विशेष कार्यक्रमबीच मंगलबार समापन हुंदै छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराएका छन्।

सोमबार सांझ मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्यसचिव सिलवालले प्रतियोगिता सुरुदेखि अहिलेसम्म व्यवस्थित रूपमा सञ्चालन भइरहेको र समापनलाई झनै व्यवस्थित र भव्य बनाउन लागिएको बताए। उनका अनुसार समापन समारोहकै दिन नेपाल र भुटानबीच फुटबलको फाइनल हुनेछ। त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। फुटबल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह शुरु हुनेछ।

डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्नेछन्। त्यसको दोस्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नेछन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव सिलवालले सम्बोधन गर्ने बताइएको छ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ। त्यसै गरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने गरी विशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिव सिलवालले जानकारी गराए।

सो अवसरमा साग ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिने गरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ। समापनका दिन कार्यक्रम स्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिनेछ। त्यहाँ भिभिआइपी, भिआइपी, पत्रकार, पदकविजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने व्यवस्था हुनेछ।

समापनकै दिन फुटबल प्रतियोगिताको फाइनल भएकाले फुटवल हेर्न लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ। उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्री गरिएको छ। ती टिकटहरु बिक्री भैसकेका छन्।

समापनका दिन सुरक्षा र पासमा पनि कडाइ गरिनेछ। अत्यावश्यकबाहेक यस दिन पास निकै कम प्रयोग हुनेछन्। सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रवेश परिचपयपत्रसँगै आआफ्ना सञ्चारमाध्ययमका परिचयपत्र पनि बोक्नुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित व्यक्तिलाई तोकिएको सिटमा अरू कोही बस्न पाउने छैनन्।

प्रकाशित: २४ मंसिर २०७६ ०१:२५ मंगलबार

साग समापन केपी_शर्मा_ओली