२३ वैशाख २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

उद्याेग विभागले अनलाइन सेवा दिने वेवसाइट जुनभित्र सञ्चालन गर्ने

काठमाडौं– उद्योग विभागले लगानी, कम्पनी दर्ता तथा भिसाका लागि आवेदन दिन सकिने सुविधासहितको नयाँ अनलाइन सेवा आउँदो जुनभित्र सञ्चालनमा ल्याउने भएको छ।

web_copy.jpg

 

उक्त अनलाइनमार्फत नेपालको उद्योग व्यवसाय क्षेत्रबारे सम्पूर्ण जानकारी एकीकृत रुपमा पाउन सकिने पनि विभागले जनाएको छ।

उक्त नयाँ अनलाइनमार्फत विदेशी लगानीकर्ताले आफ्नै देशमा बसेर नेपालमा प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) नेपाल ल्याउन अनलाइन आवेदन भर्न सक्नेछन् । त्यस्तै, स्वेदशी तथा विदेशीले कम्पनी खोल्न कम्पनी रजिष्ट्ररको आवेदन भर्न सक्ने र नेपाल प्रवेशाज्ञा(भिसा) भिसाका लागि समेत अनलाइन आवेदन भर्न सक्नेछन्।

यस अनलाइनले नेपालमा एफडिआईको प्रवाह बढाउने, उद्योगधन्दामा नयाँ लगानी ल्याउन र उद्योग स्थापना गरी औद्योगिक विकासमा सघाउने विश्वास विभागको छ। विभाग सञ्चालनमा ल्याउन लागेको अनलाइनको बुधबार उद्योग मन्त्री सोमप्रसाद पाण्डेले औपचारिक उद्घाटन गरेका छन्। विभागले प्रयोगमा ल्याउन लागेको सफ्टवेयरको परीक्षण पनि गरिएको छ। उक्त अनलाइनमा अझ धेरै सामग्रीहरु समावेश गरी आउँदो जुनसम्ममा पूर्ण रुपमा सञ्चालनमा ल्याउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए।

विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम(आइएफसी)को प्राविधिक सहयोगमा विभागले उक्त वेवसाइटको सफ्टवेयर निर्माण गरेको हो। अनलाइनको हार्डवेयरका लागि भने मन्त्रालयले ५० लाख रुपैयाँ खर्चिएको उनले जानकारी दिए। उक्त वेवसाइटले अनलाइनमार्फत नेपालमा कम्पनी दर्ता, लगानी, प्रवेशाज्ञा प्राप्तीलगायत कार्यमा सहयोग गर्ने भएकोले नेपालको औद्यागिक विकासमा सहयोग गर्ने विभागको अपेक्षा छ।

प्रकाशित: २२ वैशाख २०७३ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App