२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘बनाउन सक्दैनौ भने नभत्काऊ’

प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ

केही दिनपहिले एउटा समाचारले मेरो ध्यान तानेको थियो। कुनै एउटा नेपाली विश्वविद्यालयका विद्यार्थीहरू चिसो र अँध्यारो रातभरि कुनै एउटा बैंकका अगाडि लाम लागेका थिए। त्यो लाम विदेशमा काम गर्न जानका लागि आवेदन भर्नेहरूको थियो। हाम्रा लागि यो नौलो समाचार होइन, हाम्रा लागि यो अति सामान्य विषय भइसकेको छ।

यस्तो किन भइरहेको छ ? यस्तो स्थिति आउनुका कारण सयौँ हुन सक्छन्। यद्यपि यसो हुनुको प्रमुख कारण हाम्रो शिक्षा प्रणाली र यसले सिर्जना गर्ने अवसरहरूमा लुकेको छ। हाम्रो शिक्षा प्रणालीमा महत्वपूर्ण प्रगति भएको छ। तर हाम्रा अगाडि २१औँ शताब्दीमा अवसरहरूको सिर्जना र उपयोग गर्न सक्ने ज्ञान र सीप भएका नयाँ जनशक्ति उत्पादन गर्ने चुनौती छ। हामीले सम्बोधन नगरी नहुने पहिलो सवाल हो, हाम्रो शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने ? हाम्रो मुलुकमा चुनौती र अवसर थुप्र्रै छन्। शिक्षाले यी चुनौती र अवसरप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ। त्यसैले हाम्रो शिक्षाले समस्या एवं चुनौतीबाट पनि नयाँ सिर्जना गराउन सिकाउनुपर्छ। ती सिर्जनाले मानिसको जीवनमा परिवर्तन ल्याउने संयन्त्रको काम गर्नुपर्छ।

हामीलाई थाहा छ, देश विकासको आधारशिला नै शिक्षा हो। शिक्षाको माध्यमले हामीले आफ्नो प्राकृतिक विविधता, वनस्पति तथा जीवजन्तुलाई टिकाएर राख्न सक्छौं। आफ्नै भूमिमा उच्च मूल्यका वस्तु उत्पादन गर्न सक्छौं। पानी, घाम र हावाबाट ऊर्जा उत्पादन गर्न सक्छौं। त्यसका साथै, हामीले संस्कृतिको संरक्षण, सम्पदाको सुरक्षा र पर्यटन क्षेत्रको विकास गर्न सक्छौँ। आपसी समझदारी र सामाजिक सहिष्णुता पनि कायम राख्न सक्छौँ।

नयाँ काम सम्भव छैन भनेर काम गर्नेलाई अवरोध पु-याउने संस्कार नै हाम्रो प्रगतिको मूल बाधक हो। त्यसैले बनाउन सक्तैनौँ भने भत्काउने काम नगरौँ, सिर्जना गर्न सक्तैनौँ भने विनाश नगरौँ। हामीले सहयोग, सहकार्य र रचनात्मक आलोचनाको संस्कृतिलाई प्रोत्साहित गर्न सक्यौँ भने हामीसँग रहेका ऊर्जा र स्रोतलाई प्रस्फुटन गराउन र सदुपयोग गर्न सक्नेछौँ।

यी कार्य सम्भव तुल्याउन हामीसँग नयाँ रणनीति हुनुपर्छ। यी रणनीतिमध्ये सरकारसँगको साझेदारी, समुदायसँगको सहकार्य, डायस्पोरासँगको संलग्नता र उद्योगहरूसँगको सम्पर्क विशेष महत्वका छन्। अन्तर्राष्ट्रिय संघ–संस्था तथा विश्वविद्यालयहरूसँगको हातेमालोका आधारमा पनि हाम्रा रणनीति तयार हुन्छन्। नीति–निर्माता र शैक्षिक संस्थाका अगुवामा यी रणनीति बनाउने र कार्यान्वयन गर्ने–गराउने नैतिक दायित्व पनि छ। प्रयास नगरी सफलता प्राप्त हुँदैन। प्रयास गर्दा गल्ती भए पनि त्यसलाई सुधार्दै अघि बढ्नुपर्छ। हरेक दिन हामीबाट हुने ढिलासुस्तीले गर्दा दिनहुँ हजारौँ युवायुवती सानो अवसरका लागि पनि देश छोड्न तयार भएको तथ्य हाम्रोसामु छ। त्यसैले हामीले ती युवाका पीडा र बिछोडमा परेका उनीहरूका आफन्तका मार्मिक रोदन सुन्न सक्नुपर्छ। हामीसँग खेर फाल्नका लागि समय पटक्कै छैन। विभिन्न बहानामा अलमलिएर बिताउने समय पनि छैन। पद र प्रभुत्वका लागि छलफल गरिरहने समय पनि छैन।

हामी इतिहासको जटिल तर अत्यन्त सुन्दर मोडमा छौँ। कुनै नयाँ कार्य गर्न अहिलेको भन्दा अनुकूल अवसर कहिल्यै आएको थिएन होला। त्यसैले सफल हुनुबाहेक हामीसँग अर्को कुनै विकल्प छैन। शिक्षामा नैतिकता र इमानदारीको विशेष महŒव हुन्छ। शिक्षा आफैँमा पवित्र हुन्छ, शिक्षा प्रदान गर्ने जुनसुकै संस्था मन्दिरजस्तै हुन्छ। मेरा लागि विश्वविद्यालयभन्दा पवित्र ठाउँ अर्को छैन। विश्वविद्यालयमा हामी बिउलाई उम्रन, बिरुवालाई हुर्कन र रूखलाई फल्न सहयोग गर्छौं। प्राचीन कालमा, राजा र राजकुमारहरू समेत दरबारको सुखसयल छोडी गुरुहरूका साधारण झुपडीमा गएर संघर्षपूर्ण जीवन बिताउँथे र कठिन अनुशासन पालना गर्थे।

त्यहाँ उनीहरू आफ्ना गुरुबाट ज्ञानको पवित्रता र चरित्र सिक्थे। हामीले पनि शिक्षक र अगुवाका रूपमा त्यही स्तरको उचाइ आफूमा विकास गर्ने आकांक्षा राख्नुपर्छ। आफूलाई अनुकरणीय बनाउन हामीमा प्रतिबद्धता र चुनौतीको सामना गर्ने सोच चाहिन्छ। शिक्षक अथवा अगुवाका रूपमा हामीले सिर्जनशीलता सिकाउनुभन्दा पहिले आफ्नो सिर्जना देखाउन सक्ने हुनुपर्छ, नैतिक आदर्श सिकाउनुभन्दा पहिले आफ्ना आदर्श प्रस्तुत गरिसकेको हुनुपर्छ। हामीले अरूलाई परिश्रम गर्न लगाउनुभन्दा पहिले आफूले परिश्रम गरेर देखाउन सक्नुपर्छ र अरूलाई निःस्वार्थ हुन सिकाउनुभन्दा पहिले आफूले त्याग गरेर देखाउन सक्नुपर्छ।

आफ्ना स्नातकहरूले दुर्गम स्थानमा पुगेर नयाँ–नयाँ सिर्जना गरेको देख्न पाउँदा हामीलाई अत्यन्त खुसी लाग्छ। केही महिनाअघि मैले हाम्रो स्कुल अफ एजुकेसनका स्नातक एक शिक्षकलाई तराईको दुर्गम गाउँमा भेट्न पाएको थिएँ। भेटमा उनले जे सुनाए, त्यो मेरा लागि अमूल्य थियो। उनले भनेका थिए, ‘दुर्गम क्षेत्रको समुदायमा पुग्दा परिवर्तनका लागि कसरी काम गर्नुपर्छ भन्ने कुरा मैले केयूबाट सिकेँ। सहरसम्म गएर पढ्ने खर्च जुटाउन नसक्ने मानिसहरू यो गाउँमा बस्छन्। गाउँको विद्यालयलाई सहयोग गरेर कलेज पनि खोल्ने काममा संलग्न हुन पाएकोमा मलाई गर्व लागेको छ।’

हामीले केही साताअघि नेपालको सुदूर पश्चिमको एक ठाउँमा कार्यरत एकजना सर्जनलाई भेटेका थियौँ। उनी पनि हाम्रै विश्वविद्यालयका स्नातक थिए। उनीभित्र पनि उस्तै खालको जोस–जाँगर थियो।   काठमाडौं विश्वविद्यालयमा हामी आफ्ना विद्यार्थीलाई निःस्वार्थ समर्पण, निष्ठा र प्रतिबद्धता सिकाउन चाहन्छौँ। किनभने, यी हाम्रा मूल्य र मान्यता हुन्। यस विश्वविद्यालयको स्थापना नै ‘नेतृत्वका लागि गुणस्तरीय शिक्षा’का लागि भएको थियो। उच्च नैतिकता र दृढ प्रतिबद्धताको मार्गदर्शक सिद्धान्त यस विश्वविद्यालयले अँगालेको छ। हामीमा सोच नै सानो, लक्ष्य नै स्वार्थी, संस्कार नै धम्की दिने, रणनीति नै मोलतोल गर्ने भयो भने न प्राज्ञले, न प्राज्ञिक संस्थाले नै प्रगति गर्न सक्छ।

नयाँ काम सम्भव छैन भनेर काम गर्नेलाई अवरोध पु-याउने संस्कार नै हाम्रो प्रगतिको मूल बाधक हो। मैले बारम्बार भन्ने गरेको छु, बनाउन सक्तैनौँ भने भत्काउने काम नगरौँ, सिर्जना गर्न सक्तैनौँ भने विनाश नगरौँ। हामीले सहयोग, सहकार्य र रचनात्मक आलोचनाको संस्कृतिलाई प्रोत्साहित गर्न सक्यौँ भने हामीसँग रहेका ऊर्जा र स्रोतलाई प्रस्फुटन गराउन र सदुपयोग गर्न सक्नेछौँ। त्यसपछि मात्र आफ्ना पुर्खाले बनाएका मन्दिरको पुनर्निर्माण गर्न हामी आफैँ सक्षम हुनेछौँ, हाम्रा युवाले विदेशको मरुभूमिमा पसिना बगाउनुपर्ने छैन, हाम्रा पुराना प्रविधिलाई आधुनिक स्वरूपमा विकास गर्न हामी सफल हुनेछौँ, स्वदेशी ज्ञानलाई प्राज्ञिक कार्यक्रम वा अनुसन्धानको विषय बनाउन स्वदेशी विशेषज्ञको सेवा उपलब्ध हुनेछ।

अरूका कामको आलोचना गर्नेले कहिल्यै इतिहास रचेका हुँदैनन्। परम्परालाई चुनौती दिने र नयाँ सिर्जनाका लागि पसिना बगाउन साहस गर्ने मान्छेको मात्रै इतिहास कोरिन्छ। काठमाडौं विश्वविद्यालयले नवीनताप्रतिको यस्तै प्रतिबद्धताको प्रतिनिधित्व गरेको छ। नयाँ ढाँचाको आत्मनिर्भर र गुणस्तरीय प्राज्ञिक थलोका रूपमा हामीले मुलुकका लागि सम्भावनाका नयाँ ढोकाहरू खोलेका छौँ। तपाईं स्नातक नै यसका उत्कृष्ट प्रमाण हुनुहुन्छ।

तपाईंले हाम्रो सपना के हो भनेर सोध्नुभयो भने, म सजिलोसँग दुई–चार शब्दमै त्यसको उत्तर दिन्छु। हामी चाहन्छौं, दुर्गम गाउँको परिवारले पनि सुगम ठाउँको परिवारले जस्तै जीवन जिउन पाओस्। अनि मात्रै त्यो दुर्गम गाउँमा पनि शिक्षाका लागि बालबालिकाहरू राम्रो विद्यालयमा जानेछन्, युवाहरूले गाउँमै काम गरेर सम्मानपूर्ण जीवन बिताउनेछन्, बिरामी पर्दा बुढापाकाहरूले नजिकै राम्रो उपचार पाउनेछन्, कुनै व्यक्ति दुःखमा पर्दा सम्पूर्ण समुदाय नै उसलाई सहयोग गर्न तत्पर हुनेछ। के यो ठूलो र असम्भव सपना हो ? होइन। धुलिखेल र यसको वरिपरिका ठाउँ नै यसका उदाहरण हुन्। हामी नेपालका अरू कुनाकाप्चालाई पनि यस्तै उदाहरण बनाउन चाहन्छौँ। हामी समुदाय, स्थानीय सरकार, मन्त्रालय र अन्य सरोकारवालासँग     सहकार्य गर्न चाहन्छौँ। हामी काठमाडौं विश्वविद्यालयलाई देशका कुना–कुनामा पु-याउन चाहन्छौँ।

हेनरी फोर्डले भनेका थिए, ‘तपाईंले पहिले गर्ने गरेको काम मात्रै गर्नुभयो भने पहिले पाउने गरेको फल मात्रै पाउनुहुनेछ।’ हामीले आफ्नो ठाउँबाट केही नयाँ र राम्रो गर्न चाहनेलाई हौसला दिनुपर्छ। फूल फक्रियोस् भन्ने चाहना राख्ने हो भने कोपिलालाई चलाइरहनु हुँदैन। बरू सुक्खा जमिनमा पानी हाल्ने अनि जराको वरिपरि गाँजिएको झारलाई उखेल्नुपर्छ। त्यसैले विश्वासको संस्कारलाई प्रश्रय दिऊँ, नैतिक आदर्शहरू सुधारौँ र असल मूल्य–मान्यता स्थापित गरौँ। पुर्खाबाट सिकेका यिनै कुरा भावी पुस्तालाई पनि सिकाऊँ।

(काठमाडौं विश्वविद्यालयको २५औं दीक्षान्त समारोहको पहिलो कार्यक्रममा
उपकुलपति श्रेष्ठबाट शुक्रबार प्रस्तुत मन्तव्यको सम्पादित अंश।)

प्रकाशित: ७ मंसिर २०७६ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App