२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोहलपुर-६ मा नेकपाका रामशरण निर्वाचित

कोहलपुर नगरपालिका–६ को वडाध्यक्षमा निर्वाचित रामशरण थारु । तस्बिरः नागरिक

नेपालगन्ज- कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई ६४ मतको अन्तरले पछाडी पार्दै उनी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए। कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा शनिबार भएको मतदानमा १ हजार ६ सय ३४ मत खसेको थियो।

निर्वाचित भएका रामशरणले ८ सय मत ल्याए, भने निकटतम प्रतिद्धन्दी श्रीकृष्णले ७ सय ३६ मत प्राप्त गरे। तेस्रो स्थानमा आएका राप्रपाका श्रीधर सुवेदीले ६१, नेपाल मजदुर किसान पार्टीका दिपालक्ष्मी हमालले १३ र समाजवादी पार्टीका शोभाकर पोखरेलले १० मत प्राप्त गरे। जिल्ला निर्वाचन अधिकारी सुवेदीका अनुसार १४ मत बदर भएको थियो। वडाध्यक्षमा निर्वाचित रामशरणलाई आइतबार एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले प्रमाणपत्र वितरण गरेका छन्।

तत्कालिन वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि सरकारले उपनिर्वाचन गराएको हो। नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका रामसोहनको गतवर्ष निधन भएपछि उक्त वडा वडाध्यक्ष विहिन बन्न पुगेको थियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका रामशरण तेस्रो स्थानमा आएका थिए।

त्यसबेला नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर दोस्रो स्थानमा रहेका श्रीराम थारुको पनि निधन भईसकेको छ। माओबादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेपछि रामशरणले अहिले पुनः वडाध्यक्ष पदको टिकट पाएका हुन्।

प्रकाशित: १५ मंसिर २०७६ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App