२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदर्शनकारीले प्रहार गरेको तीर लागेर प्रहरी घाइते

हङकङ पोलिटेक्निक विश्वविद्यालय बाहिर भेला भएका प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि प्रहरीले प्रहार गरेको पानीको फोहोरा। तस्बिर : एजेन्सी

हङकङ (बिबिसी) – हङकङमा आइतबार भएको सरकारविरोधी प्रदर्शनमा आन्दोलनकारीले प्रहार गरेको तीर लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

सरकारविरोधी प्रदर्शनका कारण केही महिनादेखि हङकङ अशान्त रहँदै आएको छ। आइतबारको प्रदर्शनमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बताइएको छ। झडपकै क्रममा प्रदर्शनकारीले प्रहार गरेको तीर प्रहरी अधिकारीको गोडामा लागेको छ।

हङकङको पोलिटेक्निक विश्वविद्यालयको क्याम्पस अगाडि भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रहरीका एक अधिकारी तीर  लागेर घाइते भएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

धनुष र तीर बोकेर अनुहारमा मास्क लगाएका प्रदर्शनकारीहरु क्याम्पस वरपर सुरक्षाकर्मीको प्रवेशलाई रोक्न सक्रिय देखिएकै बेला यस्तो घटना भएको छ।

पाँच महिनाभन्दा लामो समयदेखि जारी हिंसात्मक प्रदर्शनका कारण हङकङको राजनीतिक र आर्थिक क्षेत्र समस्याग्रस्त बनेको छ।

हङकङमा गत जुन महिनादेखि सरकारविरोधी प्रदर्शन जारी छ। मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले संसद्मा विधेयक प्रस्तुत गरेपछि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो।

विवादित सुपुर्दगीसम्बन्धी प्रस्ताव सरकारले खारेज गरिसकेको भए पनि हङकङमा प्रदर्शन जारी छ। सरकारले ढिला गरी गत अक्टोबर २३ का दिन औपचारिक रूपमै सो विधेयक फिर्ता लिएको थियो।

शंकास्पद संदिग्धलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे ल्याइएको विधेयकको विरुद्धमा हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरेपछि हङकङको प्रमुख नेतृत्वले सुरुमा सो विधेयक स्थगित मात्रै गरेको थियो। प्रदर्शन निरन्तर रूपमा अघि बढेपछि मात्रै गत महिना हङकङको संसद्ले विधेयक फिर्ता लिएको थियो।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि विस्तारै हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा मागसमेत गर्दै आएका छन्।

कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछिकै सबैभन्दा खराब अवस्थाबाट हाल सहर गुज्रिरहेको छ।

‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गतको व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ। प्रस्तावित सुपुर्दगी विधेयकले हङकङको न्यायिक स्वतन्त्रतामा कमी आउने भन्दै प्रदर्शन सुरु भएको भए पनि पछिल्ला केही महिनादेखि हङकङका प्रदर्शनकारीले विशेषतः पाँचवटा माग अघि सारेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्वव्यापी मान्यता प्राप्त हुनुपर्ने  रहेका छन्।

हङकङमा लामो समयदेखि प्रदर्शन जारी रहेका कारण यो विषय मुख्यभूमि चीनका नेताहरुलाई समेत टाउको दुखाई भएको छ। बेइजिङका नेताहरुले हङकङमा विकसित पछिल्लो घटनाक्रम विखण्डनवादीको खतरनाक खेल भएको र त्यसलाई विदेशी शक्तिले सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन्।

प्रस्तावित सुपुर्दगी विधेयकमा मूख्यभूमि चीनबाट अपराधिक कार्यमा संलग्न ताइवान र मकाउका संदिग्धलाई  सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयबमोजिम सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको थियो।

ताइवानमा बिदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर नयाँ विधेयक अघि सारिएको थियो।

प्रमुख कार्यकारी क्यारी लामसहित हङकङका अधिकारीहरुले सहरलाई अपराधीबाट बचाउन त्यस्तो कानुन आवश्यक रहेको बताउँदै विधेयक ल्याउन लागेका थिए। तर कैयौं आलोचकले भने चीनको राजनीतिक विपक्षीलाई लक्षित गर्न यो विधेयक प्रयोग हुन सक्नेतर्फ पनि शंका व्यक्त गरेका थिए।

औपचारिक रूपमै विवादित विधेयक फिर्ता लिने निर्णय गरे पनि यसले आक्रोशित प्रदर्शनकारीका पाँचमध्ये एउटा मात्रै मागको सम्बोधन भएको भन्दै लोकतन्त्र पक्षधर प्रदर्शनकारीले आफ्ना पाँचवटै माग पूरा हुनुपर्ने भन्दै प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।

चौतर्फी विवादको घेरामा रहेकी प्रमुख कार्यकारी लामले भने प्रदर्शनकारीले राखेका अन्य माग पूरा गर्नु आफ्ना अधिकारभन्दा बाहिरको विषय भएको जिकिर गर्दै आएकी छन्।

पछिल्ला केही दिनदेखि हङकङ प्रदर्शन विशेषतः विश्वविद्यालयमा केन्द्रित हुन पुगेको छ। आइतबार पनि पोलिटेक्निक विश्वविद्यालयमा प्रदर्शनकारीले अराजक गतिविधि सुरु गरेपछि दंगा प्रहरीले उनीहरुमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। प्रदर्शनकारीले भने सुरक्षाकर्मीलाई लक्षित गर्दै इँटा र पेट्रोल बमसमेत प्रहार गरेको जनाइएको छ।

प्रकाशित: २ मंसिर २०७६ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App