१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
मुख्य समाचार

सुदूरपश्चिमको पहाडमा दुई अर्बको नोक्सानी

डडेल्धुरा- 'खेतमा लगाएको गहुँ खेत मै सुक्यो। सात महिनासम्म एक दिन पानी परेन। खेतबारीमा लगाएको सबै बाली सुकेर कामै नलाग्ने भए। अब कसरी बाँच्ने?,' बेलापुरका कृषक राजेन्द्र साउँद जिल्ला कृषि विकास कार्यालयमा आइतबार यस्तै गुनासो पोख्दै थिए। कार्यालयमा यस्तै गुनासो गर्ने कृषकको दिनहुँ भिड लाग्छ। 'सान्त्वना दिनुबाहेक केही छैन,' जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका प्रमुख दिनेश सापकोटाले भने, 'यस वर्ष खडेरीबाट ठूलो नोक्सान भएको छ।'सुदूरपश्चिममा १० वर्षयताकै ठूलो खडेरी परेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। पहाडी जिल्लामा सबै जिल्लाको तथ्यांक हेर्दा यहाँ ५४ प्रतिशतसम्म बालीमा नोक्सान भएको छ। पहाडी जिल्लाका दुई सय २३ गाविस र नगरपालिका पूर्ण रुपमा प्रभावित भएको निर्देशनालयका सूचना अधिकृत टेकबहादुर बिष्टले बताए।

सुदूरपश्चिमका केही पहाडी तथा हिमाली जिल्लामा हरेक वर्ष खाद्य संकट हुने गर्छ। तर यसपटक भने हिउँदे बाली उत्पादनमा आएको ह्रासले संकट अझ गहिरो बनाएको छ। खाद्यान्नमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक अरु कुनै पनि जिल्ला आत्मनिर्भर छैनन्।

'दुई अर्ब बराबरको क्षति भएको छ,' उनले भने, 'प्रतिकृषक वार्षिक आवश्यक पर्ने एक सय ९१ केजी गहुँ पनि उत्पादन हुनेवाला छैन।' डडेल्धुरामा ३५, अछाममा ४०, डोटीमा ३६, बझाङमा २४, बाजुरामा ४०, दार्चुलाा ४५ र बैतडीमा ५७ प्रतिशत बालीनालीमा नोक्सानी पुगेको छ। लामो खडेरीले सुदूरपश्चिमका पहाडी जिल्लामा चरम खाद्य संटक निम्त्याएको कृषि निर्देशनालय दिपायलले जनाएको छ।

'यो वर्ष सुदूरपश्चिममा चरम खाद्य संकट हुन्छ,' कृषि निर्देशनालय सूचना अधिकृत विष्टले भने, 'कृषकले चर्को मूल्य तिरेर खाद्यान्न किन्नुपर्ने हुन्छ।' भएको खेतीपानी सबै खडेरी नास गरिदियो। यस वर्षको खडेरीले सुदूरपश्चिमको पहाडी जिल्लामा करिब दुई अर्ब बराबरको बालीनाली नोक्सान भएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाका लागि आवश्यक पर्ने पाँच लाख ६८ हजार पाँच सय ८५ मेटि्रक टन खाद्यान्नमध्ये अहिले आधामात्रै उत्पादन भएको छ। यो क्षेत्रभर ५० लाख ७४ हजार क्षेत्रफल प्रभावित भएको जनाइएको छ। एक लाख ३० हजार दुई सय तीन घरधुरी पूर्ण रुपमा खडेरीबाट प्रभावित भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ।

'खडेरीले गर्दा २० रोपनी जमिनमा लगाएको गहुँ बालीमा एक केजी पनि फलेन,' बैतडी गिरेगडाका कृषक वीरबहादुर धामीले भने, 'परिवार कसरी पाल्ने हो भन्ने चिन्ताले पिरोल्न थालिसक्यो।' बढी प्रभावित जिल्लालाई खाद्य संकटग्रस्त जिल्ला घोषणा गर्नुपर्ने नेकपा एमाले डडेल्धुरामा सचिव धनबहादुर साउँदले बताए। 'सरकारले कृषकलाई तत्कालै राहतको व्यवस्था गर्न खाद्य संकटग्रस्त क्षेत्र घोषणा गर्नैपर्छ,' उनले भने।

यस क्षेत्रका किसानले समयमा पानी नपर्दा बर्खेबालीमा समेत क्षति बेहोरेका थिए। लामो खडेरीले बझाङ, बाजुरा, दार्चुला, अछाम र बैतडीमा न्यूनतम २४ देखि अधिकतम ५४ प्रतिशतले हिउँदे बालीमा ह्रास आएको सूचना अधिकृत बिष्ट बताउँछन्।

अकासे पानीकै भरमा खेतीपाती गर्नुपर्ने र लामो खडेरीले खोलानालामा भएको पानी सुक्दा उत्पादन घटेको किसान बताउँछन्। कैलाली र कञ्चनपुरको खाद्यान्न भारततिर निर्यात हुँदा पनि यो समस्या बढेको कृषकहरुको भनाइ छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुर अन्न भण्डारको रुपमा परिचित छन्।

'सयौं परिवारलाई एक महिना खान पनि गहुँ उत्पादन भएको छैन,' बैतडी खोड्पेका मोहन ऐरले भने, 'कालापहाड जानुपर्ने बाध्यता आइलाग्यो।' सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रका नागरिक दोहोरो मारमा पर्ने भएका छन्। आफ्नो उत्पादन ह्रास भएर त्यसै पनि थोरै समयका लागि खाद्यान्न पुग्ने अवस्थामा बजारबाट खाद्यान्न किर्नुपर्दा महँगो पर्ने प्रायः निश्चित छ।

'अहिले राहतको कुनै कार्यक्रम छैन,' जिल्ला कृषि कार्यालयका प्रमुख दिनेश सापकोटाले भने, 'मन्त्रालय र विभागबाट केही आएमा दिन सकिने छ।' अहिलेसम्म सुदूरपश्चिममा खडेरीबाट भएको क्षतिको राहत दिन सरकारी तबरबाट कुनै कार्यक्रमको तयारी हुन नसकेको छैन।

सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रमा जमिन बाँझो छाड्ने क्रम बढिरहेको कृषि निर्देशनालयले जनाएको छ। विस्तारै बसाइँसराइ गरेर तराई झर्ने क्रम बढ्दो छ। लामो खडेरीले सुदूरपश्चिममा देखिएको सम्भाव्य खाद्य संटकले भोकमरी हुन सक्ने निर्देशनालयले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७३ २२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App