२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गृहयुद्ध अन्त्यको नेतृत्व गरेका दाजुभाइ शक्तिमा

अन्तरिम प्रधानमन्त्रीका नियुुक्तिका लागि राजधानी कोलम्बोमा आयोजित संक्षिप्त शपथ ग्रहण समारोहमा हात मिलाउँदै श्रीलंकाली राष्ट्रपति गोताबय राजापाक्षे (दायाँ) र नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षे । तस्बिरः एजेन्सी

कोलम्बो – देशमा जारी दशकौं लामो गृहयुद्ध समाप्तिको नेतृत्व गरेका राजापाक्षे दाजुभाइको श्रीलंकाको राजनीतिमा पुनरोदय भएको छ। गत शनिबार देशमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित गोताबय राजापाक्षेले आफ्नै दाइलाई अन्तरिम प्रधानमन्त्रीको शपथ गराएपछि श्रीलंकाली सत्तामा दाजुभाइको पुनरोदय भएको हो।

राजापाक्षे दाजुभाइ द्वयले देशमा दशकौं लामो गृहयुद्ध अन्त्यको नेतृत्व गरेका थिए। एक दशक अघि श्रीलंकामा तमिल विद्रोही आन्दोलनलाई पूर्ण रूपमा अन्त्य गर्नेबेला नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षे रक्षा सचिव थिए भने उनका दाइ महिन्दा राजापाक्षे राष्ट्रपति थिए।

राजधानी कोलम्बोमा आयोजित एउटा संक्षिप्त समारोहमा महिन्दा राजापाक्षेले देशको प्रधानमन्त्रीका रूपमा बिहीबार शपथ लिएका छन्। शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट गोताबय देशको राष्ट्रपति निर्वाचित भएसँगै बुधबार उनलाई सजिलो बनाउने भन्दै रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति निर्वाचित भएसँगै गोताबयले सबै श्रीलंकाली जनताका लागि आफूले शासन गर्ने बताएका थिए।

श्रीलंकामा मिश्रित शासन प्रणाली रहेको छ। मिश्रित शासन प्रणालीअन्तर्गत शक्तिशाली राष्ट्रपति र प्रधानमन्त्री पदमा दाजुभाइ नै पदासीन भएपछि कतिपय अधिकारवादी समूहहरुले भने प्रश्न उठाएका छन्। राजापाक्षे दाजुभाइमाथि देशको गृहयुद्ध अन्त्य गर्ने नाममा तमिल विद्रोहीमाथि व्यापक मात्रामा बल प्रयोग गरेको आरोप पनि लाग्दै आएका छन् र उनीहरुविरुद्ध कैयौं डकुमेन्ट पनि तयार पारिएका छन्।

बिहीबार अन्तरिम प्रधानमन्त्रीको शपथ लिएका महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म देशको राष्ट्रपति थिए। उनलाई देशको संवैधानिक व्यवस्थाअनुसार दुई पटकमात्रै राष्ट्रपति बन्न पाउने प्रावधानका कारण त्यसपछिको निर्वाचनमा राष्ट्रपतीय उम्मेदवार बन्नबाट प्रतिबन्ध लगाइएको थियो। दाजु महिन्दा राष्ट्रपति रहँदा नवनिर्वाचित श्रीलंकाली राष्ट्रपति गोताबय राजापाक्षे देशको शक्तिशाली रक्षा सचिव थिए। सो अवधिमै तमिल विद्रोहीलाई परास्त गर्ने नाममा शक्तिको दुरुपयोग गरेको आरोप राजापाक्षे दाजुभाइमाथि लाग्ने गरेको भए पनि गोताबय र महिन्दा दुवैले आफूहरुले कुनै  गल्ती नगरेको दाबी गर्दै आएका छन्।

श्रीलंकामा गत अप्रिल महिनामा इसाई धर्मावलम्बीले ‘इस्टर सन्ड’ पर्व मनाइरहेका बेला भएको आत्मघाती आक्रमणका कारण दुई सय ५० भन्दा बढीको मृत्यु भएपछिको यो पहिलो निर्वाचन हो। आतंकवादी समूह इस्लामिक स्टेटआवद्ध एउटा समूहले जिम्मेवारी लिएको सो आक्रमणका कारण देशको सुरक्षा व्यवस्थालाई लिएर चौतर्फी रूपमा राजापाक्षे दाजुभाइप्रति जनताको विश्वास बढेकै कारण गोताबयले निर्वाचन जितेको अनुमान स्वतन्त्र विश्लेषकहरुले गरेका छन्।
निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेको सरकारले आतंकवादी आक्रमण रोक्न नसकेको भन्दै चौतर्फी विरोध हुने गरेको थियो भने तत्कालीन सरकारले पनि आफ्नो सुरक्षा संयन्त्रले काम गर्न नसकेको स्वीकार गरेको थियो।

राजापाक्षे दाजुभाइले देशमा विखण्डनवादी समूह तमिल टाइगर (लिट्टे) नेतृत्वमा भएको दशकौं लामो गृहयुद्धलाई सन् २००९ मा अन्त्य गराएको विरासत छ। दशकौं लामो गृहयुद्धका बेला दुवै पक्षका गरी श्रीलंकामा कम्तीमा एक लाख मानिस मारिएका थिए।

गृहयुद्ध अन्त्यको अन्तिम चरणतिर हजारौं मासिन बेपत्ता पारिएको आरोप पनि राजापाक्षे दाजुभाइमाथि छ। तीमध्ये धेरैलाई तत्कालीन सरकारले यातना दिएको वा मारेको हुनसक्ने अनुमान अझै पनि गरिन्छ। आत्मसमर्पणका लागि सेतो झन्डा देखाएका वा सरकारसमक्ष आत्मसमर्पण नै गरेका कैयौं लिट्टे समर्थक कार्यकर्तालाई सोही बेला वा हिरासतमा लिइसकेपछि पनि सरकारी फौजले हत्या गरेको अभियोग पनि राजापाक्षे दाजुभाइमाथि छ। यस आरोपबारे भिडियो प्रमाण नै भए पनि तत्कालीन सरकारका नेतृत्वमा रहेकाहरुले भने कुनै गल्ती नगरेको दाबी गर्दै आइरहेका छन्।

नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षेले आफूमाथि लागेका युद्ध अपराधसम्बन्धी आरोपको पनि ‘आधारहीन’ रहेको बताउँदै आएका छन् भने उनका दाजु वा भर्खरै अन्तरिम प्रधानमन्त्री नियुक्त भएका महिन्दा राजापाक्षेले पनि त्यस्ता आरोपको खण्डन गर्दै आइरहेका छन्।

राजापाक्षे दाजुभाइले आफूहरुमाथिको आरोपको खण्डन गरे पनि तमिलका विधुवा र परिवारका सदस्यहरुले भने अझै पनि बेपत्ता पारिएका आफ्ना मानिसको अवस्था सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गर्दै आइरहेको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App